साझाले यात्रुलाई भाडा बुझाउनकाे लागि साझाले पाँच सय विद्युतीय कार्ड बेच्याे

साझाले  यात्रुलाई भाडा बुझाउनकाे लागि  साझाले पाँच सय विद्युतीय कार्ड बेच्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १४, २०७६

ललितपुर । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ ।

यात्रुलाई सुविधा पुर्‍याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्‍याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ । यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट कार्ड खरीद गर्न सक्छन् । नयाँ कार्ड खरीद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, '२०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ ।'कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ ।

यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताउनुभयो । नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पुर्‍याइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।'

 नेपालमा सार्वजनिक यातायातमा नयाँनयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको शेयर खरीद गरिरहेका छन् ।