जलविन्दुको नयाँ उपकरणबाट उपचार प्रारम्भ

जलविन्दुको नयाँ उपकरणबाट उपचार प्रारम्भ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १८, २०७६

काठमाडाैँ ।  त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले जलविन्दुको उपचार गर्न नेपालमै पहिलो पटक उच्च प्रविधिको उपकरणबाट सेवा प्रवाह गर्न थालेको छ ।

सो उपकरणबाट आँखा उपचार गराउँदा आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको चिकित्सकले जानाकारी  दिएका छन् । ‘सुप्रा ८१० इनफ्रेर्ड लेजर’ नामक उक्त उपकरणले जलविन्दुको मात्र नभई आँखाको पर्दासम्बन्धी उपचारसमेत गरिने अस्पतालले जनाएको छ ।

जलविन्दुलाई दृष्टिविहीन बनाउने जटिल आँखाको समस्याका रुपमा लिइन्छ । नेपाल अन्धोपन सर्वेक्षणको तथ्याङ्कअनुसार जलविन्दुलाई अन्धोपनको तेस्रो प्रमुख कारण मानिन्छ । औसतमा ४० वर्षको उमेरबाट देखिने यो रोग वंशाणुगत एवम अन्य कारणबाट हुने गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जलविन्दुको कुनै पूर्व लक्षण नदेखिने भएकाले यो रोगले आँखाको दृष्टिमा निकै क्षति पुर्‍याएपछि मात्र रोगका बारेमा थाहा पाउने गरेका अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले जानकारी दिनुभयो । नेपाल आँखा अस्पतालमा वार्षिक झण्डै चार हजार सात सय जलविन्दुका रोगी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

जलविन्दुको रोकथाम, उपचार, औषधि, शल्यक्रिया र लेजर थेरापीद्वारा गर्न सकिने चिकित्सकहरु बताउँछन् । केही वर्षदेखि अस्पतालले प्रत्येक तीन/तीन महीनाको फरकमा महीनाको अन्तिम शनिबार जलविन्दुका बिरामी र जलविन्दु रोग विशेषज्ञबीच अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत घलेले बताउनुभयो ।