अदुवाको मूल्य बढेपछि कृषक हर्षित

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २, २०७५

इलामको फाकफोकथुम गाउँपालिका–२, साप्तिनका खेमप्रसाद ढुंगाना अदुवाको मूल्य बढेपछि उत्साहित हुनुभएको छ । उहाँले यस वर्ष अदुवा बेचेर एक लाख रूपैयाँ आम्दानी गर्नुभयो । ‘पहिले बीउ तथा मलको समेत मूल्य उठ्दैनथ्यो । तर, यसपालि अदुवाबाट राम्रो आम्दानी भयो,’ उहाँले भन्नुभयो, ‘गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।’ 
अर्का स्थानीय खडानन्द ढुंगानाले अदुवाबाट एक लाख ५० हजार रूपैयाँ आम्दानी गर्नुभयो । ‘अदुवाबाट यति धेरै आम्दानी भएको पहिलो पटक हो,’ उहाँले भन्नुभयो, ‘यसपाली अदुवाको राम्रो मूल्य पाइएकाले कृषकमा आशा पलाएको छ ।’ 
उहाँहरू मात्र होइन, अदुवाको मूल्य बढेपछि किसानहरू उत्साहित छन् । गत वर्षको तुलनामा यसपटक अदुवा प्रतिमन (४० किलोको एक मन) दुई हजार ५०० देखि तीन हजार रूपैयाँसम्म पुगेको छ । उत्पादनको सुरूमा प्रतिमन एक हजार ५०० देखि दुई हजार रूपैयाँसम्म पुगेको थियो । 
अदुवामा रोग नलागेकाले यस पटक उत्पादनसमेत बढेको कृषक बताउँछन् । ‘विगतमा पात पहँेलिने, अदुवा कुहिने लगायत समस्या देखिन्थ्यो । तर, यो वर्ष त्यस्तो समस्या देखिएन,’ खेमप्रसादले भन्नुभयो । 
बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको बताउनुभयो । ‘अदुवाको राम्रो मूल्य पाएपछि गाउँगाउँबाट किसानहरू अदुवा बेच्न ल्याइरहनुभएको छ,’ उहाँले भन्नुभयो । 
यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । मौसममा आठ ट्रकसम्म अदुवा संकलन गरेर बिक्री गर्ने गरेका आमचोकका इन्द्रप्रसाद अधिकारीले पनि यसपटक अदुवाको मूल्य उच्च भएको बताउनुभयो । यहाँको अदुवा भारतीय बजारमा निकासी हुने गरेको छ । 
मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा खरिद बिक्री भइरहेको छ । 
जिल्लाका ग्रामीण भेगमा अधिकांश कृषक अदुवा खेती गर्दै आएका छन् । कृषकले यसकै आम्दानीबाट घर खर्च चलाउने, छोराछोरी पढाउने र अन्य आर्थिक कारोवार गरिरहेका छन् । 
इलाममा तीन हजार ७५ हेक्टर जमीनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।