मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा

मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १७, २०७६

महोत्तरी । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास-जनकपुर-जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ ।

जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेसनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माण अनिश्चित बनेको हो ।

जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ सकिएर अब रेल सञ्चालनको तयारीमा छ । त्यसैगरी धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेसनसम्मको १७ किमी दूरीमा पनि सुस्त गतिमै भए पनि निर्माण भइरहेको छ । तर, भङ्गाहा नगरपालिकाको बिजलपुरा स्टेसनदेखि बर्दिवाससम्मको १८ किमी क्षेत्रमा अहिलेसम्म पनि मुआब्जा विवाद नटुंगिँदा बर्दिवाससम्म रेल आउने/नआउने अनिश्चित भएको यस भेगका सर्वसाधारणले बताएका छन् । 

भारत सरकारको सहयोगमा सुरु भएको बर्दिवास–जनकपुर (कुर्था)-जयनगर रेलसेवा सन् २०२० भित्र सञ्चालन भइसक्ने रेल विभागले बताउँदै आएको छ । तर, भङ्गाहा-बर्दिवास खण्डको जग्गा मुआब्जा विवाद नै नटुंगिँदा रेल चल्छ भन्ने आश मर्न थालेको बर्दिवास नगरपालिका-१४ का बासिन्दा हरिप्रसाद दाहाल बताउनुहुन्छ ।

भङ्गाहा-बर्दिवास खण्डका जग्गाधनीले चलनचल्तीको मूल्यका आधारमा मुआब्जा पाउनुपर्ने माग राखेका छन् । छन् । तर, सरकारले रकम निर्धारण गरेर जग्गाधनीलाई मुआब्जा लिन आउने सूचना नै जारी गर्न नसकेको बर्दिवास-७ प्रेमनगरका भीष्मकुमार महतोको गुनासो छ । ‘रेल विभागले हाम्रो जग्गा रोक्का राखेको तीन वर्ष नाघ्यो,’ महतोले भन्नुभयो, ‘न मुआब्जा लिन बोलाउँछ, न जग्गा फुकुवा गरिदिन्छ, यसले हामीलाई सकसमा पारेको छ ।’ 

बर्दिवास-भङ्गाहा खण्डमा रेल विभागले रोक्का राखेको १२७ बिघा जग्गाको मुआब्जा वितरण हुन नसक्दा यस खण्डमा रेलसम्बन्धी काम अगाडि बढ्न नसकेको हो । ‘सरकारले चलनचल्तीको मुआब्जा तोकेर सो रकम लिन बोलाउनासाथ हामी लिन तयार छौं,’ बर्दिवास-१४ कै ७० वर्षीय खड्गबहादुर सिंहले भन्नुभयो, ‘विभागले यसमा तत्परता नदेखाउँदा काममा ढिलाइ भएको हो ।’ अझ आफूहरूलाई विकास विरोधी देखाउन ठाउँ÷ठाउँमा जग्गावालाले किचलो गरेका प्रचार फैलाइएको सिंहको गुनासो छ । 

बर्दिवास-भङ्गाहा खण्डमा विभागले रोक्का राखेको १२७ बिघा जग्गामध्ये २६ बिघा धनुषाको मिथिला नगरपालिका (पहिलेको बेङ्गाडावर गाविस) र अरू महोत्तरीकै बर्दिवास र भङ्गाहा नगरपालिकामा पर्छ ।  जसमध्ये पहिलेको बर्दिवास गाविस क्षेत्रभित्रको ५३, किसाननगर गाविस क्षेत्रको २६ र भङ्गाहाको २२ बिघा जग्गा रहेको छ । पहिलेको बर्दिवास र किसाननगर गाबिस हाल बर्दिवास नगरपालिकामा गाभिएका छन् । 

यसैबीच रेल विभागका महानिर्देशक बलराम मिश्रले पनि मुआब्जा वितरणमा ढिलाइ हुँदा निर्माण काम अड्किएको स्वीकार गर्नुभएको छ । सरकारले मुआब्जाको काम सकेलगत्तै बर्दिवास-भङ्गाहा खण्डको काम पनि गतिमा अघि बढ्ने मिश्रको भनाइ छ । ‘जयनगर-कुर्था खण्डमा केही महिनाभित्रै रेल सेवा सञ्चालन हुन्छ, कुर्था-बिजलपुरा खण्डमा निर्माण काम भइरहेको छ,’ मिश्रले सञ्चारकर्मीसँगको टेलिफोन संवादमा भन्नुभयो, ‘बर्दिवास-भङ्गाहा खण्डमा मुआब्जा वितरण बाँकी छ, यो टुंगिनासाथ निर्माणले गति लिनेछ ।’ 

रेल विभागले सन् २०१८ भित्र जयनगरदेखि कुर्थासम्म, सन् २०१९ भित्र कुर्थादेखि भङ्गाहाको बिजलपुरा स्टेसनसम्म र सन् २०२० भित्र भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको काम सम्पन्न गरी सोही तालिकाभित्र रेल सेवा सञ्चालन गरिसक्ने जनाउँदै आएको थियो । तर, यो तालिकाभित्र काम सम्पन्न हुन नसक्दा पहिलो खण्ड (कुर्था-जयनगर) मा पनि हालसम्म रेल सञ्चालन हुन सकेको छैन । 

भारत सरकारको सात अर्ब २० करोड रूपैयाँको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको थियो । वि.सं. १९९४ मा सुरु भएको बिजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर (धनुषा)-जयनगर (भारत)सम्म ५१ किमी रेलमार्ग २०५८ सालको बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भासिएपछि सो रेल सेवा जनकपुर-जयनगर २९ किमिमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम सुरु गरिएसँगै विभागले २०७० देखि रेल सेवा पूर्णरूपमा बन्द गराएको खबर राससमा छ ।