एकदिवसीय विश्वकप क्रिकेट : बाहिरियो पाकिस्तान

एकदिवसीय विश्वकप क्रिकेट : बाहिरियो पाकिस्तान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १९, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सेमिफाइनलका चारै टिमको टुंगो लागिसकेको छ । यसरी सेमिफाइनलमा पुग्ने टिम हुन्, अस्ट्रेलिया, भारत, इग्ल्याण्ड र न्युजिल्याण्ड । 

अंकतालिकामा ८ खेल खेलेर सबैभन्दा शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ । एक खेल खेल्न बाँकी रहेको अस्ट्रेलियको १४ अंक छ । यस्तै, समान खेल खेलेको भारत १३ अंकका साथ दोस्रो स्थानमा छ । 

हिजो भएको इग्ल्याण्ड र न्युजिल्याण्डबीच भएको खेलमा इग्ल्याण्डले जित हात पारेर १२ अंक पुर्याउँदा अंकतालिकामा तेस्रो स्थान कब्जा गरेको छ । 

चौथो स्थानको लागि पाकिस्तानले आफ्नो नवौ खेलमा बंगलादेशविरुद्ध जितेर न्युजिल्याण्डका समान ११ अंक प्ुर्याए पनि रनरेटका आधारमा भने पाकिस्तानले न्युजिल्याण्डलाई उछिन्ने कुनै सम्भावना नै छैन । 

किनकि न्युजिल्याण्डको रनरेट ०.१७५ छ । पाकिस्तानको हालसम्म ९ अंक रहेको छ । उसले बंगलादेशसँगको खेलमा जित हासिल गरेर ११ अंक पुर्याए पनि रनरेटले गर्दा भने उसले घर फर्कनुपर्ने बाध्यता छ । हालसम्म पाकिस्तानको रनरेट -०.७९२ रहेको छ । उसले न्युजिल्याण्डभन्दा माथि रनरेट पुर्याउन बंगलादेशलाई झण्डै असम्भव मार्जिनले हराउनुपर्ने हुन्छ । 

जस्तो : पाकिस्तानले पहिले ब्याटिङ गरेर ३५० रनको स्कोर खडा गर्यो भने उसले बंगलादेशलाई ३९ रनमै अलआउट गर्नुपर्ने हुन्छ । यसैगरी पाकिस्तानले पहिले ब्याटिङ गरेर ४०० रनको स्कोर खडा गर्यो भने उसले बंगलादेशलाई ८४ रनमै अलआउट गर्नुपर्ने हुन्छ । र, पाकिस्तानले पहिले ब्याटिङ गरेर असम्भव मानिने ४५० रनको स्कोर खडा गर्यो भने उसले बंगलादेशलाई १२९ रनमै अलआउट गर्नुपर्ने हुन्छ । क्रिकेटको इतिहासमा आजसम्म यस्तो घटना भएको छैन । 

र, अर्काेतिर कथमकदाचित पाकिस्तानले टस हारेर बंगलादेशले पहिले ब्याटिङ रोज्यो भने खेलको पहिलो बल नफालिकनै पाकिस्तान स्वदेश फिर्ताको टिकट पक्का हुन्छ । 

यी टिम भिड्न सक्छन् सेमिफाइनलमा 

अंकतालिकामा १४ अंकका साथ अस्ट्रेलिया शीर्षमा छ । हुनत उसको राउन्ड रोबिन चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग हुन बाँकी छ । अस्ट्रेलियाले यो गेम पनि जितेको खण्डमा १६ अंकका साथ अंकतालिमामा शीर्ष स्थानमै कायम रहनेछ । यसो भएको खण्डमा सेमिफाइलनमा उसको भिडन्त आफ्नै महादेशको न्युजिल्याण्डसँग हुनेछ । 

तर, यदि अस्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भयो भने र भारतले आफ्नो अन्तिम खेल श्रीलंकासँग जितेको खण्डमा भारत १५ अंकका साथ शीर्ष स्थानमा उक्लिनेछ । यसो भएको खण्डमा सेमिफाइनलमा राउन्ड रोबिन चरणमा भिड्न नपाएका भारत र न्युजिल्याण्डको मुकाबिला हुनेछ । र, दोस्रो सेमिफाइनल अस्ट्रेलिया र इग्ल्याण्डबीच हुनेछ । 

र, भारतले पनि श्रीलंकासँग पराजय बेहोरेको खण्डमा अंकतालिकामा दोस्रो स्थानमै रहनेछ । र, उसले सेमिफाइनलमा इग्ल्याण्डसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । राउन्ड रोबिन चरणमा एक खेल मात्रै पराजय भोगेको भारत जुनसुकै हालतमा पनि शीर्ष स्थानमा उक्लिने प्रयास गर्नेछ । किनकि राउन्ड रोबिन चरणमा उसले इग्ल्याण्डसँग पराजय बेहोर्नुपरेको थियो । त्यसकारण ऊ सेमिफाइनलमा इग्ल्याण्डसँग भिड्न नचाहने मनस्थितिमा छ । 

सम्भावित सेमिफाइनल भिडन्त 

१. अस्ट्रेलियाविरुद्ध न्युजिल्याण्ड 
२. भारतविरुद्ध न्युजिल्याण्ड 
३. भारतविरुद्ध इग्ल्याण्ड 
४. अस्ट्रेलियाविरुद्ध इग्ल्याण्ड 

स्मरण रहोस्, अंकतालिकाको बनोट अनुसार सेमिफाइलनमा अस्ट्रेलिया र भारत तथा इग्ल्याण्ड र न्युजिल्याण्डको भेट हुने छैन ।