विदेश मोह त्याग्दै युवा

विदेश मोह त्याग्दै युवा

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १, २०७५

अध्ययनका लागि विदेसिएका अधिकांश युवाको चाहना हुन्छ– उतै सेटलमेन्ट हुने । 
तर, कास्कीको अन्नपूर्ण गाउँपालिका–११, मेलाचेका २८ वर्षीय राहुल क्षेत्री यसका अपवाद हुनुहुन्छ । उहाँ अमेरिकामा मेकानिकल इन्जिनियरको पाँच वर्षे पढाइ सकेर नेपाल फर्किनुभएको हो । उहाँले घान्द्रुक–घोरेपानी पदमार्ग अन्तर्गतको टाढापानीमा होटेल पानोरमा पोइन्ट एण्ड रेस्टुरेन्ट सञ्चालन गर्नुभएको छ । 
स्वदेशकै सम्भावनालाई उपयोग गर्ने सोचले नेपाल फर्किएको उहाँ बताउनुहुन्छ । 
विदेशमा गरेजस्तै श्रम गरे स्वदेशमै राम्रोसँग जीवनयापन गर्न सकिने उहाँको भनाइ छ । ‘विदेशमा जति दुःख गरे पनि त्यहाँको कमाइले खान र बस्न मात्रै ठिक्क हुने गरेको देखेँ,’ उहाँले भन्नुभयो, ‘त्यसैले स्वदेश फर्केर यही काम गर्ने योजना बनाएँ । र, होटल व्यवसायमा लगानी गरेँ ।’ 
पदमार्गका होटल तथा रेस्टुरेन्टमा सम्भावना देखेपछि लगानी गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले होटेलमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । 
पछिल्लो समयमा पदयात्रामा आन्तरिक पर्यटनको आकर्षण बढेकाले होटेलमा बाह्रै महिना पर्यटक भरिने उहाँले बताउनुभयो । ‘पदयात्राको मुख्य याममा मागअनुसार पर्यटकलाई कोठा पुर्याउनै सकिँदैन,’ उहाँले भन्नुभयो । 
उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, पछिल्लो समय अध्ययनका लागि विदेशिएका युवामा विदेशको मोह हट्न थालेको छ । उनीहरू स्वदेशमा फर्केर विभिन्न व्यवसायमा लगानी गर्न थालेका छन् । विदेशबाट फर्केका कतिपयले होटल व्यवसायमा पनि लगानी गरेका छन् । पदमार्गका होटल तथा रेस्टुरेन्टमा राम्रो मुनाफा भएकाले यसतर्फ आकर्षण बढेको व्यवसायी बताउँछन् । 
पदयात्रा पर्यटनका क्षेत्रमा काम गर्दै आएको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेल विभिन्न कार्यक्रमका लागि विदेश गएकाहरू स्वदेशमै फर्केर त्यहाँको अनुभव उपयोग गर्न थालेको बताउनुहुन्छ । 
पछिल्लो समय पदयात्रा पर्यटन क्षेत्रमा युवाको आकर्षण बढेकाले यसलाई आयआर्जनको माध्यम बनाउन सरकारले पहल गर्नुपर्ने उहाँको माग छ । 
पदमार्गमा होटल थपिँदै 
पछिल्लो समयमा पदमार्गका विभिन्न स्थानमा होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढ्दो छ । सोही पदयात्रा मार्गकै बनठाँटी हिलमा सनराइज लज सञ्चालन गरिएको छ । लजकी सञ्चालक प्रियंका गुरुङ पनि पछिल्लो समय पदयात्रामा आन्तरिक पर्यटकको आकर्षण बढेको बताउनुहुन्छ । ‘त्यसकारण पनि पदयात्रा मार्गका विभिन्न स्थानमा होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढेको हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘रोजगारीको खोजीमा विदेशिने युवाका लागि यहीँ नै धैरै सम्भावना छ ।’ सरकारले युवालाई स्वदेशमा नै आकर्षित गर्ने वातावरण तयार गर्नुपर्ने उहाँको जोड छ । 
रासस