नारायण रायमाझीः मौलिक लोकभाका र भावुकताको दोभान

नारायण रायमाझीः मौलिक लोकभाका र भावुकताको दोभान

यमबहादुर दुरा  |  लोकरञ्जन  |  असार १३, २०७६

पाल्पाको विकट गाउँ । मगर समुदायको बाहुल्य भएको बस्ती । चाडपर्वमा रातभरि रामरसी चल्थ्यो । गाउँमा मादल घन्कन्थ्यो । गाउँमा गुञ्जिएको लोकभाकाले मन लोभ्याउँथ्यो । गीतमा चुम्बकीय आकर्षण हुन्थ्यो ।

त्यहाँको बृहत् साङ्गीतिक माहोलले कसैको जीवनमा कमलकोटीको भूमिका खेल्यो । उनी पत्तै नपाई साङ्गीत अनुरागी बने । जान्नेबुझने हुन थालेदेखि नै उनको मनमस्तिष्कमा लोकसङ्गीतको झङ्कारले राज गर्न थाल्यो ।

यसरी नै साङ्गीतिक परागसेचन भयो, नेपाली लोकगीतको धरोहर नारायण रायमाझीको दिल–दिमागमा । रायमाझीको सङ्गीतकर्मले नेपालका मौलिक लोकभाकाहरूले लोकजीवनको फराकिलो घेरासम्म विस्तारित हुने मौका पाएको छ । उनले जनमनमा न्यानो ठाउँ पाएका छन् ।

मगर बस्तीको सङ्गीतमय परिवेश । घरमा आमाको मनमुग्घकारी स्वर । रेडियो घन्कने कतिपय मौलिक लोकभाकाहरू । यी सबै योगदानकारी तत्वको गठजोडबाट उनीभित्र साङ्गीतिक भोग जाग्दै गयो । लोकगीतप्रतिको रुचि ज्यामितीय दरमा बढ्दै गयो । 

उनी सानैदेखि मौलिक बाजागाजाहरू बजाउन र सङ्ग्रह गर्नमा रुचि राख्थे । उनी हरप्रकारका बाजागाजामा ताल दिन पारङ्गत छन् । मौरी बाजा, मुर्चुङ्गा, मादललगायतका बाजा बजाउन उनको हात रोकिँदैन । सारङ्गीवादनमा उनको विशेष दख्खल छ । 

गन्धर्वइतर समाजमा जन्मेर पनि उनी कसरी सारङ्गीवादनमा पारङ्गत बने ? धेरैको मनमा यही प्रश्न उब्जन्छ । यसको पनि एउटा बेग्लै किस्सा छ । उनलाई सारङ्गी बिछट्टै मन पर्‍थ्यो । गाउँमा गन्धर्व दाजुभाइ आउँथे । उनी गाउँभरि गन्धर्व दाजुभाइको पछि पछि हिँड्ने, सारङ्गीको धुन सुन्न । 

यस्तैमा गाउँमा एकजना दाइले सारङ्गी बनाउनुभयो । त्यसमा उनको स्वामित्व कायम भयो । त्यसपछि बिनामेसो सारङ्गी बजाउन थाले । विद्यालय वा मेलपातमा छँदा उनलाई सारङ्गीकै झल्को आउँथ्यो । सारङ्गीवादनको लतले उनी ग्रस्त थिए । 

साङ्गीतिक करिअरमा अघि बढ्दा उनले जनजीवनमा उठेका भावनाका ज्वारभाटाहरू निरन्तर देखिरहे । लोकजीवनका असंख्य अनुभव र अनुभूतिहरू पत्रेचट्टानझै उनको चेतन मन र अवचेतन मनमा थुप्रिएका छन्, जुन कहिसक्नुको छैन ।

 

कतिबेला सारङ्गी बजाऊँ भन्ने उनलाई लाग्थ्यो । घरमा सारङ्गी भित्रिएपछि उनको दिनचर्या केटाकेटीले चराको गुण देखेजस्तै भयो । जतिबेला पनि सारङ्गी हेर्न र छुन चाहने । 

उनका लागि सारङ्गी बजाउन सिक्ने काम गुरुविनाको ज्ञान थियो । वर्षौंको एकल मिहेनतले उनी सारङ्गीमा पारङ्गत भए । ‘घन घोटी बन्चरो’ भने जस्तो । उनको सफलताको अरू केही नभएर प्रबल इच्छाशक्तिको करामत थियो ।  

गाउँघरको साङ्गीतिक वातावरणमा उनी विस्तारै भिज्दै गएका थिए । रेडियोमा नेपालमा पुगेर गीत गाउने उनको अर्को ठूलो सपना थियो । तर, यो सपना सजिलै पूरा हुने खालको थिएन । दुर्गम गाउँका एउटा ठिटोले चिन्नु न जान्नुसँग रेडियो नेपाल ताक्नु एउटा ठूलै दुस्साहस थियो ।

रेडियोमा बाजागाजासहित मान्छे कसरी अटे होलान् भन्ने सोचाइ राख्ने केटोले रेडियो स्टेसनमै पुगेर गीत गाउनु त्यो समयमा सामान्य कुरै थिएन । त्यहाँ गीत गाउन पाइन्छ वा पाइन्न भन्ने पनि उनलाई थाहा थिएन । 
थुप्रै प्रतिकूलता सहेर उनी पाल्पाको झडेवाबाट दश धामा गरेर राजधानी भित्रिए । अन्ततः रेडियो नेपालमा पुगेर गीत गाएरै छाडे । यहाँनेर, फेरि पनि उनको इच्छाशक्तिले नै काम गर्‍यो । उनले त्यहाँ गीतमात्र गाएनन्, कालान्तरमा त्यही जागिरे पनि भए । रेडियो नेपालमा सङ्गीत संयोजक भएर लगभग २० वर्ष कटाए । 

यतिञ्जेलसम्म उनी नेपाली लोकगीतको दुनियाँमा झलमल्ल उदाइसकेका थिए । उनको स्वरमा लयबद्ध गीत ‘रम्दी पुल तरने बित्तिकै...’, ‘सरर कोइलाखानीमा...’, ‘हासेर बोलिदिऊ माया...’ जस्ता दजनौं गीतहरू मौलिकता र भावुकताको कसीमा खरो उत्रिएका लोकभाकाहरू हुन् । 

उनको गीतमा उच्चस्तरको रैथानेपन छ । उनको लय र शब्दमा भान्साबाट नाकमा ठोक्किन आएको लेकाली रायोको सागको जस्तो रैथाने सुगन्ध भेटिन्छ । गीतमा भावना र भावुकताको भयानक गहिरो भुमरी छ ।

लोकगायक दीपक खड्काको दृष्टिमा नारायण रायमाझी गीतमा माधुर्य भर्न सक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभा हुन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’

गीतको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने नारायण रायमाझीले लगभग तीन सय गीत गाएका छन् । तुलनात्मक हिसाबले उनले थोरै गीत गाएका छन् । तर, उनले जति गीत गाएका छन्, अधिकांश मौलिक र भावुक प्रकृतिका छन् । उनले लडाइँका गीत गाएका गाएका छन् । 

उनले भोको–प्यासी जनसमुदायको गीत गाएका छन् । उनका गीतमा जनस्तरका नगारिकका पीर व्यथा भेटिन्छ, हैरानी र सास्तीका फेहरिस्त भेटिन्छन् । कुल्ली दरबान भएर जिन्दगी बिताउने धेरै नेपालीका गहिरो पीर व्यथा उनका गीतमा उनिएका छन् । 

साङ्गीतिक करिअरमा अघि बढ्दा उनले जनजीवनमा उठेका भावनाका ज्वारभाटाहरू निरन्तर देखिरहे । लोकजीवनका असंख्य अनुभव र अनुभूतिहरू पत्रेचट्टानझै उनको चेतन मन र अवचेतन मनमा थुप्रिएका छन्, जुन कहिसक्नुको छैन ।

उनको गीत सुनेर असंख्य स्रोता दर्शक द्रवीभूत हुन्छन् । उनले स्टेजमा चढेर गीत पीर–वेदनाको गीत गाउँदा हिक्का छोडेर अश्रुधारा बगाउने कति आमाहरूको आँखा ओबानो हुन मुस्किल पर्छ । उनका गीत सुन्दा भावुकतावश एकआपसमा अङ्गालो मारेर रुने आफन्तीहरूको कथा बताइनसक्नुको छ । उनको सङ्ग्रहमा यस्ता थुप्रै भिडियोहरू छन् । 

नारायाण रायमाझी रैथाने अनुभूतिका सङग्रह नै हुन् । उनीभित्र ग्रामीण अनुभूतिहरू खिलिएर बसेका छन् । मनमा अनुभूतिको थुप्रो छ भने घरमा ‘एन्टिक आइटम’ हरूको थुप्रो छ । ग्रामीण चेलीबेटीहरूले प्रेमपूर्वक समर्पण गरेका झोला, गलबन्दी, खुर्पेटो, टोपीजस्ता सम्झना कोसेली उनीकहाँ छन्, जसले विगतको राग अलापिरहेका छन् ।

दुनियाँको दृष्टिमा उनले गीतसङ्गीत र सांस्कृतिक गतिविधिमा लोभलाग्दो प्रगति गरिसकेका छन् । तर, उनी अफै‌ंलाई भने त्यस्तो लाग्दैन । उनलाई आपूmले केही गर्न नसकेको जस्तो लाग्छ । उनलाई लाग्छ, ‘मैले धेरै काम गर्न बाँकी नै छ ।’ 

उनको मनमा रहेको कार्यसूची धेरै लामो छ । आफूले गाएका चुनिन्दा लोकगीतको भिडियो बनाउनु छ । आफ्ना पुराना गीतलाई कम्तिमा पुनः स्वराङकन गर्नु छ । आफ्नै भिडियो प्रोफाइल बनाउनु छ । गाउँघरको मौलिक संस्कृतिलाई चलचित्रमा उतार्नु छ । 

उनका दिगागमा यस्ता धेरै रचनात्मक कार्यसूचीको खिचडी छड्किरहेका छन् । उनका धेरै कार्ययोजनाहरू पाइपलाइनमा छन् । तर, यी योजना चाहेजसरी अघि बढेका छैनन् । कतिपय त अलपत्रै छन् । निजी स्वार्थमा मात्र भुलेर उनी आफू असामाजिक बन्न चाँदैनन् । उनी घरपरिवार, साथीसंगी, सामाजिक संघसंस्थालाई पर्याप्त समय दिन्छन् । नतिजा उही हो, उनको योजना यता कतै बीचतिर अड्केका छन् ।

आफ्ना कार्ययोजनाहरूबारे कुरा गर्दागर्दै उनी सोचमग्न हुन पुग्छन् । अनि, गम खाँदै गहिरो विचार पोख्छन्, ‘अहिलेको जस्तो अनुभव र ३० वर्ष अघिको जस्तो जाँगर भएको भए धेरै काम गर्न सक्थेँ हुँला ।’

आधुनिकताको बाढीले मौलिक लोकभाकालाई कुनै अञ्जान ठाउँतिर हुत्याउँदै लगेको पृष्ठभूमिमा उनको प्रष्ट धारण छ, ‘स्रष्टाले माटोको सुवास आउने गीत समाजलाई दिनुपर्छ । यसबाट देशको संस्कृतिलाई पनि योगदान पुग्छ । यसले स्रष्टा आफैंलाई पनि बचाउँछ ।’ 

नारायण रायमाझीप्रति बहुसंख्यकको अपेक्षा छ, नेपालका श्रुतिमधुर र भावप्रधान लोकभाकाहरूको श्रीवृद्धिका लागि उनले स्नेही र प्रेरणादायी कदम दृढतापूर्वक चाल्नेछन् ।