एकदिवसीय विश्वकप क्रिकेट : यसरी पुग्न सक्छ बंगलादेश सेमिफाइनल

एकदिवसीय विश्वकप क्रिकेट : यसरी पुग्न सक्छ बंगलादेश सेमिफाइनल
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १७, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेशले भारतको सामना गर्दैछ । यस्तोमा बंगलादेश खेल जितेर सेमिफाइनल यात्रामा कायम रहन चाहान्छ । यसका लागि बंगलादेशले पूरै शक्ति खर्चिँदैछ । 

भारत पनि आजको खेल जितेर दोस्रो सेमिफाइनलिस्ट हुने मनस्थितिमा छ । भारतको ७ खेलबाट ११ अंक छ । राउन्ड राेबिन चरणअन्तर्गत भारतले बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । अंकतालिका अनुसार भारतलाई सेमिफाइनल पुग्नका लागि दुई खेलमध्ये एक जित पर्याप्त छ । यस्तोमा भारतलाई बंगलादेशविरुद्धको खेल जितेर दोस्रो सेमिफाइनलिस्ट हुने अवसर छ । 

के होला बंगलादेशको सेमिफाइनल यात्रा ? 

सेमिफाइनल यात्रामा कायमै रहन बंगलादेशले आजको खेल जित्नैपर्नेछ । अंकतालिका अनुसार बंगलादेशको ७ खेलबाट ७ अंक छ । यस्तोमा आजको खेल जितेमा ९ अंक हुनेछ । र, सेमिफाइनल यात्रामा कायमै रहनेछ । खेल हारेमा भने बंगलादेश सेमिफाइनल यात्राबाट बाहिरिनेछ । 

यसरी पुग्न सक्छ सेमिफाइनल 

बंगलादेशलाई सेमिफाइनल पुग्न बाँकी दुई खेल जित्नुपर्नेछ । यस्तोमा बंगलादेशको ११ अंक हुनेछ । तर, यतिले मात्रै बंगलादेश सेमिफाइनल पुग्दैन । इग्ल्याण्ड पनि न्युजिल्याण्डसँग पराजित हुनुपर्नेछ । यस्तोमा इग्ल्याण्डको १० अंक मात्रै हुनेछ । र, बंगलादेश इग्ल्याण्डलाई पछि पार्दै सेमिफाइनल पुग्नेछ । 

इग्ल्याण्डले न्युजिल्याण्डलाई फराकिलो अन्तरमा पराजित गरे पनि बंगलादेश सेमिफाइनल पुग्न सक्छ । यस्तोमा बंगलादेशले बाँकी दुई खेल फराकिलो अन्तरमा जित्नुपर्नेछ । यो अवस्थामा न्युजिल्याण्डको पनि ११ अंक हुनेछ । र, बंगलादेश रनरेटका आधारमा न्युजिल्याण्डलाई पछि पार्दै सेमिफाइनल पुग्नेछ । 

भारतले बाँकी दुई खेल फराकिलो अन्तरमा पराजित भए पनि बंगलादेश सेमिफाइनल पुग्न सक्छ । यस्तोमा बंगलादेशले बाँकी खेल फराकिलो अन्तरमा जित्नुपर्नेछ । यो अवस्थामा भारतको पनि ११ अंक हुनेछ । र, बंगलादेश रनरेटका आधारमा भारतलाई पछि पार्दै सेमिफाइनल पुग्नेछ ।