नगरपालिकासँग सहमति पश्चात् ५२ चिया कारखानाको काम सुचारु

नगरपालिकासँग सहमति पश्चात् ५२ चिया कारखानाको काम सुचारु

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १६, २०७६

इलाम । तीन दिनदेखि बन्द रहेका इलामका ५२ चिया उद्योग आजबाट सञ्चालनमा आएका छन् । सूर्योदय नगरपालिकामा सञ्चालित ५२ चिया कारखाना २०७६ असार १५बाट सञ्चालनमा आएका हुन् ।

नगरपालिकाले लागू गरेको कार्यविधिअनुसार हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई न्यूनतम मूल्य दिन नसकेको भन्दै बन्द भएका चिया कारखाना सञ्चालनमा आएका हुन् । नगरपालिका र एशोसिएशनमा आवद्ध कारखानाका प्रतिनिधिबीच भएको छलफलपछि कारखाना खुलाउने सहमति भएको थियो । सहमति भएसँगै सूर्योदय टी एशोसिएशनमा आवद्ध ५२ चिया प्रशोधन उद्योग खुलाइएको छ ।

छलफलमा नगरपालिकाले लागू गरेको ‘हरियो चियाको गुणस्तर मापदण्डकार्यविधि’ अनुसार ४० प्रतिशत मुना भन्दा मुनिको चिया खरीद गर्ने सहमति भएको एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो । एशोसिएशनले ४० प्रतिशत गुणस्तर कायम गर्न उद्योगका कर्मचारी साटासाट गर्ने बताउनुभयो । चियामा आएको समस्या समाधानका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्यीय समिति निमार्ण गरिएको छ ।

समितिमा नगरपालिकाबाट तीन, उद्योगीबाट दुई, किसानबाट चार, एशोसिएशनबाट तीन प्रतिनिधि, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष सदस्य र नगरस्तरीय सहकारी शाखाका प्रमुख सदस्य सचिव रहने आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताउनुभयो ।

भारतीय बजारमा तयारी चियाको मूल्य नपाए पनि उद्योगलाई नगरपालिकाले हरियो पत्तीको मूल्य बढी दिनुपरेको भन्दै यही असार १२ गतेदेखि सूर्योदय टी एशोसिएशनमा आवद्ध यहाँका ५२ चिया उद्योग बन्द गरिएका थिए ।

चिया उद्योगीले उद्योग बन्द गरेपछि त्यसको मार किसानलाई परेको थियो । आज चिया खरीद गर्न थालिए पनि गुणस्तरीय चिया नआएको भन्दै कारखानाले किसानले ल्याएको चिया फिर्ता गरेका छन् । उनीहरुले नगरपालिकाले तोकेको कार्यविधिमा उल्लेख भएअनुसारको चिया नआएको भन्दै चिया फिर्ता गरेको बताएका छन् । फिर्ता गरिएको हरियो चियापत्ती फाल्ने वा घर लैजाने भन्नेमा अन्योल छाएको किसानको भनाइ छ । बर्खा सिजन भएकाले घरमा हाते चिया बनाउनसमेत समस्या हुने गरेको समाचार राससमा छ ।