बन्ध्याकरण गर्नै मान्दैनन् पुरुष

बन्ध्याकरण गर्नै मान्दैनन् पुरुष

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १६, २०७६

बागलुङ । तमानखोला गाउँपालिका-५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्षपहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । 

एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको अस्थायी साधनहरू प्रयोग गर्दै आउनुभएको छ । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गर्नुभएकी उहाँले इम्प्लान्टको प्रयोग गरेको एक वर्ष मात्रै भयो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उहाँले इम्प्लान्ट लगाउनुभएको हो । नरदेवीले दुई सन्तान मात्रै जन्माउने भन्दाभन्दै तीन सन्तान भए । नरदेवीले तेस्रो सन्तान जन्मेपछि श्रीमान्लाई स्थायी बन्ध्याकरणका लागि अनुरोध गर्नुभयो । तर, उहाँले मान्नुभएन । 

‘बच्चा धेरै जन्माउँदा हुर्काउन साह्रै गाह्रो हुन्छ, पाउनै मुस्किल छ, उनलाई के थाहा ?’ नरदेवीले भन्नुभयो ‘खुन (रगत) को आहालमा घरिघरि बस्न सक्दिनँ भनेर बन्द गर्न भनेँ । तर, मानेनन्, अनि त आफैँ यहाँ आएँ ।’ अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलामा महीनावारी नियमित नहुने, महीनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने जस्ता समस्या देखिने गरेको उनीहरू बताउँछन् । 

नरदेवी जस्तै खुंखानी स्वास्थ्य चौकीको सेवा क्षेत्रमा रहेका झण्डै डेढ सय महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्छन् । पुरुषले बन्ध्याकरण गर्न नमानेकै कारण परिवार नियोजनका अस्थायी साधनको भर गर्दै आएको नरदेवी बताउनुहुन्छ । 

खुंखानी स्वास्थ्य चौकीको तथ्यांकअनुसार अहिले पनि २२ महिलाले पिल्स, ४१ ले डिपो र ५९ ले इम्प्लान्ट नियमित प्रयोग गरिरहेका छन् । स्वास्थ्य चौकी प्रमुख दीपक पौडेलका अनुसार कण्डम प्रयोग गर्नेको भने स्वास्थ्य चौकीले तथ्यांक राखेको छैन । त्योबाहेक निजी स्वास्थ्य क्लिनिक र अन्य स्वास्थ्य संस्थामा पुगेर सेवा लिनेहरू पनि छन् । 

खुंखानीका महिलामा दुई सन्तान मात्रै जन्माउनु पर्छ भन्ने चेतना छ । दुईभन्दा धेरै सन्तान नपाउनका लागि उनीहरू आफैँ अनेक उपाय लगाउँछन् । घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा एक अर्कामा जानकारी गराएर महिलाहरूकै बीचमा परिवार नियोजनका विषयमा जानकारी आदानप्रदान हुने गरेको स्थानीय आशकुमारी सिर्पालीले बताउनुभयो । 

सन्तानको रहर पुगे पनि पुरुषहरूले अस्थायी साधन प्रयोग गर्न झण्झट मान्ने गरेका कारण महिलाले नै अस्थायी साधनको प्रयोग गर्ने गरेको नरदेवीले बताउनुभयो । ‘कमाउन विदेश जानुपर्छ, साह्रो काम परो भने कठिन हुन्छ भनेर लोग्नेमान्छेहरू बन्द गर्नै मान्दैनन्,’ उहाँले भन्नुभयो, ‘घर बसे भने केही होला भन्ने डरले स्वास्थ्य चौकी दगुर्न परेको छ ।’ स्थायी बन्ध्याकरण गर्दा शरीर कमजोर हुने र गह्रौँ काम गर्न नसकिने भ्रमका कारण पुरुषले बन्ध्याकरण गर्न नमान्ने गरेको उहाँले सुनाउनुभयो । 

बेलाबेलामा स्वास्थ्य चौकीले आयोजना गर्ने स्थायी बन्ध्याकरण शिविरमा पनि महिलाकै उल्लेख्य उपस्थिति रहने गरेको छ । ‘शिविर भयो भने पनि मिनिल्याप गर्नेको संख्या धेरै हुन्छ,’ खुंखानी स्वास्थ्य चौकीका अनमी माया घर्तीले भन्नुभयो, ‘पुरुषहरू आउनै मान्नुहुन्न ।’ 

उहाँका अनुसार महिलाले प्रयोग गर्ने अस्थायी साधन समय–समयमा परिवर्तन गरिरहनु पर्ने हुन्छ । तीन महिने डिपो सुई प्रत्येक तीन महिनामा लगाउनुपर्ने भएकाले झुक्किएर कहिलेकाहीँ गर्भ रहने समस्या रहेको नरदेवीले बताउनुभयो । 

स्वास्थ्य चौकीले बेला–बेलामा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर बन्ध्याकरणका विषयमा जानकारी गराउने गरेको छ । ‘हामीले स्थायी बन्ध्याकरण गर्दा कुनै असर पर्दैन भनेर जानकारी गराइरहेका छौं,’ स्वास्थ्यचौकी प्रमुख पौडेलले भन्नुभयो, ‘यहाँ त महिलाले नै श्रीमान् कमजोर हुन्छ, काम गर्न सक्दैन भनेर आफैँ बन्ध्याकरण गर्न आउने गरेको पनि पाएका छौं ।’ परिवारको आकार सानो बनाउन स्थानीय सबैमा चेतना भएको भए पनि बन्ध्याकरणका विषयमा केही गलत धारणा रहेको पौडेलले औँल्याउनुभएको खबर राससमा तारानाथ आचार्यले लेख्नुभएको छ ।