क्यान्सर रोगबारे भ्रम उजागर गर्न काठमाडौंमा इम्युनोअंकोलोजी सम्मेलन

क्यान्सर रोगबारे भ्रम उजागर गर्न काठमाडौंमा इम्युनोअंकोलोजी सम्मेलन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २२, २०७६

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय इम्युनोअंकोलोजी सम्मेलन सम्पन्न भएको छ ।

क्यान्सर रोगसम्बन्धी भ्रम उजागर गर्न शुक्रबार राजधानीमा सम्मेलन गरिएको हो । सम्मेलन ‘नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजी’ले आयोजना गरेको हो । 

सम्मेलनमा क्यान्सरमा रहेका भ्रमबारे वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. सुदीप श्रेष्ठले प्रश्न राखेका थिए । नेपाल र भारतका मेडिकल अंकोलोजिस्टहरूले ती प्रश्नको जवाफ दिएका थिए । क्यान्सर रोगबारे विभिन्न भ्रम रहेकाले त्यसलाई चिर्न नेपाल र भारतका मेडिकल अंकोलोजिस्टहरूसँग छलफल गरिएको डा. श्रेष्ठले बताए । 

के हो इम्युनोअंकोलोजी ? 

इम्युनोअंकोलोजी क्यान्सर उपचारको नयाँ प्रविधि हो, यस प्रविधिमा औषधिको प्रयोग गरी शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाई क्यान्सर कोषिकालाई नष्ट गरेर क्यान्सरको उपचार गरिन्छ । 

क्यान्सर समयमा उपचार गरेको खण्डमा पूर्णतया निको हुने र यसको बिरामी वर्षौंसम्म बाँच्न सक्ने डा. भोलाप्रसाद रौनियारले बताए । रौनियारका अनुसार उच्च रक्तचाप, मुटुरोग लगायतका रोगहरूको जीवनभरी नै उपचार गर्नुपर्छ । तर, क्यान्सर लागेको मानिसले समयमा उपचार पाए यो पूर्णतया निको हुन्छ । 

आम मानिसमा क्यान्सर सरुवा रोग भएको भ्रम रहे पनि वास्तविकता यो सरुवा रोग होइन । उनका अनुसार लामो समयसम्म ग्यास्ट्राइटिस समस्या देखिएको खण्डमा पेटको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । ‘लामो समय सिसीमा राखेको अचारको सेवनले पनि क्यान्सर गराउन निम्त्याउन सक्छ ।’ 

सम्मेलनमा सहभागी डा. मदनकुमार उपाध्यायका अनुसार प्रायः वंशाणुगत कारणले क्यान्सर हुन्छ । तर, आधुनिक जीवनशैली र खानपानले यो रोगको विकरालता बढेको छ । ‘नसा गराउने वस्तुले क्यान्सरलाई झनै बढावा दिन्छन्,’ डा. उपाध्यायले भने, ‘गुट्खा, रजनीगन्धा जस्ता निकोटिनयुक्त पदार्थ र वस्तुको सेवनले क्यान्सर हुने सम्भावनामा वृद्धि हुन्छ ।’ 

‘मोबाइल विकिरणले क्यान्सर हुँदैन’ 

सम्मेलनमा भारतबाट आएका क्यान्सररोग विशेषज्ञ डा. पूर्वीश पारिखले मोबाइल विकिरणले क्यान्सर नहुने बताए । जमराको जुस तथा भाङ खाना र योग गर्नाले क्यान्सरपीडितको स्वास्थ्यमा केही फाइदा पुगे पनि यो पूर्णरूपमा निको हुँदैन । ‘क्यान्सररोगीका लागि जमराको जुस र भाङको कुनै विशेष महत्व छैन । तर, सेवन गरियो भने स्वास्थ्यलाई केही राम्रो हुन्छ,’ डा. पारिखले भने, ‘क्यान्सररोग निको हुनका लागि पूर्णरूपमा औषधिको सेवन गर्नुपर्छ ।’