सेतक चिनी: छुट पुर्जी अभवमा जाजरकोटमै थन्कियाे

सेतक चिनी: छुट पुर्जी अभवमा जाजरकोटमै थन्कियाे

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०७६

 जाजरकोट ।  समयमा निकासी पुर्जी नपाउँदा करीब नौ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको  अवस्थामा छ । प्रति क्विन्टल ६० हजारमा बिक्री हुने करीब एक हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो ।

हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउने आसमा रहेका व्यापारीले अब यस आर्थिक वर्षमा नपाउने निश्चित भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्वीकृत नभएका कारण जिल्लाबाहिर निकासीका लागि व्यापारीले छुट पुर्जी पाउन नसकेका हुन् ।

छुट पुर्जी नपाउँदा लाखौँ लगानी गरेर सेतक चिनी खरीद गरेका व्यापारी चिन्तामा परेका छन् । वर्षातको समयमा सङ्कलित सेतक चिनी कुहिने डर उनीहरुलाई छ । डिभिजन वन कार्यालयले भदौअघि छुट पुर्जी दिन सकिने अवस्था नभएको बताएपछि व्यापारीहरु निराश भएर फर्केका छन् ।

 जिल्लाका विभिन्न जङ्गलमा पाइने सेतक चिनी सङ्कलन तथा निकासी पुर्जीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा गत कार्तिकमै व्यापारीले करीब छ हजार क्विन्टलको अनुमति मागेका थिए । सेतक चिनी पाइने सामुदायिक तथा राष्ट्रिय वनको कार्ययोजना र इआइए नभएपछि डिभिजन वन कार्यालयले सङ्कलन तथा निकासी पुर्जी दिन सकेन ।

बारेकोट गाँउपालिकाले वन ऐन विपरीत ६५ जना व्यापारीबाट रु दुई लाख धरौटी लिएर सङ्कलन पुर्जी दियो । गाँउपालिकाकै अनुमतिका आधारमा व्यापारीले स्थानीय बासिन्दालाई सेतक चिनी सङ्कलन गर्न लगाए । करीब ६ हजार क्विन्टल सेतक चिनी सङ्कलन भएको व्यापारीको भनाइ छ । उक्त सेतक चिनी निकासीका लागि करीब २०० व्यापारीले डिभिजन वन कार्यालयमा निवेदन दिए ।

इआइए गरेका कारण ५०० क्विन्टलसम्मको सङ्कलन तथा निकासी पुर्जी दिने अधिकार डिभिजन वन कार्यालयले पायो । ५०० भन्दा बढीको अनुमति दिन इआइए गर्नुपर्ने प्रावधान छ तर कार्यालयले हालसम्म इआइए गर्न सकेको छैन । एक्सन फर इञ्जिनीयरिङ सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मुल्याङ्कनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो ।

इआइए नगर्दा व्यापारीले हालसम्म सङ्कलन तथा छुट पुर्जी पाउन नसकेका हुन् । यद्यपी व्यापारीले अवैध तरिकाले सङ्कलित सेतक चिनी अवैध तरिकाले नै निकासी गरेका छन् । केही व्यापारीले जाजरकोटबाट छुट पुर्जी नपाउँदा रुकुम र डोल्पाबाट अनुमति लिएर निकासी गरेका छन् भने कतिपयले अवैध तरिकाले नै निकासी गरेको पाइएको छ । सङ्कलित सेतक चिनीले निकासी पुर्जी नपाउँदा गोदाममा कुहिन थालेको छ । छुटपुर्जी नपाउँदा जिल्लाका रिम्ना, कालीमाटी र घाटमा सेतक चिनी अलपत्र अवस्थामा छ ।

व्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटबाट समयमा सङ्कलन तथा छुट पुर्जी दिन नसक्दा सरकारलाई करोडाैँको राजश्व घाटा लागेको छ । व्यापारीले पनि अवैध तरिकाले लुकिचोरी सङ्कलन र निकासी गर्न बाध्य भएका छन् । असोजको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतक चिनी खन्ने गरिन्छ । जमीनमुनी सखर खण्ड जस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकाली सकेपछि पकाएर सुकाउनुपर्छ ।

यसरी तयार पारिएको सयोँ क्विन्टल सेतक चिनी विभिन्न नाकाबाट चिनतर्फ निकास हुने गरेको छ । सेतक चिनी सङ्कलन तथा निकासी पुर्जी लिनलाई कार्यालय धाउन थालेको नौ महीना बितिसक्दा पनि पाउन नसकेको ब्यापारी राम सिंहले बताउनुभयो ।

 कार्यालयले छुट पुर्जी नदिएपछि सेतक चिनी सङ्कलनमा गरेको लाखौँ रुपैयाँ लगानी गरिसकेका डुब्न थालेको उहाँको भनाइ छ । सामुदायिक वनको कार्य योजना स्वीकृति नभएको र वातावरणीय प्रभाव मूल्याङ्कंन नभएका कारण सेतक चिनी लगायतका जडिबुटीको सङ्कलन तथा निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईंले जानकारी दिनुभयो । 

 विभागबाट कार्ययोजना स्वीकृति नहुँदासम्म कुनै प्रकारको पुर्जी दिन नमिल्ने भएकाले व्यापारीले उक्त पुर्जी पाउन नसकेको उनको भनाइ रहेको छ । यति बेला सङ्कलन पुर्जी दिने समय नभएकाले अब भदौमा मात्र दिन सकिने उहाँले बताउनुभयो । व्यापारीले शुरुमा धेरै सेतक चिनी भएको बताएपनि हाल करीब एक हजार ५०० क्विन्टल जति स्टक रहेको बताउनु भएकाे समाचार  राससकाे लागि हेमन्त केसीले लेख्नुभएकाे छ ।