सडक मानव मुक्त सहर बनाउने मानव सेवा आश्रमलाई ५० हजार नगद प्रदान

सडक मानव मुक्त सहर बनाउने मानव सेवा आश्रमलाई ५० हजार नगद प्रदान

लोकसंवाद संवाददाता  |  समाज  |  असार १९, २०७६

बागलुङ । सुगङ्गा स्मृति कोषले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ मानवसेवाआश्रम बागलुङलाई प्रदान गरेको छ ।

२०७६ असार १८ गते बुधवार यहाँ आयोजित पुरस्कार समारोहमा जिल्ला मुख्य न्यायाधीश प्रकाशप्रसाद पण्डितले आश्रमका संयोजक सुमिरा लामालाई रु ५० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

सहारा विहीन भई सडकमा पुगेका नागरिकलाई आश्रय दिएर उच्च मानवीय सेवा गरेबापत आश्रमलाई पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहणपछि बोल्दै आश्रमका संयोजक लामाले पुरस्कारले कार्य क्षेत्रमा सक्रिय हुन झ्न उत्प्रेरणा थपेको प्रतिक्रिया दिनुभयो । 'जिल्लामा स्थापित बनेको पुरस्कार आश्रमले पाएको छ, हामी उत्साहित छौँ'  लामाले भन्नुभयो, 'आश्रम सञ्चालन र व्यवस्थापनमा यसबाट ठुलो सघाउ पुग्नेछ ।' मुख्य न्यायाधीश पण्डितले विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्‍याउने व्यक्ति/ संस्थालाई पुरस्कृत गर्ने गरेकामा कोषको प्रशंसा गर्नुभयो ।

कोषले हरेक दुई वर्षमा ‘सुङ्गा पुरस्कार’ र ‘सुगङ्गा सम्मान’ प्रदान गर्दै आएको छ । यो वर्ष ‘सगङ्गा सम्मान’ पनि आश्रमलाई नै प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । दिन दुःखी र बेसहाराको जीवनयापनमा थोरै भए पनि राहत मिलोस् भनेर आश्रमलाई पुरस्कृत तथा सम्मानित गरिएको उहाँको भनाइ छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् ।

मनोरोग, अपाङ्गता र गरिबीजस्ता कारणले सहाराबिहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ ।

बागलुङलाई सडक मानव मुक्त सहर बनाउने आश्रमको लक्ष्य छ । बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा विसं २०६५ मा कोष स्थापना गर्नुभएको थियो । समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई पुरस्कार र सम्मान प्रदान गर्ने गरिएको कोषका संस्थापक/संरक्षक खड्काले जानाकारी दिनु भएकाे छ ।