महेन्द्र र चमेरे गुफाको गुरुयोजनाः  २२ करोड  लागत लाग्ने

महेन्द्र र चमेरे गुफाको गुरुयोजनाः  २२ करोड  लागत लाग्ने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार २१, २०७६

 कास्की । पर्यटकीय नगरी पोखरामा रहेको प्रसिद्ध गन्तव्य महेन्द्र तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्देश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ ।

स्थानीय विन्ध्यवासिनी माविको स्वामित्व तथा संरक्षकत्वमा सञ्चालित दुबै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित विकास गर्न गुरुयोजना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिनुभयो ।

२०७६ असार २० गते शुक्रबार गुरुयोजना सार्वजनिकीरण कार्यक्रममा विद्यालयले विभिन्न योजना समेटिएको गुरुयोजना सार्वजनिक गर्नुका साथै गुरुयोजना कार्यान्वयनस्वरुप प्रारम्भिक रुपमा  ५० लाख विभिन्न योजनामा खर्च गर्ने घोषणा समेत गरेको छ ।

गुरुयोजनामा पर्यटक आकर्षण बढाउन भौतिक निर्माणदेखि आन्तरिक तथा बाह्य व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । गुरुयोजनामा उल्लेख भएका काम सम्पन्न गर्न करीब २२ करोड लाग्ने र गुरुयोजना अनुसार नै कार्य थालनी गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताउनुभयो । गुफाको आम्दानीबाट गर्न सकिने कार्य तत्काल शुरु गरिने र ठूला योजनाका लागि प्रदेश तथा केन्द्रिय सरकारसँग पहल गरिने आचार्यको भनाइ थियो ।

गुरुयोजना सार्वजनिक गर्दै गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले गुफाहरु पोखराका गौरव भएकाले यसको व्यवस्थित विकास गर्न आवश्यक रहेको बताउनुभयो । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पर्यटकनै विकासको आधार भएकाले पर्यटक लक्षित गरेर महेन्द्र गुफाको सौन्दर्य बढाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले पर्यटकको सङ्ख्या बढाउन भए पनि गुफा क्षेत्रको व्यवस्थित विकास हुनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले महेन्द्र र चमेरे गुफाले यस क्षेत्रको शैक्षिक र भौतिक विकासमा ठूलो योगदान दिएकाले पनि यसको व्यवस्थित विकासमा स्थानीय सरकारले चासो दिएको बताउनुभयो । कार्यक्रममा सहभागीले गुरुयोजनामा समेटिएका कामलाई प्राथमिकता दिएर कार्यान्वयन गर्न सुझाव दिनुभएको थियो ।