एकदिवसीय विश्वकप क्रिकेट : भारत बन्ला दोस्रो सेमिफाइनलिस्ट ?

एकदिवसीय विश्वकप क्रिकेट : भारत बन्ला दोस्रो सेमिफाइनलिस्ट ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १५, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज (आइनबार) भारतले इग्ल्याण्डको सामना गर्दैछ । यस्तोमा भारतलाई इग्ल्याण्डलाई हराएर दोस्रो सेमिफाइनलिस्ट बन्ने अवसर छ ।

भारतको ६ खेलबाट ११ अंक छ । आजको खेल जिते भारतको १३ अंक हुनेछ । र, सेमिफाइनल पुग्नेछ । तर, इग्ल्याण्डविरुद्धको खेल जित्न सहज भने छैन । किनकि इग्ल्याण्डसँग ब्याटिङ र बलिङबाट खेल जिताउने क्षमता भएका खेलाडी छन् । 

इग्ल्याण्डका जोय रुट चालू प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौंमा छन् । उनले ७ खेलबाट ४३२ रन बनाएका छन् । 

इग्ल्याण्डसँग थुप्रै आक्रामक ब्याट्सम्यान छन् । जोनी बेरस्ट्रो, बेन स्ट्रोक, कप्तान इयान मोर्गनलगायत इग्ल्याण्डका आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छन् । चालू प्रतियोगितामा मोर्गनले एकै पारीमा १७ छक्का प्रहार गरेका थिए । 

बलिङमा इग्ल्याण्डमा जोफ्रा आर्चर र मार्क उडले उत्कृष्ट प्रदर्शन गरेका छन् । आर्चर चालू प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो छन् भने उड पाँचौंमा । आर्चरले ७ खेलबाट १६ विकेट लिँदा उडले ६ खेलबाट १३ विकेट लिएका छन् । 

त्यति मात्र होइन, इग्ल्याण्डलाई घरेलु कन्डिसनको फाइदा पनि छ । 

तर, भारतले इग्ल्इाण्डलाई पराजित नै गर्न सक्दैन भन्ने पनि होइन । भारत चालू प्रतियोगिताको एक मात्र अपराजित टिम हो । यसको ब्याटिङ, बलिङ र फिल्डिङ सशक्त छ । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा सातौं स्थानमा छन् । यस्तै, कप्तान विराट कोहली नवौं स्थानमा छन् । शर्माले ५ खेलबाट २ शतक र १ अर्धशतकसहित ३३८ रन जोडेका छन् । कोहलीले ४ अर्धशतकसशित ३१६ रन बनाएका छन् । 

बलिङमा युजबेन्द्र चहल, जसप्रित बुमराह र मोहम्मद सामीले उत्कृष्ट प्रदर्शन गरेका छन् । चहल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा ११औं स्थानमा छन् । उनले ५ खेलबाट १० विकेट लिएका छन् । यस्तै, बुमराहले ९ विकेट लिएका छन् । 

भुवनेश्वर कुमारलाई चोट लागेपछि टिममा स्थान बनाएका मोहम्मद सामीले पछिल्ला २ खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ८ विकेट लिएका छन् । 

त्यसकारण यी दुई टिमबीच कसले खेल जित्छ भन्न सकिने अवस्था छैन ।