चितवन अदालतमा एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन अदालतमा एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ४, २०७५

जिल्ला अदालतमा दर्ता भएकामध्ये एक तिहाइभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका छन् । चालू आर्थिक वर्षको चालु आवको छ महीनामा परेका एक हजार चार सय ३८ मुद्दामध्ये पाँच सय ६ सम्बन्धविच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढी छ । 

श्रीमान् वा श्रीमती रोजगारीको सिलसिलामा विदेश जाने र फर्केर आएपछि सम्बन्धबिच्छेद गर्ने गरेको भेटिएको छ ।


अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा बढी मात्रामा वैदेशिक रोजगारबाट उत्पन्न समस्या रहेको पाइएको छ । श्रीमान् वा श्रीमती रोजगारीको सिलसिलामा विदेश जाने र फर्केर आएपछि सम्बन्धबिच्छेद गर्ने गरेको भेटिएको उहाँको भनाइ छ । यसबाहेक कक्षा १२ उत्तीर्ण गरेर वैदेशिक प्रयोजनका लागि मात्र वैवाहिक सम्बन्ध कायम गर्ने तर काम भए÷वा नभएपछि सम्बन्धविच्छेद गर्ने परम्पराले पनि सम्बन्धबिच्छेदका मुद्दा बढेको अदालतले जनाएको छ । 
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य इन्दु कोइराला वैवाहिक जीवनमा आइसकेपछि महिलामा पनि बढी महत्वकांक्षा हुने, कलिलो उमेरमै वैवाहिक सम्बन्ध कायम हँुदा परिपक्वता लिन नसक्नेलगायत कारणले सम्बन्धबिच्छेदका मुद्दा बढेको बताउनुहुन्छ । 
नयाँ कानुनमा पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न पाउने अधिकार दिएकाले मुद्दा बढेको उहाँको भनाइ छ । अहिले सम्बन्धबिच्छेदकाका लागि निवेदन दिने पुरुषमध्ये २५ प्रतिशत वास्तविक पीडित रहेको भए पनि अन्य पीडित नभई दोस्रो विवाह गर्न चाहने, परस्त्रीगमनमा लागेका पुरुषका लागि पनि बाटो खुला भएको उहाँले बताउनुभएको समाचार राससमा छ ।