बैतडीका पाँच स्थानीय तह विद्युतविहिन

बैतडीका पाँच स्थानीय तह विद्युतविहिन

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २, २०७५

जिल्लाका पाँच स्थानीय तहमा अझै विद्युत सेवा पुगेको छैन । यहाँका पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा विद्युत् विस्तार हुन नसकेको हो । 
विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । यस क्षेत्रका कार्यालयको कामकाज प्रभावित बनेको छ । सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले विद्युत नहुँदा कार्यालयको कार्यसम्पादनमा समस्या खेप्नुपरेको बताउनुभयो । ‘सोलारको भरमा कार्यालयको काम गर्नुपरेको छ,’ उहाँले भन्नुभयो, ‘यसले कार्यालयको काम प्रभावित बनेको छ ।’ 
यस्तै दुखेसो पोख्छन्, पुरचौँडी नगरपालिकास्थित कार्यालयका कर्मचारी । पुरचौँडीका स्वास्थ्य संयोजक विनोदकुमार कुँवर विद्युत् सेवा नहुँदा स्वास्थ्य सेवासमेत प्रभावित भएको बताउनुहुन्छ । 
विद्युत सेवा नहुँदा सञ्चार सेवाबाट बिमुख भएको यहाँका स्थानीय बताउँछन् । यस क्षेत्रमा नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ । घाम नलागे टेलिफोन सेवा अवरुद्ध हुने स्थानीय बताउँछन् । 
पञ्चेश्वर गाउँपालिका कर्मचारीको पनि उस्तै दुखेसो छ । ‘घाम लागेको बेला मात्रै कम्प्युटर खुल्छ, पानी परेको बेला सेवाग्राहीको काम हुँदैन,’ प्रवक्ता दशरथ मङ्गोलाले भन्नुुभयो । विद्युतीय उपकरणबाटै कामकाज गर्नुपर्ने भएकाले सोलारबाटै धान्न नसक्ने उहाँको भनाइ छ । 
राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार १९१ घरधुरी छन् । तीमध्ये साढे १२ हजारमा मात्रै विद्युत सेवा पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताउनुभएको समाचार राससमा छ ।