सिञ्जा गाउँपालिकाका निजी विद्यालयमा तालाबन्दी, यस्तो छ कारण

सिञ्जा गाउँपालिकाका निजी विद्यालयमा तालाबन्दी, यस्तो छ कारण
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १६, २०७६

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाका निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै यहाँका २२ निजी विद्यालयका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । 

गाउँपालिकाका प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताउनुभयो ।

ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गते ४ दिनको अल्टिमेटम दिँदासमेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको शान्तिजन आधारभूत विद्यालय, काडागाउँका शिक्षक घनश्याम बुढाले बताउनुभयो । विद्यालय बन्द हुँदा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । यता, सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताउनुभयो ।

विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगर्न उहाँले आग्रह गर्नुभयो । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या हल गर्नुपर्ने रावलको भनाइ छ । यता आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडान राखेकाे खबर राससमा छ ।