त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरी बिच सहकार्य गर्ने सहमति

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरी बिच सहकार्य गर्ने सहमति

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १४, २०७६

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले विभिन्न प्रकारका अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई सहयोग  गर्ने  सहमती भएको छ ।

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच प्राज्ञिक एवं व्यावहारिक साझेदारी सम्भाव्यता सम्बन्धमा आज यहाँ आयोजित कार्यक्रममा विश्वविद्यालयले विविध अनुसन्धान र विषयवस्तुप्रतिको गहन अध्ययनका लागि सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थ खनियाले अपराध अनुसन्धानका साथ सुरक्षित समाज निर्माण गर्ने उद्देश्यअनुरुप नेपाल प्रहरीको अवधारणालाई आवश्यक समन्वय र सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताउनुभयो । खनियाले समाजलाई सुरक्षित पार्न सबैले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । तालीम, अध्ययन तथा अनुसन्धानबाट संयुक्तरुपमा समन्वय गर्दै अगाडि बढ्नुपर्ने डा. खनियाको भनाइ थियो ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित समाज निर्माणका लागि साझेदारी कार्यक्रमलाई अगाडि बढाइएकाे जानकारी दिनु भयाे ।  खनालले आगामी दिनमा विश्वविद्यालयसँग साझेदारी गरेर अगाडि बढ्ने बताउनुभयो ।

विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा नेपाल प्रहरीबाट विद्यार्थी समेतको सक्रियतामा सुरक्षा सम्बन्धी अभियान सञ्चालन गरी सुरक्षा सचेतना अभिवृद्धि गर्ने, स्थानीय प्रहरीबाट विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पससँग समन्वय तथा सुरक्षालगायत कार्य गर्न सकिने खनालकाे भनाइ थियो ।

नेपाल तथा दक्षिण एशियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. डिल्लीराम उप्रेती, शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीलगायतले अपराध नियन्त्रणका लागि सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभभएकाे थियाे ।