‘थिंक पोेजिटिभ, बी पोजिटिभ’

‘थिंक पोेजिटिभ, बी पोजिटिभ’

निर्जला कक्षपति  |  जीवनशैली  |  असार १७, २०७६

हिजोआज धेरै जना सकारात्मक ऊर्जाको खोजीमा रहेको देख्छु । त्यसैले त कोही योग गर्छन्, कोही मर्निङ वाक त कोही ध्यान गर्छन् । धेरैले सल्लाह दिने गर्छन्– थिंक पोजिटिभ, बी पोजिटिभ । हुन पनि सकारात्मक सोच्यो भने सबै कुरा सकारात्मक हुन्छ, अनि ठीकठाक पनि । जीवनलाई सकारात्मक मोडतर्फ लैजान सकारात्मक ऊर्जा कहाँबाट आउँछ त ? धेरैको उत्तर हुन सक्छ– ध्यान र योगबाट । यो उत्तर सही हो । ध्यानले तपाईंलाई सही दिशातर्फ अवश्य डोर्याउँछ । तर, सकारात्मक ऊर्जाका लागि यतिले मात्र पर्याप्त हुँदैन । शरीरमा सकारात्मक ऊर्जा ल्याउन योग र ध्यान सँगसँगै हामीले खाएको खानाले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शुद्ध खानाले हाम्रो शरीरमा सकारात्मक ऊर्जा ल्याउन सक्छ भन्ने कुरा कतिलाई थाहा नै छैन, त्यसो भएर पनि ध्यान दिइरहेका हँुदैनौं । कतिले समय अभावले खाना पकाउँदा ध्यान दिन सक्दैनन् । कतिलाई पेट भर्न मात्रै खाना खाने भन्ने लाग्छ । अझ कतिले त के सम्म भन्छन् भने खाएको कसले देख्छ र बरु त्यो रूपैयाँको लुगा लगायो भने त कसैले आहा त भन्छन् । 

हामीमध्ये धेरैलाई आमाले पकाएको खाना अति नै स्वादिलो लाग्छ । किनभने आमाले पकाएको खानामा माया मिसिएको हुन्छ । त्यसका साथै आमाले खाना पकाउँदा आफनो बच्चाको रुचि र स्वादलाई ख्याल राखेर पकाउने गर्नुहुन्छ । अरु काममा ध्यान पुर्याएजस्तै खाना पकाउँदा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । सरसफाइदेखि लिएर स्वाद, शुद्धता र खानामा पाइने पौष्टिक तत्वको नाश हुन दिनु हुँदैन । जति हामी शुद्ध खाना खान्छौं, हामीले सोच्ने विचार त्यति नै सकारात्मक हुन्छन् । अशुद्ध खानाले हाम्रो शरीरमा अशुद्ध विचार नै उत्पन्न गराउँछ । सफा स्वादिष्ट भोजन गरेको दिन तपाईंको दिन नै चंगा हुन्छ । शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । तर, खाना डढेको, नमिठो दिगमिग लागिकन खाएको दिन तपाईंको दिन नै बिग्रन्छ । त्यसैले हाम्रा बाजेहरू खाना मिठो होस् अनि खाना पकाउँदा कुनै भयावह घटना नहोस् भनेर अग्निलाई पूजा गरेर खाना पकाउने गर्थे । यद्यपि अहिले यो चलन हराइरहेको छ । अग्निलाई पूजा गरेर खाना पकाउन सुरु गर्यो भने सबै भोजन मिठो र स्वादिष्ट बन्छन् भन्ने विश्वास थियो । 

सकारात्मक ऊर्जा भन्ने कुरा जीवनशैलीले पनि निर्धारण गर्छ । बच्चा जन्मदै सकारात्मक स्वभावको होस् भनी हिजोआज डाक्टर जब महिला गर्भवती हुने गर्छिन्, हत्या–हिंसाका दृश्य टेलिभिजनमा नहेर्न सल्लाह दिने गर्छन्  । बलि दिने मन्दिरमा समेत गर्भावस्थामा नजानु नै राम्रो मान्ने गरिएको छ ।

शरीरको लागि हावा र पानीपछि तेस्रो महत्वपूर्ण आवश्यक वस्तु हो, खाना । खाना भएन भने हामी बाँच्न सक्दैनौ, यो सबैलाई थाहा छ । क्रियाशील रहन र शक्ति प्राप्तिका लागि हामी खाना खान्छौं । खानाले शरीरको वृद्धि विकास र स्वस्थ रहन मदत गर्छ । शरीरमा कुनै पनि रोग नलागोस् भनेर पनि हामीले स्वस्थकर खानालाई जोड दिन्छौं ।  शरीरको लागि चाहिने यति महत्वपूर्ण खानालाई हिजोआज, विशेषगरी युवतीले स्लिम हुने नाउँमा हेलचेक्रयाई गर्ने गरेको  हामीले देखेका छौं । यसले तुरुन्तै ठूलो परिणाम नल्याए पनि पछि शरीरलाई चाहिने आवश्यक तत्व नपुगेकै कारण हामी रोगको सिकार पनि बन्ने गर्छौ । 

हाम्रो शरीरलाई विशेष गरी ५ प्रकारका पोषक तत्व प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन र मिनरल्सको पूर्ति गर्नु पर्ने हुन्छ । हाम्रो जस्तो देशमा खानाको महत्व बुझेर खानेको संख्या निकै कम छ । धेरैले पेट भर्नको लागि नै खाना खाने गर्छन् । कतिपयलाई त कुन खानेकुरामा के तत्व पाइन्छ ? खानेकुरा कसरी र कुन बेला खानुपर्छ ? यसबारे थाहा नै छैन । हाम्रा बाजे–बज्यैहरूले रातीमा दही र साग नखानु भन्नुहुन्थ्यो, च्याउको तरकारी खाँदा मासु नखानु भन्नुहुन्थ्यो । उहाँहरूले यो कुरामा तर्क छ । रातीमा दही खायो भने जीउ दुख्न सक्छ, रातीमा साग खाँदा चिसो लाग्न सक्छ अनि च्याउ र मासु दुवैमा प्रोटिनको मात्रा बढी हुने भएकाले पचाउन गाह्रो हुन्छ । त्यसैले एकैचोटी नखानु भनेका रहेछन् । आयुर्वेदिक चिकित्सकका अनुसार हाम्रा बाजे–बज्यैले भन्ने गरेका यी कुरा हामीले अनुशरण गर्न सके निकै नै लाभदायक हुन्छन् । 

शरीरलाई यति महत्वपूर्ण र आवश्यक हुने खानालाई हामीले किन ध्यान दिन सकिरहेका छैनौं ? के मानिस व्यस्त भएरै हो त ? यो आधारलाई सत प्रतिशत मान्न सकिँदैन । खानाबाट नै हाम्रो जीवनशैली निर्धारण हुने गर्छ भने यसमा हेलचेक्रयाईं गर्ने किन ? आफ्नो खेतबारीमा उब्जाएको तरकारी, फलफूल अनि अन्न खाँदा तपार्ईंलाई जति आनन्द र सन्तुष्टि मिल्छ, पशु र पंक्षी काटेर तयार पारिएको तरकारी खाँदा ग्लानी र हिनताबोध हुन्छ, यदि तपाईं सत्कर्मको पक्षमा हुनुहुन्छ भने । किनभने कुनै पनि पशुपंक्षीलाई बलि दिएर खाएको मासुले हाम्रो शरीरमा नकारात्मक ऊर्जा भरिदिन्छ । मासुमा पाइने प्रोटिन भटमासलगायत अन्य गेडागुडीमा पनि पाइने प्रमाणित भइसकेको छ । त्यसैले यो सकारात्मक ऊर्जा भन्ने कुरा जीवनशैलीले पनि निर्धारण गर्छ । बच्चा जन्मदै सकारात्मक स्वभावको होस् भनी हिजोआज डाक्टर जब महिला गर्भवती हुने गर्छिन्, हत्या–हिंसाका दृश्य टेलिभिजनमा नहेर्न सल्लाह दिने गर्छन्  । बलि दिने मन्दिरमा समेत गर्भावस्थामा नजानु नै राम्रो मान्ने गरिएको छ । किनभने यस्ता दृश्यले पेटमा भएको बच्चालाई समेत नराम्रो असर पार्छ । त्यसैले बच्चामा सकारात्मक ऊर्जा आओस् भनेर गर्भावस्थाका महिलालाई संगीत सुन्न, रमाइला ठाउँहरू घुम्न, धार्मिक ग्रन्थका पुस्तकहरू अध्ययन गर्न र सधैं हासीखुसी भएर रहनसमेत सल्लाह दिने गर्छन् ।  

हाम्रा प्राचीन क्रषिमुनि जहिले पनि प्रार्थना गरेर खानालाई ढोगेपछि मात्र खान्थे । अहिले पनि खाना पाकिसकेपछि कतिपयले पितृलाई चढाएर मात्र खाने गर्छन् । खाना यस्तो चिज हो, कर्म गरेपछि भगवानले  खानाको लागि  जुटाइदिन्छन् भनेर ढोग्ने प्रचलन रहिआएको हो । हाम्रो शरीरको लागि अति नै महत्वपूर्ण मानिने खाना शुद्ध र स्वादिष्ट भइदियो भने मात्र हामीले राम्रो काम गर्न सक्छौं । त्यसैले अझै पनि कतिपय व्यक्ति खाना खानुअघि आफ्नो खानालाई ढोगेर मात्र खाने गर्छन् । त्यसैले खानाले, हाम्रो शरीरलाई शक्ति मात्र नदिएर सकारात्मक ऊर्जा ल्याउन पनि उत्तिकै भूमिका राख्छ भन्ने कुरा नभुलौं ।