बेँसीसहरमा खरको छाना हटाउने अभियान

बेँसीसहरमा खरको छाना हटाउने अभियान
लमजुङको बेँसीसहर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ४, २०७५

बेँसीसहर नगरपालिका–११, चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमै  बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नुभएका उहाँको सपना यसपालि पूरा भएको छ । 
बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाउनुभएको हो । उहाँलाई बिहीबार ९ फुटको १६ थान तथा ६ फुटको १८ थान जस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि १० हजार रूपैयाँ दिइएको बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । 

नगरपालिका–३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र ६ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै १० हजार रूपैयाँ पनि बुझ्नुभयो । पाण्डे र सार्कीसँगै नगरपालिकाले वितरण गरेको जस्तापाता १२ जनाले लगिसकेको बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिनुभयो । 
विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले यो अभियान चलाएको नगरप्रमुख अर्यालले बताउनुभयो । 
चालू आर्थिक वर्षमा नगरपालिकामा अभियानका लागि २१ लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षसम्म नगरपालिकाका खरका छानो विस्थापित गरिने लक्ष्य रहेको उहाँले बताउनुभयो । 
नगरपालिकाको वडा नं १ मा १५, २ मा सात, ३ मा सात, ४ मा ६, ५ मा सात, ६ मा १८, ९ मा चार, १० मा ३२ र ११ मा २० खरले छाएका घर छने । वडा नं ७ र ८ मा भने यस्ता नभएको खबर राससमा छ ।