सहकारीबाट आत्मनिर्भर बन्दै महिला

सहकारीबाट आत्मनिर्भर बन्दै महिला

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ३, २०७५



रामपुर नगरपालिका–५, सुन्दरटोलकी पार्वती न्यौपानेलाई केही समयअघिसम्म घरखर्च चलाउन हम्मेहम्मे थियो । आम्दानीको स्रोत नभएपछि उहाँले तरकारी खेती र कुखुरापालन गर्ने सोच बनाउनुभयो । तर, यसका लागि उहाँसँग लगानी थिएन । उहाँले आफन्त र साथीभाइसँग ऋणका लागि गुहार्नुभयो । तर, कसैले पत्याएनन् । अन्ततः अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उहाँका लागि सहारा बनिदियो । 
सहकारीबाट बिनाधितो ऋण पाएपछि उहाँले अहिले तरकारी खेती र कुखुरापालन व्यवसाय गरिरहनुभएको छ । ‘सहकारीबाट ऋण लिएर सुरु गरेको व्यवसाय अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । गरीब तथा बेसहारा किसानका लागि सहकारी बरदान नै सावित भएको छ,’ उहाँले भन्नुभयो । 
उहाँले करीब सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र कुखुरापालन व्यवसाय गरिरहनुभएको छ । अहिले यस व्यवसायबाट वर्षमा चार लाख रूपैयाँ आम्दानी गर्ने उहाँले बताउनुभयो । 
स्थानीय टीकादेवी भट्टराईको पीडा पनि उस्तै छ । साथीभाइ तथा आफन्तबाट ऋण सापटी नपाएपछि उहाँले पनि सहकारीबाट ऋण लिएर तरकारी खेती गरिरहनुभएको छ । भट्टराईले पाँच रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाउनुभएको छ । तरकारी खेतीबाट एक सिजनमा तीन लाख रूपैयाँ आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । 
उहाँले भन्नुभयो, ‘सुरुमा ऋण पाउन धेरै जनासँग हात जोडँें । रातदिन भौँतारिएँ । तर, कसैले दिएनन् । घरनजिकैको सहकारीमा गएपछि सजिल ऋण पाइयो ।’ सहकारी आफूजस्तै मानिसका लागि जीवन जिउने आधार बनेको उहाँको भनाइ छ । 
सहकारीबाट ऋण लिएर व्यवसाय गर्ने अर्की महिला हुनुहुन्छ, रामपुर–५ सुन्दरटोल बस्ने लक्ष्मी राना । उहाँले सहकारीबाट लाख रूपैयाँ ऋण लिएर भैंसी र गाईपालन फार्म सञ्चालन गर्नुभएको छ । उहाँको फार्ममा उन्नत जातका ६ भैँसी र दुई गाई छन् । ‘अहिले दैनिक ३५ लिटर दूध बेचेर गरेको छु । यसबाट मासिक ४५ हजार आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो । 
यी त प्रतिनिधि पात्र मात्रै हुन्, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर धेरै महिला आत्मनिर्भर बनेका छन् । सहकारीमा अहिले नौ हजार ४ सय १३ जना शेयर सदस्य छन् । २०६४ सालमा सुरु भएको लघुवित्त कार्यक्रममा छ हजार चार सय ८८ महिला सदस्य आबद्ध छन् । हाल सहकारीले दैनिक ७२ करोड रूपैयाँ बराबरको कारोबार गरिरहेको छ । 
सहकारीले बिना धितो एक लाख ५० हजार रूपैयाँसम्म  ऋण प्रवाह गर्छ । त्योभन्दा माथि परियोजना हेरेर धितामो ९ लाख रूपैयाँसम्म ऋण प्रवाह गर्दै आइरहेको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । 
सहकारीले नाफामुखी नभई बिशुद्ध जनताको हितमा काम गरिरहेको अध्यक्ष तीर्थप्रसाद पंगेनी बताउनुहुन्छ । ‘संस्थाले लगानी गरेका व्यवसायलाई व्यावसायिक बनाइरहेको छ,’ पंगेनीले भन्नुभयो । 
सहकारीले सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन थालेपछि ग्रामीण भेगका महिला आयमूलक पेशा तथा व्यवसायमा लागेको राससमा सुशीला रेग्मीले खबर लेखेकी छन् ।