भारत भर्सेस बंगलादेश : कसको पलडा भारी ?

भारत भर्सेस बंगलादेश : कसको पलडा भारी ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १७, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भारत र बंगलादेश प्रतिष्पर्धा गर्दैछन् ।

भारत आजको खेल जितेर सेमिफाइनल टिकट सुरक्षित गर्ने दाउमा छ भने बंगलादेश सेमिफाइनल सम्भावना कायमै राख्न जसरी पनि खेल जित्ने रणनीतिमा छ । त्यसकारण प्रतिष्पर्धा रोचक हुने देखिन्छ । तर, खेल जित्न दुवै टिमलाई सहज छैन । किनकि दुवै टिमले ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरिरहेका छन् । 

ब्याटिङमा भारतका रोहित शर्मा र विराट कोहलीले प्रायः हरेक खेलमा रन बनाएका छन् । चालू प्रतियोगितामा सर्वाधिक रन बनाउनेको सूचीमा शर्मा छैठौं छन् भने कोहली सातौं । शर्माले चालू प्रतियोगिताका ६ खेलमा ३ शतक र १ अर्धशतक गरी ४४० रन बनाएका छन् । कोहलीले भने ४ अर्धशतक गरी ३८२ रन जोडेका छन् । त्यसकारण बंगलादेशलाई खेल जित्न यी खेलाडीलाई रोक्नुपर्ने देखिन्छ । 

त्यति मात्रै होइन, बंगलादेशले नतिजा आफ्नो पक्षमा पार्न भारतको बलिङ आक्रमण निस्तेज पार्नुपर्ने देखिन्छ । भारतको बलिङ अट्याक जुनसुकै विरोधी टिमका लागि घातक सावित भएको छ । 
भारतका मोहम्मद सामीले पछिल्ला ३ खेलमा १३ विकेट लिएका छन् । उनी चालू प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचाैं स्थानमा छन् । यस्तै, जसप्रित बुमराहले १० विकेट लिएका छन् । युजबेन्द्र चहलको प्रदर्शन पनि राम्रो छ । 

तर, बंगलादेशले भारतलाई जित्नै सक्दैन भन्नेचाहिँ होइन । किनकि बंगलादेशसँग पनि एकसे एक खेलाडी छन् । चालू प्रतियोगितामा बंगलादेशका लागि सकिब अल हसन सबैभन्दा उत्कृष्ट अलराउन्डरका रूपमा दरिएका छन् । उनले ब्याटिङ र बलिङबाट आफ्नो टिमलाई कति खेल जिताएका छन् । त्यसकारण उनी एक्लैले टिमलाई जिताउने क्षमता राख्छन् । 
उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो छन् । उनले ६ खेलबाट ४७६ रन जोडेका छन् । उनीभन्दा अगाडि अस्ट्रेलियाका डेभिड वार्नर र आरोन फिन्च छन् । वार्नरले ८ खेलबाट ५१६ र फिन्चले समान खेलबाट ५०४ रन जोडेका छन् । यस्तै, उनले ६ खेलबाट १० विकेट पनि लिएका छन् । 

त्यति मात्रै होइन, बंगलादेशसँग खेल जिताउने क्षमता भएका ब्याट्सम्यान र बलर छन् । 

अंकतालिकामा भारत अघि 

चालू प्रतियोगिताको अंकतालिकामा भारत दोस्रो स्थानमा छ । भारतको ७ खेलबाट ११ अंक छ । भारतले ७ खेलमध्ये ५ मा जित र १ मा पराजित भएको छ । १ खेल भने नतिजाविहीन भएको थियो ।

अंकतालिकामा सातौं स्थानमा रहेको बंगलादेशको ७ खेलबाट ७ अंक छ । बंगलादेशले ३-३ खेलमा जित र पराजित भएको छ । 

हेड टु हेडमा पनि भारत 

भारत र बंगलादेशबीच भएका हेड टु हेड खेलमा पनि भारत अघि देखिएको छ । भारतले ३५ खेलमध्ये २९ मा जित हासिल गरेको छ । यता बंगलादेशले भने ५ खेलको नतिजा मात्रै आफ्नो पक्षमा पारेको छ । १ खेल भने नतिजाविहीन भएको छ । 

एकदिवसीय विश्वकप प्रतियोगितामा पनि भारत नै अघि देखिन्छ । भारत ३ खेलमध्ये २ मा विजयी भएको छ । १ खेलको नतिजा मात्रै बंगलादेशको पक्षमा छ । 

यस्तोमा बंगलादेशभन्दा भारतको पलडा भारी देखिन्छ । तर, कुन टिमले खेल जित्छ भन्ने अनुमान लगाउन भने गाह्रो छ ।