बुबाको स्मृतिमा २० लाख मूल्य बराबरकाे जग्गा स्वास्थ्य संस्थालाई जग्गादान

बुबाको स्मृतिमा २० लाख मूल्य बराबरकाे जग्गा स्वास्थ्य संस्थालाई जग्गादान

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २१, २०७६

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व. पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गर्नुभएको छ । 

 स्व‍. पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान गर्नुभएको हो । मालपोत कार्यालय बर्दिवासमा साहले दानबकस गरेर स्वास्थ्य चौकीका नाउँमा दिएका जग्गाको जग्गा धनी पुर्जा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले २०७६ असार २० गते शुक्रबार सञ्चारकर्मीबीच सार्वजनिक गर्नुभएकाे  थियाे ।

साविक किसाननगर गाविस–२ को चौलिखा बजारकै सो जग्गा हाल बर्दिवास नगरपालिका–६ नम्बर वडामा पर्छ । जग्गाको अहिलेको चलनचल्तीको मूल्य रु २० लाख पर्ने प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले बताउनुभयो । सो जग्गामा अब स्वास्थ्यचौकी भवन बनाइने नगरपालिकाले जनाएको छ । जनताको सहज स्वास्थ्य सेवासँग जोडेर आफूले स्व. पिताको स्मृतिमा जग्गादान गरेको जग्गादाता साहले बताउनुभएकाे  समाचार छ ।