फेरिँदै डोल्पालीको जीवन

फेरिँदै डोल्पालीको जीवन
डोल्पाको दुनै बजार ।

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ३, २०७५


डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै यहाँका जनताको जीवनशैली फेरिन थालेको छ । गत असोज १६ गते जाजरकोट–डोल्पा सडकखण्ड निर्माण सम्पन्न भएसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।सडक खुलेसँगै जीप, ट्याक्टर, मोटरसाइकल लगायतका यातायातका साधन भित्रिन थालेका छन् । जसका कारण ढुवानीका लागि खच्चडमाथिको निर्भरता हट्न थालेको छ । त्रिपुरा सुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटा सडक सुविधाले खच्चडप्रतिको निर्भरता घटेको बताउनुहुन्छ । ‘यसअघि दैनिक उपभोग्य तथा विकास निर्माणका सामग्री खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता थियो, अहिले गाडीबाट ढुवानी गर्न थालिएको छ,’ उहाँले भन्नुभयो । 
उपभोग्य वस्तुको मूल्य घट्यो 
गाडीबाट ढुवानी हुन थालेपछि दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ । यसअघि तीन हजार पाँच सय रूपैयाँसम्म पर्ने ३० किलो चामल अहिले दुई हजार दुई सयमै पाइन थालेको स्थानीय बताउँछन् । 
स्थानीय उत्पादनले बजार पाउँदै 
सडक जोडिएसँगै बजार नपाएर घरमै कुहिँदै आएको जैविक स्याउ, ओखर लगायतका फलफूलले समेत बजार पाएको छ । जसका कारण स्थानीयको आयस्रोत बढेको छ । 
खदाङ–छलगाड रुटमा जिप सञ्चालन  
गत मंसिर ४ गते छलगाड खोलामा पुल उद्घाटन भएसँगै खदाङ–छलगाड रुटमा जिप सञ्चालन गरिएको छ । यसअघि नगरपालिका–५ मा पर्ने खदाङसम्म मात्रै जिप चल्थ्यो । खदाङ–छलगाड रुटमा जिप चलेपछि स्थानीय उत्साहित छन् । 
पर्यटक बढे 
सडक पुगेपछि डोल्पाका त्रिपुरासुन्दरी मन्दिर, शे–फोक्सुन्डो ताल, शे गुम्बा, सुलिगाड झरना लगायत क्षेत्रमा पर्यटक बढेका छन् । जसका कारण त्रिवेणी, खदाङ, त्रिपुराकोट, जुफाल, दुनै लगायतका बजारमा व्यापार व्यवसाय समेत फस्टाएको छ । 
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै यहाँका जनताको दैनिकी सुविधा उन्मुख हुन थालेको बताउनुभएको  खबर राससमा रामचन्द्र न्यौपानेले लेखेका छन् ।