अब खेती नगरिकनै बन्नेछ खाना

अब खेती नगरिकनै बन्नेछ खाना

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  असार २२, २०७६

अब पानी, बिजुली र हावाले भोजन तयार हुनेछ । तपाईंलाई विश्वास नलागे पनि फिनल्याण्डको एउटा कम्पनीले उच्च प्रोटिनयुक्त यस्तो खाद्यपदार्थ निर्माण गर्ने सफलता पाएको छ । 
काठमाडौं । तपाईंलाई विश्वास नलागे पनि भविष्यको भोजन अब भूमिमा होइन, हावामै उत्पादन हुनेछ । वैज्ञानिकले पानी, बिजुली र हावाबाटै भोजन बनाउने सफलता हात पारेका छन् । फिनल्याण्डको एउटा कम्पनीले एउटा यस्तो खाद्यपदार्थ बनाएको छ, जसलाई ‘सोलेन’ नाम दिइएको छ । यो उच्च प्रोटिनयुक्त छ । यसको स्वाद गहुँको आँटाजस्तै छ । यसलाई बनाउन जमिनको आवश्यकता नै पर्दैन । र, पानीको पनि कुनै अपव्यय हुँदैन । 

नयाँ प्रविधिले बनाएको यस खाद्यपदार्थको लागत प्रतिकेजी झण्डै ५ युरो (अर्थात् ६१५ रूपैयाँ) पर्नेछ । फिनल्याण्डको सोलर फुड्स नामक कम्पनीका अनुसार सन् २०२१ देखि यसको व्यावसायिक उत्पादन प्रारम्भ हुनेछ । कम्पनीले यसै वर्ष युरोपीसंघबाट फुड लाइसेन्स लिने योजना बनाएको छ । 

कम्पनीको महŒवाकांक्षी योजनामा मंगल मिसनमा जाने अन्तरिक्ष यात्रीका लागि खाद्यपदार्थ आपूर्ति गर्नु पनि रहेको छ । यसका लागि कम्पनी युरोपियन स्पेस एजेन्सीसँग वार्तालाप गरिरहेको छ । 
कम्पनीले फिनल्याण्डको विटिटी टेक्निकल रिसर्स सेन्टर र लेप्पिनरान्टा युनिभर्सिटी अफ टेक्नोलोजीले गरेको शोधका आधारमा यस खाद्यपदार्थको उत्पादन गर्ने विधि विकसित गरेको छ । ‘सोलेन’ गहुँको आटाजस्तै छ । थ्रिडी प्रिन्टिङ प्रविधिबाट बनाइएको यस खाद्यपदार्थलाई जुनसुकै आकारको खाद्यपदार्थमा रूपान्तरित गर्न सकिन्छ । अथवा यस आटालाई अन्य कुनै खाद्य पदार्थमा मिसाउन सकिन्छ । यसको बनाउने प्रक्रिया ठ्याक्कै बियर बनाउने प्रक्रियाजस्तै छ । 

‘सोलेन’ बनाउनलाई सर्वप्रथम जिवाणुलाई पानीमा राखिन्छ । पानीमा रहेका जिवाणुलाई कार्बनडाइअक्साइड र हाइड्रोजनको खुराक दिइन्छ । यी जिवाणुले कार्बनडाइअक्साइड र हाइड्रोजनको खुराक ग्रहण गरेर प्रोटिन निर्माण गर्छन्, जसलाई बिजुलीको प्रयोगद्वारा पानीबाट बेग्लै गरिन्छ । र, यसरी एकत्रित गरिएको प्रोटिनलाई सुकाएर पाउडर तयार हुन्छ । यो नै ‘सोलेन’ हो । 
कम्पनीका एक प्रमुख अधिकारी पासी वाइनिक्काका अनुसार यो एकदमै नयाँ किसिमको खाद्यपदार्थ हो, जुन हालसम्म बजारमा उपलब्ध सबै खाद्यपदार्थभन्दा एकदमै भिन्न छ । यो निर्माण गर्नको लागि परम्परागत ढंगको कृषिको नै आवश्यकता नै पर्दैन् । 

वाइनिक्काका अनुसार उनको कम्पनीद्वारा निर्मित यो खाद्यपदार्थ विश्वकै सर्वाधिक पर्यावरण अनुकूल खाद्यपदार्थ हो । एक तथ्यांक अनुसार विश्वमा उपभोग भइरहेको तीन चौथाइ क्यालोरीको स्रोत १२ किसिमको वनस्पति र ५ किसिमका प्राणी-प्रजातिबाट प्राप्त हुन्छ । वर्तमान समयमा विश्वभरी एक चौथाइ कार्बनको बढोत्तरी खाद्यपदार्थ उत्पादनका कारणले हुन्छ । संयुक्त राष्ट संघका अनुसार आउँदो २०-३० वर्षमा यो अझै वृद्धि हुनेछ । तर, ‘सोलेन’ उत्पादनमा कुनै किसिमको कार्बन उत्सर्जन हुँदैन । 

वाइनिक्काका अनुसार विश्वको झण्डै आधा भू-भागको उपयोग खेतीजन्य प्रयोगका लागि हुन्छ । ‘सोलेन’ उत्पादनले खेतीमा निर्भरतालाई कम गर्नेछ । ‘सोलेन’ पाउडरको प्रयोग स्वतन्त्र गरिनुका साथै अन्य कुनै खाद्यपदार्थमा मिसाएर पनि गर्न सकिन्छ । यस पाउडरबाट यस्तो फाइबर पनि बनाउन सकिन्छ, जुन हेर्नमा ठ्याक्क ब्रेड अथवा मासुजस्तै हुन्छन् । 

फिनल्याण्डका विटिटी सेन्टरका वैज्ञानिक जुहा पेक्का पिटकानेनका अनुसार भविष्यमा यस प्रविधिको उपयोग मरभूमि तथा सुख्खाग्रस्त क्षेत्रमा व्यापक रूपले गर्न सकिन्छ । उनका अनुसार एनर्जी खपतको दृष्टिकोणले बिजुलीबाट तयार गरिने यो खाद्यपदार्थ तयार गर्नमा प्रकाश संश्लेषणको तुलनामा १० गुणा कम हुन्छ । 

– ‘द गार्जियन’बाट साभार