'जुरेली दर्शन' वाङ्मय शताब्दी पुरुष सत्यमोहन बारे नयाँ कृति सार्वजनिक

'जुरेली दर्शन' वाङ्मय शताब्दी पुरुष सत्यमोहन बारे नयाँ कृति  सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार १६, २०७६


काठमाडौँ  ।  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी अनुसन्धानमूलक कृति ‘जुरेली दर्शन’को लोकार्पण गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले अस्वस्थताका कारण घरबाटै पुस्तकको लोकार्पण गर्नुभयो । राष्ट्रकविले पुस्तक लोकार्पण गरेको भिडियो देखाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

अनिल पौडेलद्वारा लिखित पुस्तकलाई सांस्कृतिक संस्थानले प्रकाशन गरेको हो । पुस्तकमाथि टिप्पणी गर्दै प्रा. डा. अभि सुवेदीले शताब्दी पुरुष जोशीले जुरेली दर्शन अवलम्बन गरेको विषयलाई पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

जुरेली चरीको जीवन रमाइलो, स्वतन्त्र र आनन्दमय हुन्छ', उहाँले भन्नुभयो, 'चराहरु मिलेर बस्छन्, कसैले कसैको ईष्र्या गर्दैनन्, जोशीको पनि त्यही खालको दर्शन हो ।' उहाँले जोशीले एक सय वर्ष पूरा गरे पनि उहाँको स्मरण शक्ति र सामथ्र्यले सबैलाई ऊर्जा प्रदान गरिरहेको बताउनुभयो ।

डा.  सुदन पौडेलले जोशी नेपाली भाषा, कला, साहित्य र संस्कृतिको जिउँदो इतिहास भएको बताउनुभयो । उहाँले साधना, त्याग र समर्पणका कारण जोशीको दीर्घ जीवन जिउन पाएको बताउनुभयो । डा विन्दु शर्माले ‘जुरेली दर्शन’ अन्तर्वार्ताको माध्यमबाट तयार पारिएको आत्मकथा भएको छ भन्दै पुस्तकमा समावेशीताको सम्मान पाउन सकिने बताउनुभयो । पुस्तकका लेखक पौडेलले पुस्तकबाट जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृतिको अन्वेषण र उहाँका जीवनका विविध आयामलाई समेटिएको बताउनुभयो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जोशीले संस्था(नाचघर) स्थापना गरेका कारण उहाँको सम्मान र संस्थानको समेत इतिहास कायम राख्ने हेतुले पुस्तक प्रकाशन गरिएको बताउनुभयो । संस्थानका कार्यक्रम प्रमुख प्रभाकर शर्माले नेपाली रङ्गमञ्चको इतिहासलाई जोगाइराख्न रङ्गमञ्चका बारेमा पनि पुस्तक प्रकाशन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'रङ्गमञ्चका विषयमा केही पुस्तकहरु प्रकाशनमा आए पनि तथ्यमा आधारित छैनन् ।'

 संस्थानले आफ्नो भवनलाई सत्यमोहन जोशी प्रेक्षालय नामकरण गरेको छ । कार्यक्रममा वासुदेव अधिकारी, नरेशवीर शाक्य, जोशीसँग ६५ वर्षपछि भेट हुनुभएका तत्कालीन अवस्थामा सरकारी सेवामा सँगै काम गरेका पोखराका ९७ वर्षीय कृष्णबहादुर थापा, कलाकार लोचन भट्टराईले मन्तव्य राख्नुभएको समाचार राससमा छ ।