बालश्रमिकः १३ लाई मुक्त गराउन  ५१ सदस्यीय समिति !

बालश्रमिकः  १३ लाई मुक्त गराउन  ५१ सदस्यीय समिति !

लोकसंवाद संवाददाता  |  समाज  |  असार १५, २०७६

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ लाई बालश्रममुक्त वडा बनाउनका लागि समिति गठन गरिएको छ ।

२०७६ भदौ २९ गते परेको राष्ट्रिय बाल दिवसका अवसरमा वडालाई बालश्रममुक्त वडा घोषणा गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा ५१ सदस्यीय मूल समिति गठन गरिएको हो ।

साथै १३ सदस्यीय कार्यदल तथा पाँच वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ । २०७६असार १४ तुलसीपुरमा सरोकारवालासँग अन्तक्र्रिया गरी समिति तथा उपसमिति गठन गरिएको हो ।

समितिमा पत्रकार महासङ्घ, यातायात, होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घ, बाल सञ्जाल, युवा सञ्जाल, अधिकारकर्मीलगायत रहेका छन् । आर्थिक तथा सचिवालय व्यवस्थापन, अनुगमन मूल्याङ्कन तथा प्रमाणीकरण, सूचना तथा सञ्चार, पुनःस्थापना तथा उद्धार र घोषणा गरी पाँच वटा उपसमिति गठन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नवजागरण महिला तथा बालसंरक्षण केन्द्र (न्यूसिपिसी)को आयोजनामा यसअघि वडाका सम्पूर्ण घरमा पुगेर स्थलगत अध्ययन गरिएको थियो ।

त्यसक्रममा वडामा १३ जना बालश्रमिक देखिएको भन्दै अब ती १३ जना बालश्रमिकलाई भदौ महीनाभित्रै विभिन्न समितिले उद्धार गर्नेसमेत वडाध्यक्ष नवराज लामिछानेले बताउनुभयो । जसमा घरेलुमा, होटल, निर्माण, यातायात, ग्यारेज गरी सात जना बालक र छ जना बालिकाले श्रम गरिरहेको अध्यक्ष लामिछानेले जानकारी दिएकाे समाचार राससमा रहेकाे छ ।