तीन बहिनी, तीनै हरियाणाका मुख्य सचिव

तीन बहिनी, तीनै हरियाणाका मुख्य सचिव

लोकसंवाद संवाददाता  |  समाज  |  असार २०, २०७६

इण्डिएन एडमिनिस्ट्रेसन सर्भिस (आईएएस)को ट्रेनिङका बेला जब केशनी आनन्द अरोडालाई डिप्टी कमिस्नरको काम काजका बारेमा भन्दै गर्दा एक वरिष्ठ अधिकारीले उनलाई हेर्दै भने, ‘तपाईँ यसमा किन यति ध्यान दिइरहनु भएको छ ? अहिले कसैले तपाईँलाई डिप्टी कमिस्नर बनाउन लागेको छैन् ।’  

यसको उत्तर दिँदै उनले वरिष्ठ अधिकारीलाई भनेकी थिइन, ‘तपाईँ चिन्ता नगर्नुस एक दिन म डिप्टी कमिस्नर बन्नेछु ।’ 

उनी थप्छिन, ‘मानिसहरु यस कुरामा बाजि लगाउँथे कि कुनै  महिलाले डिप्टी कमिस्नर वा दोस्र्रो वरियताको कुनै महत्वपूर्ण पद प्राप्त गर्न सक्दैनन् ।’ 

हरियाणा अलग राज्य बनेको २५ वर्षपछि सन् १९८३ ब्याचको आईएएस अधिकारी केशनी आनन्द राज्यको पहिलो महिला डिप्टी कमिस्नर बनिन् । यसै हप्ता उनी राज्यको मुख्य सचिव बनिन् । तर, यो पल उनी र उनका परिवारका लागि भने विशेष रह्यो किनकि केशनी आफ्नो परिवारको तेस्रो बहिनी हुन् जो हरियाणा राज्यको मुख्य सचिव बनेकी थिइन् ।

उनका दुई दिदी मीनाक्षी आनन्द चौधरी(१९९६ ब्याच आईएएस) तथा उर्वशी गुलाटी (१९७५ ब्याच आईएएस) उनी भन्दा पहिला राज्यको मुख्य सचिव भइसकेका थिए । 

आफ्ना तीनै बहिनीको यो सफलताको पुरा श्रेय उनी आफ्ना माता–पिता र खासगरी पिता प्रोफेसर जीसी आनन्दलाई दिन्छिन् । उनि भन्छिन, ‘यो उहाँहरुको सपना थियो । उहाँहरुले घरमा यस्तो वातावरण बनाउनु भयो जसले गर्दा हामीलाई आफ्नो पढाइमा पूरा ध्यान दिने अवसर मिल्यो ।’ 

उनी भन्छिन, ति दिनहरुमा अवस्था त्यति सहज थिएन् । जब उनकी ठूली दिदी मीनाक्षीले १० कक्षा पास गरिन् तब उनका छरछिमेकीले छोरीको बिहे गरिदिनु पर्छ भनेर उनका बुबा–आमा माथि दवाव दिन थाले । तर, उनकी आमाले भनिन् कि प्रतिकुल समयमा पढाई–लेखाइ नै काम आउने हो । 

केशनीको परिवार रावलपिंडी (पाकिस्तान)बाट भारत पाकिस्तान विभाजनको समयमा भारत आएका हुन् । हरियाणा जस्तो लैङ्गिक अनुपातका लागि बदनाम राज्यमा एकै परिवारकी तीन–तीन बहिनी आईएएस बन्नु अनि पछि गएर तीनै बहिनी मुख्य सचिव बन्नु भनेको धेरै कठिन कुरा हो ।

हरियाणामा पछिल्लो केहि वर्षमा लैङ्गिक अनुपातमा केही सुधार भएको छ र राज्य सरकारले पनि ‘बेटी बचाओ, बेटी पढाओ’ जस्ता जागरुकता अभियान पनि चलाएको छ । तर, यति सबै हुँदाँहुँदै पनि महिलाहरुको संख्या पुरुषको तुलनामा धेरै कम छ । 

केशनी भन्छिन, मानिसलाई महिलाहरु मुख्य पदमा बसेको हेर्ने बानी छैन् । उनी थप्छिन, ‘जब म कुनै क्षेत्रको भ्रमणमा जान्थें तब मान्छेलाई लाग्थ्यो डिप्टी कमिश्नर साहबकी श्रीमती आएकी छन् ।’ मलाई स्मरण छ मानिसहरु गाउँको चौतारीमा बसेर सोध्ने गर्थे, ‘के डीसी साहबले आफ्नी छोरीलाई काममा लगाएर राखेका छन् ?’

आफ्नो पहिलो पोस्टिङलाई सम्झिदै केशनी भन्छिन, ‘जब पहिलो चोटी मलाई डिप्टी कमिश्नर बनाइयो तब मलाई भनियो कि यदि मैले राम्रो प्रदर्शन गरिन भने फेरि अन्य कुनै महिला अफिसरलाई यो पद प्राप्त हुने छैन् ।
अर्को वर्ष जब ट्रान्सफर लिस्ट निकालियो, तब मलाई यो देखेर खुसी लाग्यो कि त्यसमा दुई महिलालाई डिप्टी कमिश्नर बनाइएको थियो । केशनी भन्छिन, महिलाले सँधै आफ्नो अधिकारका लागि लडनु पर्दछ ।

उनका अनुसार महिलाहरुले सँधै आफ्नो मातहतका पुरुष अधिकारीहरुसँग भन्नु पर्छ कि उनीहरुले महिलालाई एक अधिकारीका रुपमा हेरुन् । महिला अनि पुरुषको हिसाबले नहेरुन् । केशनी भन्छिन, अहिलेको अवस्थामा सुधार आएको भएपनि अझै धेरै कुरा गर्न बाँकी नै छ । उनका अनुसार मानिसको सोचाई बदलिनु पर्छ । यदि महिलाहरुलाई सही वातावरण मिल्यो भने उनिहरु जुनसुकै उपलब्धि हासिल गर्न सक्छन् 

बिबिसी हिन्दी बाट अनुवाद गरिएकाे यस लेखका लेखक अरविंद छाबड़ा हुन् ।