सिकलसेलको लक्षण देखा परेका ५३ जनाको उपचार खर्च  उपमहानगरले व्यहोर्ने !

सिकलसेलको लक्षण देखा परेका ५३ जनाको उपचार खर्च  उपमहानगरले व्यहोर्ने !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १९, २०७६

दाङ । घोराही उपमहानगरपालिकाका तीन स्थानमा गरिएको रगत परीक्षणबाट ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखापरेकाे छ ।

२०७६ असार १२, १५ र १६ गते वडा नं– २ को रामपुर, वडा नं– ७ को सौडियार र वडा नं– १० को नारायणपुरमा ३४३ जनामा गरिएको परीक्षणमा ५३ जनामा सिकलसेल एनिमियाको लक्षण देखिएको हो ।

रामपुर स्वास्थ्य प्रर्वद्धन केन्द्रमा ५५ जनाको रगत जाँच गर्दा ८ महिला र चार पुरुष गरी १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्यचौकी सौडियारमा १३१ जनाको रगत परीक्षण गर्दा १४ महिला र एक पुरुषमा सिकलसेलको लक्षण देखिएको छ ।

वडा नं– १० को स्वास्थ्यचौकी नारायणपुरमा १५७ जनाको रगत जाँच गर्दा १९ महिला र सात पुरुष गरी २६ मा सिकलसेलको लक्षण देखिएको संयोजक घर्तीको भनाइ रहेकाे छ । सिकलसेलको लक्षण पुरुष भन्दा धेरै महिलामा देखिएको छ । महिलाको सङ्ख्या ४१ र पुरुषको सङ्ख्या १२ रहेको छ ।

त्यसमा पनि २० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिमा सिकलसेलको लक्षण देखापरेको छ । घोराही उपमहानगर स्वास्थ्य शाखाले प्रारम्भिक जाँच गरिएको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा ‘इलेक्ट्रो प्रोसेस’ जाँचका लागि सिफारीश गरिने संयोजक घर्तीले जानकारी दिनुभयो । बिरामीको उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने भएको समाचार राससमा  छ ।