काम छउन्जेलको भाँडो

कथा

काम छउन्जेलको भाँडो

सीताराम नेपाल  |  साहित्य  |  असार १४, २०७६

‘वान्स्मोर !वान्समोर !!’ 

यो सुनेर सत्यजीत प्रफुल्ल मुद्रामा मख्ख परेको छ । उसको अनुहारमा लालीगुराँस फुलेको देखियो भने उसले आफ्नो सफलताको शिखर चुमेको सम्झेछ भनेर बुझ्नु पर्दछ । होइन भने हर्बखत पीडाको भारीले थिचिएको रुन्चे अनुहारमा भेटिन्छ उसलाई । काल पर्खेर बस्नु मात्र जिन्दगी लिएर बाँचेको कलाकार सत्यजीतको सफलता चुलिएर सगरमाथा छुन खोजेको थियो, एकपटक ।
‘वान्स्मोर ! वान्स्मोर !!’

तालीको गडगडाहटकासाथ सबै दर्शकहरू बसेको ठाउँबाट जुरुक्क उठेर एकै स्वरमा कराए । केहीवेर कराइरहे । ऊ यति धेरै प्रशंशा आएको हुनाले मन्चमा मूर्तिवत उभिइरह्यो ।

‘वाह ऽ सत्यजी कमाल गर्नु भयो ।’

वरिष्ट तथा पुराना कलाकार कल्पतरूले प्रमुख अतिथिको आसनबाट उठेर मन्चमा गइ अङ्कमाल गर्‍यो । दर्शकदीर्घा पुन तालीमा चुर्लुम्म डुब्यो । 

‘उदितनारायण झालाई माथ गर्ने क्या गला छ, तपाईँको ! इश्वरले तपाईँलाई मात्र यस्तो वेग्लै गलाको बरदान दिएर अरूलाई अन्याय गरे ।......’ अर्को विशेष अतिथि कमल खरेलले आफ्नो आसनबाट उठेर सम्मान गर्दै प्रशंशाको दोसल्ला ओडायोे । 

कलाकारको विगत कसैले कोटयाउने साहस गरेन । यो कस्तो हो ? कहाँको हो ? के गथ्र्यो यसले । यस्तो महत्वपूर्ण विषयमा कसैले वास्ता गरेको देखिएन । लगाम कसेको घोडा जस्तो एकोहोरो अघि मात्र हेरेर प्रशंसा गरेर कहि हुन्छ ? कुन खानदानको हो ? कस्को छोरा हो ? आदि कुराको ख्यालै नराखी वतासे र फुटपाथेहरूलाई त्यस्तो गरिमामय कार्यक्रममा भित्रायाउने मात्र गरिएन, प्रशंसाको गलैचा ओछयाउने काम समेत गरियो ।

‘यस्ता प्रतिभाशाली कलाकार अरू धेरै भए देखुन् गायन क्षेत्रले देश र जनताको सेबामा उत्कृष्ठता हासिल गरी रहन्थ्यो । क्या लय छ तपाईँको, गज्जबको छन्द, अलग बान्की, नयाँ ताल, खुलेको गला, तपाइँको आवाजमा जादु छाएको छ ।’ अर्को अतिथि कृष्णानन्दले पनि मुक्तकण्ठले प्रशंशा गर्‍यो ।

‘तपाईँको उत्कृष्ट प्रस्तुतिलाई नमस्कार गर्दछु ।..... नारायणगोपालको जस्तो गीतको भावमा चुर्लुम्म डुब्न सक्ने तपाईँको उत्कृष्ट खुबी छ । वाह वाह वाह ! किप इट अप !’ चौथो तथा अन्तिम अतिथि कुसुमकलाले पनि उठेर प्रशंशकको संख्या बढायो ।

प्रत्येक अतिथिको टिप्पणीमा सिङ्गै दर्शकदीर्घा तालीले स्वागत गर्दथ्यो । कलाकार सत्यजीत भने प्रशंशा सुनिरहेको थिएन, त्यसवेला । ऊ विगतमा आफूले खाएको हण्डर, ठक्कर र दुःखका अनेक सृङ्खला सम्झिरहेको थियो । उसका अस्रुपूर्ण आँखाले बिगतका ती दयनीय दिनहरू देखिरहेका थिए ।

‘मलाई सडक छापे, खाते, कुजात, बाबु–आमाको ठेगान नभा’को बतासे के के हो के के तथानाम उपहार दिने यही समाज हो । सुन्नसमेत नसकिने आमाचकारी गाली पनि यही हेपाहा मान्छेहरूले गरेकै हुन् ।

‘यस्ता वेवारिसे, घर न थरको व्यक्ति सडक गायक नभए अरू को हुन्छन् त !’ ‘यसरी हेपिने गरिन्थ्यो मलाई ।’

जहाँ प्रशंशक हुन्छन् त्यहाँ आरिसले जल्ने पनि हुन्छन् । भूत र वर्तमानमा मात्र होइन, भविष्यमा पनि यस्तो भइरहन्छ । यो सर्वव्यापी प्राकृतिक सिद्धान्त हो । सत्यजीतको सवालमा पनि त्यही भयो । पुरातनवादी एक जना प्रतिनिधिले कार्यक्रमको भोलिपल्ट एउटा दैनिक खबर पत्रिकामा यस्तो प्रतिक्रिया लेखेर छपाएछ – ‘भीड अन्धो हुन्छ । विवेक हुँदैन भीडसँग । हिजो साँझ सम्पन्न एक साँङ्गीतिक कार्यक्रममा पनि यही सत्य पुनर्पुष्टि भयो ।’ उसको पूरा लेख यस्तो थियो ।

‘मान्छेको विगत हेर्नुपर्छ, सुजबुझ भएकाले । तर यहाँ यो कलाकारको विगत कसैले कोटयाउने साहस गरेन । यो कस्तो हो ? कहाँको हो ? के गथ्र्यो यसले । यस्तो महत्वपूर्ण विषयमा कसैले वास्ता गरेको देखिएन । लगाम कसेको घोडा जस्तो एकोहोरो अघि मात्र हेरेर प्रशंसा गरेर कहि हुन्छ ? कुन खानदानको हो ? कस्को छोरा हो ? आदि कुराको ख्यालै नराखी वतासे र फुटपाथेहरूलाई त्यस्तो गरिमामय कार्यक्रममा भित्रायाउने मात्र गरिएन, प्रशंसाको गलैचा ओछयाउने काम समेत गरियो । यस्तै चाला हो भने साङ्गीतिक क्षेत्रको गरिमा, इज्जत माटोमा मिल्न जान्छ ।’ 

प्रतिस्पर्धा घनिभूतरूपमा अगाडि बढिरह्यो । सत्यजीत प्रतिस्पर्धामा खरो उत्रदै गयो । प्रतिस्पर्धा अन्तिमतिर पुग्न लाग्दा प्रथम्, द्वितीय, तृतीय स्थान पाउन तीब्र होड चल्यो । सबै प्रतिस्पर्धीहरू एक से एक प्रतिभावान देखिए ।
‘अब भयो सत्य । छोड्दे अब । पहिलो हुन पाउदैनस्, पाइहाले पनि तैँले थेग्न सक्दैनस् । थेगिस् भने नि सम्हाल्न सक्दैनस् । गला भएर मात्र पुग्दैन । अरू धेरै चीज चाहिन्छ । .....जे जति पाइस् त्यसैमा चित्त बुझा । मैले तेरै लागि भन्या हुँ । छोड्नुमा नै तेरो भलाई देखेँ मैले । छोड्दे ।’ आफ्नो कर्म दिने बाबु मनराजको कुरा सुनेर सत्यराज अक्क न बक्क भयो ।

सत्यजीतलाई फूटपाथबाट उठाएर त्यहाँ पुर्‍याउने उसको कर्मको बाबुले उसलाई अघि नबढ्न दिएको सल्लाह उसले मानेन ।

‘मलाई यति ठूलो सफलताको सिंढी चढाएको हजुरले नै हो । हजुरनै हो मेरो कर्मदाता, म त केबल अह्राएको गर्ने कामदार मात्र हुँ । तिरेर तिर्न नसकिने ऋणी हुँ म हजुरको । अरू जे भने नि जुनिभरि मान्छु तर मेरो यो अन्तिम प्रतिस्पर्धामा भाग लिने लालसा पूरा हुन दिनुस् हजुर । बिन्ती छ । प्लीज, कृपा गर्नुस् हजुर ।......सडकको बेकारी आवारालाई उठाएर यहाँसम्म ल्याइ पुर्‍याउनु भयो हजुरले । तर किन अघि नबढ् भन्नु हुन्छ ? किन ? के पर्‍यो त्यस्तो .....?’ फेरि पनि मनराजले अघि नबढ्न सल्लाह दियो । तर उसले मानेन । त्यसको भोलिपल्ट अर्थात प्रतिस्पर्धाको अघिल्लो दिन आयोजक संस्थाले सबै प्रतिस्पर्धी अभिभावक र संरक्षकलाई रात्री भोजको आयोजना गर्‍यो । सबै भोजमा सरिक भए । खुसी साटासाट भयो । भलाकुसारी चल्यो । बडो आत्मियपन र हार्दिकता देखाएर उसलाई जमिनबाट उठाएर यहाँसम्म उकाल्ने व्यक्ति नै उसको विरुध्द रचिएको षड्यन्त्रमा सामेल भयो । 

अन्तिम प्रतिस्पर्धामा सत्यजीतको प्रदर्शन प्रशंसनीय भएन । उसको गला खुलेन, कार्यक्रम हिजो–अस्तिको जस्तो जमेन । कला (हाउभाउ) पनि बेढङ्गको भयो । गीतको भावमा डुब्न नसकेको सबैलाई लाग्यो । वाह–वाही गर्ने हल चुपचाप बस्यो । अतिथिहरूले ऊ कडा प्रतिस्पर्धामा खरो उत्रन नसकेको प्रतिक्रिया दिए । कसैले ‘कसरी तिमीमा यतिधेरै उतारचढाब आयो’ भनेर आश्चर्य हुँदै सोधे । 

‘बिघ्नबाधा हटाइ धेरै मेहनत गर । आफ्नो कम्जोरी आफैँले पहिल्याउ ।’ उसको प्रशंसक अतिथिले नाक खुम्च्याएर सल्लाह दिए । 

‘यस्तै गरिस् भने तँ खेर गइस् केटा !’ दर्शकदीर्घाका प्रशंसकहरूले खिन्नता प्रकट गरे । 

आखिर त्यहाँ सबै पैसाको तुजुकमा बलेको आगो ताप्न गएका थिए । पौरखको मुक्तकण्ठले गुणगान गाउन पाए न मनोरन्जनका भोकालाई आनन्द आउने हो । गायनमा उत्कृष्ठता हासिल गर्न नसक्नेलाई कसले कठैबरा भनोस् ।

उसको सुकेको गला खुलेन । किन  एकाएक यसरी गला सुक्यो भनेर डाक्टर, ज्योतिष, वैद्य कसैले पनि बताउन सकेनन् । उपचारका लागि यताउति भौँतारिदा, भौँतारिदै उसले आर्जन गरेको पैसा स्वाहा भयो । हुँदा–हुँदा अब त उसलाई मानिसहरूले चिन्नसमेत छाडे । मज्जाले फक्रन नपाउदै एउटा गायकरूपी गुलाबको फूल वइलायो, वइलाइनै रहयो । 

कहीँ कतैबाट हारगुहार नलागेपछि अन्ततः सत्यजीत विक्षिप्त जस्तै भयो । 

त्यो दिनको प्रशंशामा वरिष्ट व्यक्तिको मुखारवृन्दबाट बर्सेको शब्दहरू, दर्शकदीर्घाबाट आएका वान्समोर, वान्समोरका गुन्जनहरू, तालीका गडगडाहट आवाजहरू चिरस्थायी भएर सत्यजीतको मस्तिष्कमा कुँदिएर रही रह्यो ।