‘नातिराजा मन्त्री भएस् ।’

कथा

‘नातिराजा मन्त्री  भएस् ।’

बम बानियाँ  |  साहित्य  |  असार १४, २०७६

उत्सव स्नातकोत्तर तहको ग्रामीण विकास (आर.डी.) विषयमा शोधपत्र तयार गर्न विषय रोज्दै थियो । ‘आत्मनिर्भर उँभोखोला’ शीर्षकमा उसको शोधकार्य पास भयो । नेपालको यो कथा अंग्रेजीमा रुपान्तरण गरेर संसारभरि पुर्‍याउने अध्ययनको लक्ष्य पनि थियो उसको । उत्सव यो विषय बोकेर आफुनै हजुबासँग केही कथाहरू सुन्न र खोज्न  गाउँ जाने भयो । ऊ वच्चा वेला हुँदा हजुरबाले सुनाएका राजनीतिक कथा, दन्य कथा, गाउँखाने कथा, अकबर र वीरबलका कयौं कथाहरू उसको मानसपटलमा तैरिरहेका थिए । राजनीतिक घटनाक्रम पनि उहाँलाई निकै राम्रो ज्ञान थियो । सात सालदेखि बैसठ्ठी सालसम्मको नेपालको राजनीतिक घटनाक्रम फरफर मुखाग्र सुनाउनु हुन्थ्यो । उत्सव त्यो बालकपनको कथाहरूलाई आज अध्ययनको विषय बनाएर हजुवासँग फेरि केही कथा सुन्न, अन्तरंग कुराकानी गर्न, अध्ययन गर्न सहरबाट करिब एक दशकपछि  घर जाँदैथियो । 

गाउँबाट काठमाडौं आउँदा जिल्लामा सडक पुगेको थिएन । ०६४ साल पुस २० गते मनाङ एयरको हेलिकप्टरबाट बा.१ख, १४२० नम्बरको मिनी ट्रक पहिलो पटक जिल्ला सदरमुकाम दिक्तेलमा खसालिएको थियो । यसरी पहिलो पटक ट्रक पुग्दा हेर्ने मान्छेहरू केटाकेटी बुढाबुढीको भिड लागेको थियो । कसैले पूजा गरेका थिए । कसैले परैबाट ढोगेका थिए । उत्सव त्यही वर्ष काठमाडौं छिरेको थियो । 

२०७४ सालमा कोटेश्वरमा खोटाङ यातायातको बसको टिकट काटेर दिक्तेल जाँदा ऊ सपना जस्तै भएथ्यो । समयले एउटा फड्को मारेको अनुभूति गर्दै सुरुभयाे उसको यात्रा । बनेपा, धुलिखेल, भकुन्डेबेँसी हुँदै नेपालथोकको चौकोट भोजनालयमा विहानको खाजा खान रोक्यो गाडी । सिन्धुलीको मुलकोट, खुर्काेट बिचमा पर्ने चिल्लो बाङ्गो तर हेर्नलाई रमित नै लाग्ने जापानले बनाइदिएको प्रयोगात्मक प्रकृतिको बाटोमा गाडी रोकेर सेल्फी खिच्नेको सौख देख्दा ऊ पनि सडक र सुनकोशीको दृश्य आउनेगरी सेल्फी खिचेथ्यो । मध्य पहाडी लोकमार्गको नामले यो सडकलाई चिनिन्छ ।  घुर्मीमा खाना खाइसकेपछि बसले सोलु ओखलढुङ्गा जाने सुनकोशी पुलबाट अगाडि बढ्यो । खोटाङ हुँदै भोजपुर संखुवासभा जोड्ने जयरामको पुललाई खोटाङको समृद्धिको ढोका पनि भनिन्थ्यो, त्यो तरेपछि त उसको आङ नै फुरुङ्ग भएथ्यो । सडक गाउँमै पुगेपछि मनमा विविध कल्पना, सपनाहरू, उन्दै तुन्दै गयो ऊ । जयरामबाट तिस किलोमिटर माथि त्रिधार्मिकस्थल हलेसीमा रोकियो बस र यात्रुहरू दर्शन गर्न गए । उत्सव भने केही बेर सोच्न थाल्यो । यो हलेसी कुनै दिन संसारकै उत्कृष्ट आर्थिक आम्दानीको श्रोत बन्न सक्छ । केवल हामीले यो क्षेत्र व्यवस्थापन र दीर्घकालीन योजना बनाउनुपर्छ । किरात, बौद्ध र हिन्दुको साझा थलोको रुपमा विकसित गरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले संसारमा विज्ञापन गर्न सके सयौंलाई रोजगार, आर्थिक समृद्धिको मेरुदण्ड नै हुनेमा दुईमत छैन ।

यतिकैमा गाडीको हर्न बज्यो । सबै यात्रुहरू आआफुनो सिटमा बसे । गाडी उकालो लाग्यो । मौरे नुनथलाबाट देखिने मनमोहक हिमशृङ्खलाका दृश्यले तानिरहेको थियो । ती हिमालका प्रत्येक चुचुराहरूमा उसले हजारौँ बेरोजगारी नेपाली युवाहरूको सपना टल्किरहेको देख्यो । मनाङ मुस्ताङ जाने आन्तरिक पर्यटकलाइ सहजै तान्न सकिने एउटा कल्पनामा डुब्यो ऊ । गाडी भने गुडि नै रहेको थियो । गाडीको चार पाङ्ग्रा भन्दा उसको दिमागका विचारहरू अगाडि दौडिरहेका थिए ।  अलि माथि हुर्लुङ एउटा व्यापारिक केन्द्र झै लाग्ने ठाउँमा यात्रु ओराल्न रोकियो बस । जालपा, ऐसेलुखर्क, खार्मी जाने यात्रुहरू यहीँ ओर्लिए । ऊ भने दिक्तेल हुँदै जानु थियो –उँभोखोला । उँभोखोला एउटा बिम्ब हो एउटा पहिचान हो । खोटाङ जिल्लाकै उत्तरी क्षेत्र अलि विकट तापखोला साम्पाङ दुमी राईहरूको बाहुल्यता भएको क्षेत्रलाई ऐतिहासिक नामले बोलाउँदा उँभोखोला भनिन्थ्यो । र दक्षिण क्षेत्र साप्सुखोला अर्थात् दिक्तेल दक्षिणको क्षेत्रहरू उँधोखोला भनेर चिनिन्थ्यो । प्रायः उँधोखोलेहरूले उँभोखोलेहरूलाई विविध कारणले हेप्ने गर्दथे । हेप्ने कारण सभ्यतासँग जोडेर भाषिक, सांस्कृतिक, भौगोलिक नै हुन्थ्यो । तर अहिले यो विषय पुरानो हुँदै गएको छ ।  

पहिला हामी नुन बोक्न जान्थ्यौँ । जानुभन्दा एक महिना अगावै सल्लाह हुन्थ्यो धरान जाने । ढाकर, टेकुवा, खकन, डोरी तयारी गरिन्थ्यो । खाने कुरामा सामल, सातु भाँडाकुँडा, ओड्ने ओछ्याउने । घरबाट हिँडेको नौ दिन या दस दिनमा टुपलुक्कै घरै आइपुगिन्थ्यो । चतराको भिर ज्यादै खतरा थियो । ‘धरान चतरा बाटो खतरा’ भन्ने गीत पनि थियो ।

उत्सव सोच्दा सोच्दै बस दिक्तेल रत्नपार्क आइपुगेछ । गाडी रोकियो । सबै यात्रुहरू फेरि आआफ्नो गाउँजाने गाडी खोज्न थाले । उत्सवले सोचेको थियो अब चाहिँ घरसम्म हिँडेर जानुपर्छ तर समय उसले सोचेभन्दा अगाडि थियो । उँभोखोला पाथेका, फेदी जाने बसको टिकट काउन्टर देखियो । जिप लाग्ने रहेछ । टिकट काट्टै ऊ काउन्टर अगाडि उभिएर हाटडाँडातिर हेर्दै सोच्न थाल्यो ।

उसले स्कुल पढ्दा स्कुल फि तिर्न  भाले बेच्न आएको दिक्तेल बजार देख्यो । गाउँबाट भाले लिएर बेच्न ल्यायो, बजारका होटेलेहरूले निचोरेर, भालेको टाउने निमोठेर, मोलमोलाइ गर्थे । उनीहरूकै भाउमा आफूले सोचेभन्दा धेरै कममा अन्ततः भाले घर फर्काएर ल्याउनु भन्दा बेचेर आउनुपथ्र्यौ । अनि भाले बेचेर आएको पैसाले लयालु होटेलका सेलरोटी खाजा खानुको मज्जै बेग्लै । अनि उमेरको रहर पनि विछट्टकै हुने  वजिमय फोटो स्टुडियो गएर फोटो खिच्ने औधी रहर लाग्ने । कुनताको सस्तोमा बेचेको भाले खाजा र फोटो खिचेपछि त घरमा के भन्ने के भन्ने समेत हुन्थ्यो । उत्सवको जिपले पनि हर्न बजायो र लाग्यो उँभोखोला । 

जब आफ्नो घरको बाटो जिप चढेर लाग्यो उसले सोच्यो, ऊ उँभोखोला होइन युके अर्थात् बेलायततिर जादैछ । त्यो जिपका सबैजसो यात्रीहरूले उत्सवलाई चिनेर सोधखोज गर्न थाले । कति पढिस् काइला, के गर्छस् त्यो खाल्डोमा ? कहिले जाने ? किन गाउँलाई माया मारेको ? तिमीहरू जस्ता युवाले गाउँ छोडेपछि गाउँमा खै के हुन्छ र ? 

प्रश्नै प्रश्नले ऊ केहीबेर अवाक भयो र पालैपालो सबै उत्तर दिदै गयो । उसले भन्यो:  म उच्च शिक्षाको लागि गाउँ छोडेको हो, अब युवाहरू गाउँमै फर्किएर धेरै उद्यमशील, सामाजिक, सांस्कृतिक तथा सचेतनामूलक काम गरी समतामूलक समाजको निर्माण गर्नुछ । यो योजनासहित हामी केही युवाहरू गाउँ फर्किदैछौँ ।

उसका कुराले जिपका यात्रीहरू खुसी भए । लौ यो त ज्यादै खुसीको कुरा हो भन्दै थप जिज्ञासाहरू राख्न थाले । कुराकानी गर्दागर्दै बगरे भन्ज्याङ काटेर बानियाँ चौतारा पो आइपुगेछ । त्यहाँ आएपछि एकछिन जिप रोकियो । विहानको चिया नास्ता गरायो । केही गाउँलेहरू त्यहीँ ओर्लिए र भने: उत्सव नयाँ योजना बोकेर गाउँ आएछ अब भने हाम्रो गाउँमा थप नयाँ काम हुने भो । 

उत्सवले चौतारामा बसेर हरियो ढुङ्गे जंगल हेर्यो । गाउँपटि फर्केर अलि पर गोलडाँडाबाट प्राकृतिक मनोरम डाँडाहरू मेरुङ, लौरे मैयुम हेर्‍यो र तुलना गर्यो इलाम, दार्जिलिङ, सिक्कीमसँग । आँखै नझिम्की फेरि अलि तल तापखोला, भागुखोला हेर्‍यो । त्यहाँ माछा मारेको, पौडी खेलेको सम्झियो । अहिले त्यही भागुँखोलाबाट माइक्रो हाइड्रो निकालेको रहेछ ।

ग्रामीण विकासको स्नातकोत्तरको कोर्स र अहिले ऊ जन्मेकोे ठाउँको सबै साधनश्रोत तुलना गरेर हेर्दा त्यो मेरुङ, लौरे डाँडैभरि पैसा उडिरहेको देख्यो । तापखोलाभरि पैसा बगिरहेको देख्यो । पहिला केटाकेटीमा गोठाला गर्ने जंगलभरि अल्लो, सिस्नु च्याउ ।  सोत्तर काट्ने पाखाभरि चिराइतो, सतुवा, पाखनवेद लगायत जडीबुटीहरू । खोल्साभरि अलैंची र अम्लिसो । घर नपुग्दै थेसिसका थुप्रै प्रश्नहरू उब्जिएका थिए । 

उत्सव घर पुग्यो । आमाले अँंगालो हालेर हर्षका आँसु थाम्नै सक्नुभएन । आमा खुसी हुनुभो एउटा इतिहास आए झैँ, एउटा उज्ज्यालो घाम आए झैँ, कुनै युद्धमा बेपत्ता पारिएको सन्तान एक्कासि आए झैँ । बुबा भने यो दृश्य हेरिरहनुभयो अवाक बनेर तर दस वर्ष लामो कथा बुबाको एकै दृश्यले बोलिरहेको प्रतीत हुन्थ्यो ।  उत्सव माओवादी जनयुद्धमा कक्षा नौ मा पढ्दा पढ्दै कक्षाबाटै हिँडेको थियो । सरकार र माओवादीबिच युद्धविराम भएपछि उत्सव अयोग्य लडाकुमा दरियो  । त्यसपछि  थप योग्यता हासिल गर्न काठमाडौं हाकिएको थियो । यस बिचमा उसकी साथी मीरा राईले अयोग्य भन्नेहरूलाई गतिलो जबाफ दिँदै विश्व धाविकामा कृतिमान् कायम गरिन् । त्यसले उत्सवको उत्साहलाई बढायो । उसले आफ्नो अध्ययनलाई अगाडि बढायो । 

उत्सवले हजुबा, हजुरमालाई एकैचोटि ढोगा भेट गर्‍यो । हजुरबाले भन्नुभो ‘अब योग्य भइस नाति ?’ हजुरआमाले भन्नुभो ‘मेरो नाति राजामन्त्री  भएस् ।’ ऊ मुसुक्क हाँस्दै झोला पिँढीमा राखेर आराम गर्न खाटमा बस्यो । उसले मनमनै सोच्यो, हजुरआमालाई थाहा नै रहेछ, हामीले एकदशक अगाडि नै फालिसकेको । उहाँ पहिलेदेखि अहिलेसम्मै आशीर्वाद दिँदा राजामन्त्री भएस नै भन्नुहुन्छ । 

उत्सवले बितेका दिन सम्झ्यो, हजुरआमाले घरबाट बाहिर जाने भनेपछि  खुसुक्क कसैले थाहा नपाइ थैलीबाट झिकेर गोलो बिसको नोट दिनुहुन्थ्यो । अनि भन्नु हुन्थो ‘नाति, पछि जागिरे भएपछि चोलो ल्याइदिनु है मलाई ।’ 

पारिवारिक रमाइलो भेटघाटपछि उत्सव आराम गर्न गयो । 

भोलि पल्ट विहानै नातिबाजेको विषय सुरु भयो । हजुरबुबा उमेरले जति नै बुढो भए पनि विचारले ज्यादै नयाँ हुनुहुन्थ्यो । उत्सवले कुरा राख्नै नपाई बाले सोध्नु भो ‘लौ भन सहरमा के के गरिस्, अहिलेसम्म ?’

उत्सबले धेरै कथा हजुरबाबाट लिनु थियो र उसले आफ्नो कुरा भन्न सुरु गर्‍यो,  ‘बा म भूमिगत जीवनपछि आफ्नो अध्ययनको लागि कक्षा दसबाट सुरु गरेँ । मेरो उमेर अलि गैसकेको हँुदा गाउँमा केही अफ्टेरो लागेर सहरमा पढेँ । त्यहाँ त्यो सहरमा मान्छेले मान्छेलाई जोत्दा रहेछन् । म पनि जोतिएँ । मैले किताब मात्रै पढिनँ । मैले अभाव पढेँ । आन्दोलन धेरै पढेँ । महंगी पढेँ । एक छाक खाएर कहिलेकाहीँ दुईरात पढेँ । घरबेटी र कोठावालका कथा पढेँ । सहरमा घरहरू बाक्ला हुँदारहेछन तर मानिसका मन साह्रै पातला के हजुरबा । तर हाम्रो गाउँमा पाताला घर बाक्ला मन है । अनि अहिले आएका सामाजिक सञ्जाल निकै राम्रो पढेँ । म हजुरबुबको पनि एउटा फेसबुक खोलिदिन्छु है ! अहिले भने हजुरको पुरानो कथा सुन्नु छ मलाई । ’

हजुरबा नातिको कथा सुनेपछि केही अवाक हुनुभो र एउटा कथा सुनाउन सुरु गर्नु भोः 

अहिले बाटो आयो । घरघरमा नुन छ, तेल छ । चामल छ । ड्यु छ । चाउचाउ छ । पहिला हामी नुन बोक्न जान्थ्यौँ । जानुभन्दा एक महिना अगावै सल्लाह हुन्थ्यो धरान जाने । ढाकर, टेकुवा, खकन, डोरी तयारी गरिन्थ्यो । खाने कुरामा सामल, सातु भाँडाकुँडा, ओड्ने ओछ्याउने । घरबाट हिँडेको नौ दिन या दस दिनमा टुपलुक्कै घरै आइपुगिन्थ्यो । चतराको भिर ज्यादै खतरा थियो ।  ‘धरान चतरा बाटो खतरा’ भन्ने गीत पनि थियो । जाँदाखेरी आउँदा खाना र बासवस्ने ठाउँमा केही संकेत लेखेर सामल खाजाका पोका राखिन्थ्यो । सबैलाई आआफना पोका झुन्ड्याएका हुन्थ्ये । कसैले कसैका पोका छुदैनथे । फर्केर आउँदा आफनो पोका खोल्दै खाना पकाएर खाइन्थ्यो । पसरीले नुनका भारी हालिन्थ्यो । दस पाथी नुन बोकेको ज्यान त यही हो । अहिले ती समयका कुरा कथा जस्तै लाग्छ । 

उत्सव एकोहोरो सुनिरह्यो र एउटा प्रश्न सोध्यो, ‘अनि अहिलेको कथा भन्नु न के छ गाउँको अवस्था ?’ हजुरबा भन्न थाल्नुभयो ः

गाउँमा तिमीहरू जस्ता युवा छैनन् । सबै विदेश छन् । बुहारीहरू छैनन् सबै बच्चा पढाउन सहर बजारतिरै छन् । हाम्रो मकैको थाङ्ग्रो छैन । खेतबारी बाँझै छन् । खेती गर्ने मान्छे छैनन् । सडक आयो । विदेशको पैसाले उतैबाट आको चामल किन्यो खायो छ । टयाक्टरले सामान लिएर आउँछ अनि यताबाट लाने केही हुँदैन गीत बजाउँदै रित्तै फर्किन्छ । देशमा परिवर्तन आयो भन्छन् । म सातसालदेखि अहिले सम्मको साक्षी छु । आन्दोलनका शिकार जनता बन्छन् नेता माथि पुगेपछि देश बनाउनै भुल्छन् । सुन्छु उतै शहरतिरै आफ्नै घर पो बनाउछन् रे । यो देशमा थुप्रै प्रधानमन्त्रि देखेँ तर देश प्रधानमन्त्रि भएन । एक पटक देश प्रधानमन्त्रि भएको हेर्ने निकै रहर छ । यो आफुनै गाउँ सम्पन्न,सुखी भएको हेर्ने रहर छ । खराब देशको प्रधानमन्त्रि भन्दा असल सम्पन्न देशको नागरिक हुन पाए हुन्थ्यो जस्तो लाग्छ । ठुला मान्छे धेरै भए तर असल धेरै कम छन् । बोल्ने धेरै छन् काम गर्ने धेरै कम । अर्को कुरा बाच्ने रहर कति हुदो रहेछ कति । छोराछोरी नातीनातिना छेउमै बसिदिए अझै थप बाचिन्छ जस्तो लाग्छ तर कोहि नजिकमा नहुदा जीवनदेखि बाँच्न देखि दिक्दार लाग्दोरहेछ ...।

हजुबाको कहानी थपिदै थियो वीचैमा रोकेर उत्सवले हल्का आखा मिच्दै भन्यो

‘अब के गर्न सकिन्छ त हजुरबा ?’  हजुरबाले उत्साहित हुँदै भन्नुभो '  

‘गरे धेरै सकिन्छ । नगरे केही सकिँदैन । तिमीहरू जस्ता युवाहरू योजनासहित यही गाउँमा बस्नुपर्छ । काम गर्नुपर्छ । सबै सुविधा आयो । अब छोरानातिहरू मात्रै आउन बाँकी छ ।’

हजुरबाको कुरा सुनेपछि उत्सवले कसम खायो र भन्यो, ‘हजुबुवा म एउटा मेरो थेसिस बुझाउँछु र योजनासहित म र साथीहरू आउनेछौँ । म यो देशको सपना जस्तै हजुरको सपना पुरा गर्नेछु । हामी बानाउने छौँ,। आत्मनिर्भर उँभोखोला ।’ 

नातिको कुरा सुनेर हजुरबाको मुहार उज्यालो भयो । उनको आँखाबाट तप्प तप्प हर्षका आँसु चुहे । त्यो देखेर उत्सवका आँखा पनि नरसाइरहन सकेनन् । रुमालले आँसु पुछ्दै उसले पारि  लौरे डाँडाको शिरतिर हेर्‍याे । लौरेका शिरमा घाम टुप्लुक्क निस्क्यो ।