नवलपरासीमा बँदेल आतंक

नवलपरासीमा बँदेल आतंक

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ४, २०७५

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतंक बढेको छ । वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेको छ । 
नजिकैको जंगलबाट आएका बँदेलले अहिलेसम्म चार जनालाई घाइते बनाइसकेको छ । बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवका अनुसार बँदेल आक्रमणबाट सरावल–१ बस्ने वैजनाथ कामीकी ११ वर्षीया छोरी रीता विक, वडा नं २ स्थित कुटी बस्ने २५ वर्षीय रामप्रसाद महतो, वडा नं १ बस्ने २८ वर्षीय प्रेमनारायण महतो र रूपन्देही, तिलोत्तमा नगरपालिका–११ बस्ने २५ वर्षीय भुवन महतो घाइते भएका छन् । जसमध्ये रिताको अवस्था चिन्ताजनक छ । उहाँको उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको र अन्य तीन जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताउनुभयो ।
बँदेलले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित छन् । जसका कारण दिउँसो एक्लै हिँड्न समेत असहज भएको स्थानीय बताउँछन् । 
बँदेलले हिउँदे बाली समेत नोक्सान गर्ने गरेको स्थानीयले बताएको खबर राससमा छ ।