किन छोयो बेलायतले मेरो मन !

किन छोयो बेलायतले मेरो मन !

प्रा.डा.रामप्रसाद पोखरेल  |  साहित्य  |  असार १९, २०७६

प्रा.डा.रामप्रसाद पोखरेल सन् १९६२को जुलाईदेखि १९७१को जुलाईसम्म बेलायतमा उच्च अध्ययन र त्यसपछि रोयल नेशनल ENTअस्पतालमा चार वर्ष र रोयल आइ अस्पतालमा पाँच वर्ष काम गर्दाका अनुभवका आधारमा ‘मलाई बेलायतमा केके कुराले सबैभन्दा बढी प्रभावित पर्‍यो?’ भन्ने विषयमा हालै प्रकाशित पुस्तक आँखाको मणिबाट  यो आलेख लिएका छौ ।   

 समयनिष्ठता

जस्तो कार्यक्रम तय गरिएको भए पनि समयमा नै सुरु हुने । कुनै डाक्तर अथवा निर्देशकले कुनै समय तोकिएको छ भने सोही समयमा पुग्नु अनिवार्य छ । समय निकै मूल्य वान छ, र सबैले यसको पालना गर्छन् । कहिलेकाहीँ अपरिहार्य कुनै कारण आइपर्‍यो भने समयमा नै सूचना गर्नु जरुरी हुन्छ । समयको मूल्य उच्च छ ।

कामको समयमा कुरो काट्ने बानी छैन

सबै आआफ्नै काममा व्यस्त रहन्छन् । कामको बेला कुनै कुनै अर्को व्यक्तिलाई प्रवेश दिँदैनन् । कसैलाई भेट्न वा कुराकानी गर्नु छ भने पहिल्यै समय लिएर मात्र यसो गर्नु पर्ने हुन्छ । कामको बेलामा व्यवधान पुर्‍याउन पाइँदैन । 

प्रदूषण मुक्त हावा

बेलायतमा जताततै बगैँचा, रुख बिरुवा र बच्चाका लागि खेल्ने मैदान हुन्छ । लन्डन सहरभित्र पनि हाइड पार्क, रेजेन्ट पार्कजस्ता ठूलठूला पार्क छन् । मानिसहरू कि पार्कमा हुन्छन्, कि कारमा । जथाभाबी हिँडिरहेका देखिँदैनन् । 

बस, रेल वा यातायातका अन्य साधनमा होहल्ला छैन

व्यस्त समयमा बस र जमिनमुनि गुड्ने रेलमा भिडभाड रहन्छ । तर ती यात्रु कुराकानी गरिरहेका हुँदैनन् । बरु अखबार पढेर बस्छन् । हल्ला सुनियो कतै भन शङ्का गरे हुन्छ, त्यो यात्रु कि भारतीय हो, कि त पाकिस्तानी । बेलायतीहरू खासखुस कुरा गर्ने, अरूको कुरा काट्ने गर्दैनन् बस या रेलको यात्रामा ।

सम्पदाको संरक्षण

बेलायतीहरू आफ्नो अतीतमाथि गर्व गर्छन् । विशिष्ट व्यक्तित्वहरूका पुराना घरहरूलाई संरक्षण गरेर पुरानै स्वरूपमा राखिएको छ । म स्ट्रटफोर्ड अपन एवनस्थित विलियम शेक्सपियरको घर तथा लेक डिस्ट्रिक्टमा रहेको कवि विलियम वर्डस्वर्थको घरमा पनि पुगेँ । ती दुवै घर मौलिक स्वरूपमै संरक्षित छन् । उनीहरू सुतेका खाट र उनीहरूका बस्ने कोठालाई राज्यद्वारा नै संरक्षित गरिएको देख्न पाइन्छ । मान्य मूल्य तिरेर एउटा प्रवेश पास लिएपछि भित्र गएर यी सिवै कुरा हेर्न सकिन्छ । उनीहरूसँग रहेका इतिहासलाई संरक्षण गर्ने कलाले नै यी सम्पदालाई जीवन्त राखेको हो ।

नेपालमा भानुभक्त आचार्य र लक्ष्मीप्रदास देवकोटाजस्ता राष्ट्रिय एकतामा बल दिने विशिष्ट कविलाई नै हामीले बिर्सिसकेका छौँ । उनीहरूका घर र सम्पदा सबै जीर्ण भइसके, र हामीले तिनीहरूको नामोनिसान देख्न सक्न छोड्यौँ । आफ्नो सम्पदा र इतिहासको संरक्षण गर्ने कला हाम्रो रगतमै छैन सायद । यो कुरा हामीले बेलायतीहरूसँग सिक्न जरुरी छ । आफ्नो सम्पदा मात्रै होइन, अरू देशका सम्पदा पनि सङ्कलन गरी संरक्षण गर्छन् बेलायतीहरू ।

भारतमा लेखिएका सांस्कृतिक ग्रन्थहरूलाई उनीहरूले कसरी संरक्षण गरेका छन् भन्ने कुराको उत्कृष्ट नमुना ब्रिटिस म्युजियममा देख्न सकिन्छ । वेद तथा भोजपत्रमा हातले लेखिएका धेरै पुस्तकहरू त्यहाँ आज पनि बडो सुरक्षित तरिकाले राखिएका छन् । तिनलाई भारत झैँ छोडी दिएको भए आगोले अथवा धमिराले खाई सकेका हुने थिए होला आजसम्म । त्यसो भइदिएको भए ती पुस्तकले वर्णन गरेको भारतीय इतिहास र कलाको ज्ञान हामी कहाँबाट पाउँथ्यौँ ?

मैले त्यहाँ प्राचीन नेपाल र हामीले इस्ट इन्डिया कम्पनीसँग गरेको सन्धिसम्बन्धी पुस्तक पनि भेटेँ । छोटकरीमा भन्दा ब्रिटिस म्युजियमभित्र सारा विश्वको इतिहासलाई संरक्षित गरेर राखिएको छ । यस अर्थमा यो सम्पूर्ण विश्वको एक अनुपम सम्पदा हो । इजिप्टका मम्मीहरूसमेतलाई त्यहाँ सम्मानका साथ संरक्षित गरेर राखिएको छ । 

लन्डनमा रहेका सङ्ग्रहालयहरू विश्व सम्पदाको संरक्षण विधिका उत्कृष्ट नमुना हुन् । नेचुरल हिस्ट्री म्युजियम, साइन्स म्युजियम, विक्टोरिया अल्बर्ट म्युजियम र अन्य धेरै सङ्ग्रहालयहरूलाई  व्यवस्थित र जीवसित बनाएर राखिएका छन्, जहाँ कोही पनि, कुनै पनि समयमा जान सक्छ र विश्व इतिहासका धेरै घटना–परिघटनाको झलक नियाल्न सक्छ ।

बेलायतीहरूले आफ्नो देशको सम्पदाको मात्रै संरक्षण गरेनन्,अन्य देशका सम्पदालाई पनि कानुनी अथवा गैरकानुनी रूपमै भए पनि बेलायत भित्र्याए, र कमसे कम तिनीहरूको संरक्षण गरे । ती सबै त्यहाँ छन् र जसले पनि हेर्न–बुझ्न सक्छ । 

भारतको प्रसिद्ध हिरा कोहिनूर महारानीको मुकुटमा छ, र यसको संरक्षण लन्डन टावरका सुरक्षाकर्मीहरूले गरी रहेका छन् । 

मेरो लागि यी सबै कुरा आफ्नो सम्पदालाई कसरी जोगाएर राख्ने तथा इतिहासमा ठुलो योगदान गर्नेहरूको सम्झना र सम्मानलाई कसरी अक्षुण्ण राख्ने कुराको ठुलो ज्ञान हुन पुग्यो । नेपाल निर्माणमा योगदान पुर्‍याउने पृथ्वीनारायण शाह, भानुभक्त आचार्य र लक्ष्मीप्रसाद देवकोटालाई पनि हामीले यसरी नै सम्मान गरेर संरक्षित गर्नुपर्ने हो । 

अध्ययनका लागि उत्कृष्ट स्थान

लन्डनको एउटा विशिष्ट कुरा के भने यहाँ विश्वभरिबाट अध्ययन गर्न आउने मानिसहरूसँग एउटै थलोमा भेट हुन्छ । विभिन्न मानिस भेटिनछन् –जापानी, अरबी, भारतीय, पूर्वी युरोपेली अफ्रिकी, अमेरिकी सबै खाले मान्छे । उनीहरू सबै यहाँ अध्ययन गर्न आउँछन् । यसबाट हामी धेरै संस्कृतिका धेरै मान्छेलाई साथी बनाउने मौका पाउँछौ । सिक्नुका अतिरिक्त विश्वका धेरै मुलुकका मान्छेलाई साथी बनाउन पाइन्छ, जसबाट हाम्रो सम्बन्धको जालो वैश्विक हुन्छ, र हाम्रो सीपले धेरै मुलुकमा बजारमा ठाउँ पाउन सक्छ । 

लन्डनको खाना

लन्डनको खाना खासै मीठो त हुँदैन तर स्वास्थ्यकर हुन्छ । फरक स्वादमा खान मनलागे भारतीय, चिनिया, जापानी, इटालियन र पाकिस्तानीजस्ता विभिन्न देशका खाना खुवाउने होटेलहरू प्रशस्तै छन्, जहाँ विश्वकै उत्कृष्ट खाना पाइन्छ । तर, लन्डनका खाना निकै पौष्टिक हुने हुनाले एकपल्ट खाएपछि खासै भोक लाग्दैन् । 

लन्डन र सम्पूर्ण बेलायतको यातायात व्यवस्था

लन्डनका जमिनमुनि रेलवे स्टेसनहरु छन्, जहाँबाट सहरको कुनै पनि कुनामा सजिलैसंग पुग्न सकिन्छ । लन्डन महानगरभरि रेलका अतिरिक्त उत्कृष्ट सेवा दिने बसहरू पनि छन् । त्यसैले लन्डनभित्र यात्रा गर्दा निजी कारको आवश्यतत खासै पर्दैन । तर, लन्डन बाहिर जानु पर्‍यो भने निजी कार अथवा बसबाट जान सकिन्छ । सम्भवतः लन्डनमा विश्वकै उत्कृष्ट यातायात व्यवस्था छ । सुरक्षित पनि छ र आरामदायी पनि ।

लन्डन पुलिस
लन्डनका प्रहरी अत्यन्त शिष्ट, अनुशासित र पहिरनमा सफा हुन्छन् । पैसा हरायो, अथवा बाटो अलमलियो, या कुनै पनि समस्या प¥यो भने प्रहरीलाई भने हुन्छ । उनीहरू नम्र र सहयोगी हुन्छन् । 

नम्रता एवम् शिष्टता

प्रायः सबैजसो बेलायतीहरु ससम्मान कुरा गर्छन् । काम गर्ने शैली भिन्न भए पनि, कसैलाई यो भएन वा त्यो भएन भन्दैनन् । बरु, ‘तपाईँको ठाउँमा म भएको भए यसो गर्थेँ’ भन्छन्, विनम्रताका साथ । यसको अर्थ तपाईँको काम गराइ अनि गलत छ भन्ने कुरो स्वतः बुझिन्छ ।

रेकर्ड व्यवस्थापन

अक्स्फोर्ड र केम्ब्रिज बेलायतका सबैभन्दा पुराना विश्वविद्यालयहरु हुन र यहाँ विश्वका धेरै विशिष्ट व्यक्तिहरू विद्यार्थी रहेका छन् । तर, यी विश्वविद्यालयहरुले आफ्ना पुराना भन्दा पुराना विद्यार्थीका रेकर्डहरुलाई बडो व्यवस्थित ढङ्गले राखेका छन् । जब म केम्ब्रिज विश्वविद्यालय पुगेँ, मलाई जवाहरलाल नेहरुको हस्तलेखन हेर्न मन लाग्यो । उनीहरूले मलाई तुरुन्तै देखाइ दिए । केम्ब्रिजमा मैले के पनि देखेँ भने, उपल्लो र तल्लो कक्षाका विद्यार्थी सहजै छुट्टिन्छन् । उपल्लो कक्षाका विद्यार्थी माथिल्ला मेचमा बस्दा रहेछन् र तल्लो कक्षाका विद्यार्थी तल्लै मेचमा । 

आम मान्छेको सामान्य ज्ञान

बेलायतीहरूमध्ये कतिपय निकै बुद्धिमान् हुन्छन्, तर, निम्न मध्यम वर्गका बेलायतीमा भने मैले बाहिरी विश्वको ज्ञान सम्बन्धमा स्कटिशहरुको सामान्य ज्ञान अरूको भन्दा राम्रो भएको पाएँ । इउस्टोन ट्युब स्टेसनबाट बाहिर आएपछि मैले नजिकै रहेको एउटा फलफुल बिक्रेतालाई लन्डन विश्वविद्यालय कहाँ छ ? भनेर सोधेँ । उसले उत्तरमा भन्यो– ‘लन्डन विश्वविद्यालय, मैले त सुनेकै छैन ।’ ऊ आफ्नै काममा व्यस्त रहन्थ्यो भन्ने कुराको सङ्केत पनि थियो त्यो । उनकी कुनै निश्चित प्रेमिका थिई र खाजा–नास्ता खाने कुनै निश्चित ठाउँ थियो । अथवा, ऊ बाहिरी विश्वको बारेमा चासो राख्दैनथ्यो । 

एकपल्ट म ग्लासगोमा हुँदा एउटा पबमा जान मन लाग्यो र गएँ । त्यहाँ पुग्दा मलाई नौलो देख्छन् कि क्या हो, सबैले तिमी कहाँबाट आएको हो ? भनेर सोधे । मैले भने–‘म नेपालबाट आएको हो ।’ त्यो सुनेर उनीहरूले भने–‘ए, गोर्खा ? तिमीहरूले हाम्रो राष्ट्र बचाइदियौ, आजका लागि तिमी हाम्रो पाहुना हौ । हामी तिमीलाई पेय किनिदिन्छौं ।’ यस कुराले के बताउँछ भने धेरै देशमा बेलायतको शासन हुँदाताका बेलायती सेनामा धेरैजसो जवानहरू स्कटिश थिए र उनीहरू एसियाका धेरै मुलुकमा पुगेका थिए । त्यसैले अरू बेलायतीले भन्दा उनीहरूले ती देशको भूगोल र इतिहासको बढी जानकारी राख्थे ।

बेलायत र भारतको शिक्षणमा के भिन्नता छ?

हामी भारतमा धेरै प्रतिष्ठित गुरुहरूबाट शिक्षा र तालिमप्राप्त गरेका विद्यार्थी हौँ । भारतका शिक्षकहरू विद्वान् छन्, तर त्यहाँ शिक्षक र विद्यार्थीबिच ठुलो खाडल छ । भारतमा कुनै विद्यार्थीले केही कुरा बुझेन भने अथवा केही कुरो स्पष्ट भएन भने ऊ गुरुकहाँ गएर सोध्ने आँट गर्दैन, किनकि गुरु–शिष्यको बिच ठुलो खाडल छ । कुनै बेला गुरुलाई नै कुनै कुरा नआउन सक्छ, तर त्यो कुरा गुरुले स्विकार्दैनन् बरु विद्यार्थीलाई नै उल्टो सोध्छन्–‘यति जाबो कुरो पनि तिमीलाई थाहा छैन?’ तर बेलायतमा, शिक्षकलाई कुनै कुरा आएन भने सोझै मलाई आएन भन्छन् । यसो भन्न कुनै लाज मान्दैनन् । सोझै भन्छन्–‘यो कुरा मलाई अहिले आएन । म पढ्छु अनि भोलि भन्छु है ।’ त्यसैले कुनै पनि कुराको असली ज्ञान पाइन्छ बेलायतमा, तर भारतमा सधैँ नपाइन सक्छ । 

 कामका दिन धेरै, थोरै बिदाका दिन

नेपालमा धेरै बेकारी बिदाहरू हुन्छन् । बेलायतमा सार्वजनिक बिदाका दिन अत्यन्तै थोरै हुन्छन्,र काम गर्ने समय नै बढी हुन्छ । नयाँ वर्ष, क्रिस्टमस र सप्ताहन्तको बिदाबाहेक खासै बिदाका दिन हुँदैनन् । उनीहरूसँग कामलाई पर सार्ने बानी पनि हुँदैन । यस कारण कार्य प्रणाली चुस्त र छरितो पनि बेको छ । 

लन्डनको मौसम

बर्खामा मौसम मनोरम हुन्छ, र साँझ ७ बजेसम्मै घाम देख्न सकिन्छ । तर हिउँदमा भने दिउँसो ३ बजे नै घाम अस्ताइदिन्छ । म त्यहाँ पुगेको पहिलो दिनमै मैले वाइएमसीएमा साँझ ६ बजे बेलुकीको खाना खानको लागि कुपन पाएँ । साँझको पर्खाइमा म आठ बजेसम्म बसेँ । र जब म खाना खानको लागि भान्सामा पुगेँ, त्यो अघि नै कतिखेर बन्द भइसकेको रहेछ । बाहिरको एउटा रेस्टुराँमा गएँ र खाना खाएँ । ब्रेकफास्टको लागि ७ देखि ८ बजे, दिउँसोको खानाका लागि १ देखि २ बजे र साँझको खानाका लागि ६ देखि ७ बजेको समय निर्धारित गरिएको हुन्छ र तोकिएको समयमा पुगिएन भने खाना खान पाइँदैन ।

 १९६२ साललाई लन्डनमा तबसम्मकै सबैभन्दा चिसो साल मानियो । टेम्स नदी पूर्णरुपमा जमेको थियो । धाराको पानी पनि जमेर बरफ बनेको थियो । त्यस साल धेरै ज्येष्ठ नागरिकहरूको जाडोले कठ्याङ्ग्रिएर मरे ।

हिउँदमा लन्डनमा धेरै तुवाँलो लाग्छ र आफू सामुन्ने उभिएको मान्छे पनि चिनिँदैन । अलिअलि घाम लाग्यो भने अधिकांश बेलायतीहरू टाढा कतै घुम्न जान्छन् । सामान्यतः उनीहरू इटाली अर्थावा स्पेन जान्छन् जहाँ घाम लागि रहन्छ,  र छालाको टेनिङ अर्थात् सुकाइ सकेर मात्रै घर फर्कन्छन् । टेनिङ गर्नुलाई उनीहरू धनी अथवा वैभव सम्पन्न हुनुको प्रतीक ठान्छन्, र टेनिङ गरिएको छाला देखाउनुलाई गौरवको विषय ठान्छन् । 

लन्डनमा मद्यपान

आम मानिसहरू मदिरालयमा बियर पिउँछन् । अलि सम्पन्नहरू वाइन खान्छन् । तर स्कच ह्विस्कीको प्रयोग खासै हुँदैन बेलायतमा । यो चाहिँ विशिष्ट पाहुनाहरू आएको बेलामा मात्रै प्रयोग गरिन्छ । नेपालमा जस्तो सधैँ पिउने गर्दैनन् उनीहरू । शिक्षक र विद्यार्थीहरूले प्रायजसो बियर खान्छन् । स्कच ह्विस्की स्कटल्याण्डमा बन्ने भए पनि यो अन्य मुलुकहरूमा उँचो मूल्यमा निर्यात गरिन्छ । स्कटल्याण्डको आम्दानीको महत्त्वपूर्ण स्रोतमध्येको यो एक हो ।बाहिरबाट

कच्चामालको आयात र बेलायतबाट उच्च मूल्यमा तयारी वस्तुको निर्यात

बाहिरबाट सस्तो मूल्यमा कच्चा पदार्थको आयात र देशबाट महँगो मूल्यमा तयारी वस्तुको निर्यात गर्दा देशको अर्थतन्त्रलाई ठुलो फाइदा हुने गर्दछ । बेलायतीहरू त्यस्तै गर्छन् । बेलायतमा बनेका कुनै पनि लुगाफाटा वा वस्तु गुणस्तरीय र टिकाउ हुन्छन् । सिलाइ पनि निकै दिगो हुन्छ । म आज पनि दशक अघि किनेको हेरिम ट्विड ज्याकेट लगाइ रहेको छु । तर अचेल विश्वमै चिनियाँ लुगाको बिगबिगी छ । ती राम्रा र सस्ता पनि छन् । संसारको जुन सुकै मुलुकमा पुगे पनि, बेलायत, युरोपका अन्य ठाउँ र अमेरिका नै पुगे पनि त्यहाँ पाइने सबैजसो सस्ता माल चिनियाँ हुन् । धेरैजसो मानिस लन्डनमा बनेका महँगा वस्तु किन्न पनि सक्दैनन् । 

 बेलायतमा सरसफाइ

अचेल धेरैजसो घरमा व्यवस्थित शौचालय र स्नान घर छन्, जहाँ तातो र चिसो दुवै थरी पानीको व्यवस्था हुन्छ । धेरैजसो बेलायतीहरू दिसा गरिसकेपछि कागजले पुछ्छन् । तर पानीको प्रयोग गर्दैनन् । उनीहरू प्रायजसो राति, बाथटबमा पसेर नुहाउँछन् । यसो गर्दा टबको फोहोर पानी नाकबाट भित्र पस्न पनि सक्छ र साइनसको रोग लाग्न पनि सक्छ । यसैले पनि होला नाक, कान, घाँटीको अस्पतालमा काम गर्दा मैले शरीरको खुला भागको सफाइ गर्ने क्रममा लिइएको नमुनाको परीक्षण गर्दा त्यहाँ ई–कोलाई नाम गरेको ब्याक्टेरिया रहेको पाएँ, जुन दिसा वा पिसाबको नलीमा पाइन्छ ।

निश्चित समयमा नियमित खाइरहने बानी

धेरैजसो बेलायतीहरूको नास्ता, दिउँसोको खाना अथवा रातिको खाना निश्चित समयमा खाने बानी हुन्छ । उनीहरूको खान्कीमा बढी प्रोटिन वा फ्याट हुन्छ र थोरै मात्रै कार्वोहाइट्रेट हुन्छ । त्यसैले हामी एसियालीको जस्तो ठुलो पेट हुँदैन उनीहरूको । प्रायजसो उनीहरू माछा वा चिप्स खान्छन्, सुकुटी वा अण्डा खान्छन्, गाईको फिलाको मासु, भुटेको मासु, पनिर, पाउरोटी र बटर अथवा आलु खान्छन् । भातको चलन खासै छैन र सातामा एक पटक अथवा विशेष पर्वहरूमा खान्छन् । 

बिदा र मनोरञ्जन

धेरैजसो बेलायतीहरू बिदा मनाउन सस्तो र घमाइलो देशमा जाने गर्छन् । सामान्यतः उनीहरू इटाली, स्पेन अथवा फ्रान्सको दक्षिणी भाग जान्छन् र छालाको टेनिङ गरेर फर्कन्छन् । अलि धनी मानी र विशिष्टहरू नर्वे र स्विडेन पनि जान्छन् र बरफमा स्केटिङ  गर्छन् । उत्तरी युरोपमा जीवनस्तर राम्रो छ र सडकहरू पनि गुणस्तरीय छन् । रोडम्याप र गाइड बुकहरू पनि प्रशस्तै पाइन्छन् र एउटा कारमा बसेर निर्धक्क जता पनि घुम्न सकिन्छ । मेरो साथीहरूको समूहमा घुम्दा मैले पनि यसै गरेको थिएँ । मैले तीनपल्ट युरोपको भ्रमण गरेँ । पहिलो, त्यहाँको भाषा जान्ने एक जना फ्रान्सेली डाक्टरसँग, दोस्रो, एक जना पाकिस्तानी डाक्टरसँग र तेस्रो, लन्डनबाट इटालीसम्म बसबाट । मैले इटालीको त कुनाकाप्चासम्म भ्रमण गरेको छु । हामीले पम्पेईको पुरानो भग्नावशेष दरबार हेर्‍यौँ । सहर पनि हेर्‍यौँ, जुन प्राचीन समयमा द्वारिका नगरी डुबेजस्तै गरी पानीमुनि डुबेको थियो । त्यसपछि हामीले रोमाञ्चकारी दृश्यले भरिएको सानो टापुको सहर काप्री पनि हेर्‍यौं । मैले पिसाएको ढल्किएको टावर पनि देखेँ, र मलाई इटालीमा सबैभन्दा सुन्दर चाहिँ केथेड्रल अफ भेटिकन सिटी नै लाग्यो, जसलाई विश्व प्रसिद्ध कलाकार माइकल एन्जेलोले बनाएका थिए । गुम्बामा सबैतिर महँगा रत्न र पत्थरहरू राखेर सुन्दर ढङगले सजाइएको छ, जसमा प्रभु यसुको जीवनवृत्तलाई लेखाइएको छ । भुइँतलामा अहिलेसम्मका सबै पोपहरुका मूर्ती राखिएका छन् । 

बेलायतमा अङगुर बडो महँगो पर्छ तर इटली, स्पेन र दक्षिणी फ्रान्समा साह्रै सस्तो । बिदामा घुम्न जाने सायद सबैभन्दा सुन्दर ठाउँ दक्षिण फ्रान्स, नाइस र मोन्सो हुन तर बार्सिलोनामा हाम्रीले साँढे जुधाइ, सर्कर र स्पेनिसहरूका डर लाग्दा खेल हेर्‍यौँ । हामी चार जना थियौँ –नेपालबाट म र यादव खरेल, सिङगापुरका एक जना चिनियाँ डाक्टर तथा एक जना फ्रान्सेली डाक्टर र हामी सबै लन्डनमा प्रशिक्षार्थी थियौँ । हामी युरोपको ज्ञानको केन्द्र्र भियाना पनि गयौँ । यहाँ त बेलायतीहरू पनि शिक्षा आर्जन गर्न आउँदा रहेछन् । लन्डनको नाक, कान र घाँटीको प्रसिद्ध अस्पताल तिनै मोडेल मकेन्जीले बनाएका थिए, जो वर्षौँअघि भियनामा नाक, कान र घाँटीको अध्यायका लागि आएका थिए । 

व्यवस्थाले चलाएको देश 

कोही गरिब होस् या धनी ठुलो अधिकारी होस् सा सानो, सबै एउटा व्यवस्था अन्तर्गत चल्नुपर्छ । सडकमा गति सीमाको एउटा नियम हुन्छ र तपाईँले नियम अनुरूप सवारी हाँक्नुभएन भने प्रहरीले तपाईँलाई समाउँछ र सजाय गर्छ । तर तपाईँले नियमभित्रै रहेर सवारी हाँक्नु भयो भने प्रहरीको अनुहार देख्नै पर्दैन । बस, रेल अथवा स्कुल सबै सबै समयको नियम अनुसार चल्छन् । देहरादूरनमा फल्ने सर्वोत्कृष्ट चामल त्यहाँ पाइन्छ, विश्वकै सर्वोत्कृष्ट आँप त्यहाँ पुग्छ । दुग्ध उद्योगका अधिकांश उत्पादनका । त्यहाँ डेनमार्कबाट पुग्छन्, र उत्कृष्ट मासु न्युजिल्यान्डबाट समयमै पुग्छ ।