जायरा वसीमलाई मुम्बईको प्रतिउत्तर

जायरा वसीमलाई मुम्बईको प्रतिउत्तर

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार १७, २०७६

तिमी जादैछौ जाऊ । प्लिज जाऊ । जहाँ जान चाहन्छौ जाऊ । जे गर्न चाहान्छौ गर । जहाँ गए पनि जहाँ रहे पनि  खुसी होऊ । अल्लाहले तिमीलाई धेरै नै तरक्की दिउन् । यस्तो सही बाटोमा हिँडाउन, जुन बाटो सोझै जन्नतको ढोकामा गएर टुंगियोस् । आमीन !

तर, यो जुन तिमीले लामो चिठ्ठी लेखेर छाडेकी छौं त्यो कसका लागि ? कुरान सूरह अनि हदीसका जुन वक्तव्य दोहो¥याएकी छौ त्यो केका र कसका लागि ? को हो त्यो जसलाई तिमी आफ्नो यो चिठ्ठी पढाउन चाहान्छौ ? देवदूतलाई वा आफ्ना प्रशंसकलाई ? अनि प्रशंसक त त्यसै पनि भटकेका मानिस हुन्, त्यही भएर त फिल्म हेर्छन् । फेरि तिनका लागि यति लामो चिठ्ठी किन ?

मोहभंग सम्झिनयोग्य छ । र, यो सधैं कुनै व्यक्तिको व्यक्तिगत चुनाव हुन्छ कि उसले के गर्नुपर्छ अनि के गर्नुहुँदैन ? तिमीभन्दा पहिला पनि यस इन्डस्ट्रीबाट थुप्रै अभिनेता–अभिनेत्रीले आफ्नो करियरको शिखरमा रहँदा इन्डस्ट्रीलाई बाइबाई गरेका छन् । धेरैले सन्यास लिएका छन् । 

धेरै अभिनेत्रीले विवाहपश्चात आफ्नो खुसी वैवाहिक जीवनका लागि फिल्म इन्डस्ट्रीलाई परित्याग गरेका छन् । तर, उनीहरूले यसबारेमा कहिल्यै कुनै किसिमको बयानबाजी गरेका छैनन् । उनले इन्डस्ट्री छाड्दा कसैले पनि यो दाबी गरेका छैनन् कि उनीहरू गलत बाटो अथवा गलत ठाउँमा थिए । र, त्यसकारण यस नराम्रो ठाउँलाई छाडेर जाँदैछन् । तर, तिमीले भन्यौ र मेरो विचारमा सारा समस्याको जरो यही हो । तिमी भन्न के चाहान्छौ ? जे जति मान्छे यस इन्डस्ट्रीमा काम गरिरहेका छन् ती सबै कुबाटोमा छैन ? ती सबै पापी हुन् ? ती सबै नरक जान्छन् ? 
यदि तिम्रो आशय यही हो र तिम्रो रियलाइजेसन यही हो भने भड्केलाोमा जाओस् तिम्रो रियलाइजेसन । 

हामी दिन–रात काम गरिरहेका छौं, त्यो काम  जसमा हामी विश्वास गर्छौं । हामी कलाका दिवाना हौं पारखी हौं । कलाको चाहे जुनसुकै अभिव्यक्ति होस् त्यो मानवको आनन्द, दुःख, विषाद अनि उल्लासको चरमोत्कर्ष हुन्छ । यहाँ हामी जे सृजना गर्छाैं, त्यो कसैलाई ढाट्नका लागि होइन, वरन विशुद्ध मनोरञ्जनका लागि हुन्छ । हामी दृश्यको पुनर्रचना गर्छौं, नयाँ–नयाँ दृष्टिकोण दिन्छौं । हामी गीत लेख्छौं । 

उल्लास र दुःखको अभिव्यक्तिका लागि संगीत सृजना गर्छाैं । संगीतलाई घृणा नगर, किनकि यो हाम्रो मुटु, आत्मा र हाम्रो प्रत्येक श्वासको आवागमनमा छ । 
तिमी चुपचाप जान सक्थ्यौ । तिमीले फिल्म इन्डस्ट्रीलाई छाडेर जाँदा स्पष्ट हुन्थ्यो, तिमीलाई यहाँ काम गर्ने रुचि छैन । तर, यो चिठ्ठी ? तिम्रो आशय के ? के हामी यहाँ कुनै ठूलै अपराध गरिरहेका छाैं ?

होस गरौं, तिम्रो भावी जीवनलाई मेरो शुभकामना । तिमी त्यस जीवन, कर्म र भाग्यलाई पार गर्दै जाऊ, जुन पार गर्दै त्यो ठाउँ पुग, जहाँबाट स्वर्ग जाने बाटो पाइयोस् । गड ब्लेस्ड !
तर, विश्वास गर, तिमीलाई जन्नतमा पनि यिनै उदेकलाग्दा मुल्ला मौलवी नै भेटिनेछन् । र, हामीजस्ता मानिस जहन्नुममा पनि गालिब, फैजÞ, नौशाद, रपÞmी, मीनाकुमारी, के. आसिफ, मधुवाला जस्ताको साथमा हुनेछौं । तिमी फेरि यो भन्न नआउनु, ‘थोरै समयका लागि के म यहाँ आउन सक्छु ?’ 

‘दंगल’ फिल्मबाट मुम्बई फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी अभिनेत्री जायरा वसीमले इस्लामको हवाला दिँदै फिल्म इन्डस्ट्री छोड्ने घोषणा गरिन् । यो बारे उनले एउटा लामो पत्र नै लेखिन् । उनको पत्रको प्रतिउत्तर दिँदै मुम्बई फिल्म इन्डस्ट्रीमा स्क्रिप्ट राइटिङ गर्ने जमा हबीबले यो पत्र लेखेका हुन् । उनको पत्रको नेपाली अनुवाद प्रस्तुत गरेका छौं ।