सहयोगको याचनामा पत्रकारका स्वतन्त्रता सेनानी

सहयोगको याचनामा पत्रकारका स्वतन्त्रता सेनानी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १७, २०७६

चक्रपाणी नेपाल, उमेर ७६ नेपाली पत्रकारितामा करिब आधा शताव्दी बिताउनुभएको मानिस । 

तर जीवनका उर्जाशील पाँच दशक खर्चिए पनि नेपाललाई कुनै जिल्ला र पालिकाको माटोले चिन्दैन । स्वस्थ हुँदासम्म कतैको  माटोले नचिन्दा पनि उहाँलाई खासै फरक परेन । तर जब उहाँलाई नसा सम्बन्धी रोग लाग्यो र उपचारको लागि ठूलो धनराशि लाग्ने निश्चित भयो तब राज्य र अस्पतालहरुले  दिने र सर्वसाधारणले पाउने सेवा सुविधाको खोजी गर्न थालेपछि मात्र आफूलाई कुनै पनि माटोले नचिनेको थाहा पाउनुभयो । 

अहिले उहाँ २०५० ताकासम्मका पत्रकारितामा आएका  पत्रकारहरु भेटना साथ भन्नुहुन्छ – भाईहरु ‘लु न !  यही साउन ५ गते  मेरो अप्रेसन गर्नुपर्ने छ, मनमोहन कार्डियो  भास्कुलर थोरासिक ट्रान्सप्लान्ट सेन्टरमा, खर्चमा छुट दिलाउने विधि बताइदिनुहोस । अन्य विषयमा जस्तै सबैको एउटै जवाफ हुने गरेको छ– राज्यले मुटु, मृगौला, स्पाइनल इन्जुरी लगायतका करिब आधा दर्जन रोगलाई स्थानीय तह र जनस्वास्थ्य कार्यालयको सिफारिसमा पाउने एक लाख अनुदान पाइन्छ । 

त्यो अनुदान पाउँन त्यति सजिलो कहाँ छ र ? पहिला स्थानीय तहको सिफारिस त्यसका आधारमा जिल्ला जनस्वास्थ्यको सिफारिस दिने व्यवस्था छ ।  त्यसमा पनि अस्पतालले समयसमयमा कोटा सकिएको र बजेट नभएको भनेर उपलब्ध नगराउने समस्या त छँदैछ । तर कुनै पनि ठाउँको माटोले नचिन्ने पाका पत्रकार चक्रपाणी नेपाललाई यो सुविधा पाउनु ‘फलामको चिउरा चपाउनु सरह’ भएको छ ।   

उहाँको जन्मस्थान संखुवासभा जिल्लाको  साविक आँखीभुई गाविस हालको धर्मदेवी नगरपालिका । सोही ठाउँबाट नागरिकता लिनु भएका नेपाल २०२९ सालमा नै मोरङमा झोडा फाँडी बसाई सर्नुभयो । केही वर्षमा नै  उहाँको घरखेत रतुवा खोलाले बगाएपछि जिउने संघर्षले उहाँ पत्रकारितामा लगायो । मोरङको कोशेली दैनिकबाट पत्रकारिता शुरु गर्नु भएका नेपाल तिखो कलमकै कारण पटकपटक  प्रशासनको आँखाको तारो बन्नु भयो । प्रशासनको आँखा छल्ने क्रममा जनकपुरको नयाँ पाइलामा काम गर्न पुग्नुहुन्छ,  सोही क्रममा नेपालगंज गएर भेरी सन्देशमा काम गर्न भयो । काठमाडौ उपत्यका छिरेपछि प्रकाश, समीक्षा, युगसम्बाद, चेतना(धरान), विमर्श लगायतमा काम गर्नुभयो । हाल पनि नेपालीपत्र साप्ताहिकमा कार्यरत नेपाल २०४० सालको  आसपासमा तत्कालीन माले  पार्टीको जिम्मेवारी लिएर धादिङ, नुवाकोट, रसुवा र सोलुसम्म पुगेको सुनाउनुहुन्छ । नेपाल भन्नु हुन्छ– ‘दिनभरी पेपर पोल्टिक्स, रातभरी पिपुल पोल्टिक्स’ गरिन्थ्यो ।  यहीबेला नुवाकोटमा जनपक्षीय उम्मेदवार गणेश पण्डितलाई जिताउनको लागिरहेको बेलामा उहाँको नागरिकता हरायो ।

त्यसो त नागरिकताको खासै आवश्यकता पनि थिएन त्यसबेला । जतिबेला नेपाली नागरिकताको आवश्यकता पर्दथ्यो एउटा फोटोकपी र त्यसलाई सरकारी अधिकृतको प्रमाणित प्रतिबाटै काम चलाउनुभयो । तर पछि मुलुक द्वन्द्वकालकाे  भुमरीमा भएको बेला धेरै पहाडी जिल्लाको नागरिकता र पासपोर्ट लगायतका काम उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर जिल्लामा दुबै काम गर्ने व्यावस्थाको फाइदा उठाउँदै चक्रपाणी नेपालले भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभयो । सोही दिनबाट उहाँको जन्मेको माटोसँग  उहाँको सरकारी कागजको औपचारिक रुपमा नाता टुट्यो । तर नागरिकता भएपनि भक्तपुरको कुनै माटोले उहाँलाई चिन्दैन । 

चक्रपाणी नेपालकाे  अर्को नातो छ काठमाडौसँग ।   २०३७ सालको जनमत संग्रहदेखि हालसम्म काठमाडौको विशालनगरको टुँडालदेवी बुथका मतदाता हुनुहुन्छ  चक्रपाणी नेपाल । मतदाता भए पनि नागरिकता अवरोध बनेको छ । रतुवाखोलाले घरबार बगाएकै दिन मोरङसँग सम्बन्ध तोडिएका नेपाललाई न संखुवासभाले चिन्छ,  भक्तपुरले कागजमा मात्र चिन्छ, काठमाडौले मतदाता बनायो तर उहाँलाई आवश्यक पर्ने कागजात नमिलेका कारण नेपाललाई चिन्दैन । त्यसैले ‘आकासको फल आँखा तरि मर’ भन्ने अवस्थामा पुग्नु भएको छ, नेपाल । र, ७६ वर्षको बुढेसकालमा सहायताका लागि विभिन्न शक्तिकेन्द्रमा धाउने बाटो खोज्न वाध्य हुनुहुन्छ ।

मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणाको भोलीपल्ट नेपालीपत्र साप्ताहिक मार्फत आफनो ‘मिसन पत्रकारिता’ सकियो भनेर लेख नै प्रकाशन गर्नुहुने चक्रपाणी नेपाललाई पत्रकारको हकहितको लागि काम गर्ने नेपाल पत्रकार महासंघले ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान २०७३’ समेत प्रदान गरेको  थियो ।  पाका पत्रकार चक्रपाणी नेपालले  भोग्नुपरेको सरकारी झन्झट र राज्यले उपलब्ध गराउने सेवा सुविधाबाट बञ्चीत भएको बारेमा नेपाल पत्रकार  महासंघका महसचिव रमेश विष्ट भन्नुहुन्छ ‘पहिलो कुरा चक्रपाणी नेपाल जेष्ठ नेपाली नागरिक हुनुहुन्छ । सोही आधारमा राज्यले दिनुपर्ने सेवा सुविधा पाउनु पर्छ । अर्को कुरा चक्रपाणी नेपाल पाँच दशकदेखि सक्रिय पत्रकारितामा हुनुहुन्छ । उहाँको उपचारको लागि महासंघले आवश्यक सबै खालको पहल गर्न तयार छ । पत्राचार नै गरेर सरकारसँग पहल गछौं विष्टले भन्नुभयो । 

चक्रपाणी नेपाल एक प्रतिनिधिमुलक पात्र हुनुहुन्छ । जसले  विगत पाँच दशकदेखि पत्रकारिता गरेको एउटा पत्रकार,   राज्यको समाचार लेख्ने मानिसको यो अवस्था छ भने आमनागरिकले राज्यको सेवा सुविधा पाउनको लागि कति  अप्ठेरो भोगेका होलान् सहज अनुमान गर्न सकिन्छ ।