मुन ल्याण्डिङको पचासौं वार्षिकीमा भारतको चन्द्रयात्रा

मुन ल्याण्डिङको पचासौं वार्षिकीमा भारतको चन्द्रयात्रा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  असार २३, २०७६

काठमाडौं । यो चलिरहेको जुलाई महिनामा मानवले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पूरा भयो । १६ जुलाई १९६९ का दिन अमेरिकाको प्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उडान भरेर २० जुलाई १९६९ का दिन २०ः१७ मिनेट जाँदा चन्द्रमाको ट्रैन्कयुलिटी बेसमा चन्द्रयान इगल ओर्लिएको थियो । चन्द्रयानमा रहेका दुई जना चन्द्रयात्री निल आर्मस्ट्रङ र एल्ड्रिन बजले एकपछि अर्काे गर्दै चन्द्र धरातलमा टेके । २१ जुलाईको एकाबिहानै ०२ः५६ मिनेटको समयमा निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेर विश्व कीर्तिमान कायम गरे । त्यसको १९ मिनेटपछि एल्ड्रिन बजले पनि चन्द्रमामा टेक्ने सौभाग्य पाए । 

यसपछि मानवको चन्द्रयात्राको मार्ग खुल्यो । अमेरिका, रुस, चीन र भारतले चन्द्रमामा आफ्ना यान पठाउने अभियान चलाए । तर, अमेरिकाबाहेक कसैले पनि चन्द्रमामा मानिस ओराल्न सकेको छैन । 

यसैक्रममा आउँदो १५ जुलाईको दिन भारतले आफ्नो दोस्रो चन्द्रयात्राको क्रममा ‘चन्द्रयान-२’ प्रक्षेपित गर्न गइरहेको छ । यसअघि भारतले सन् २००८ मा ‘चन्द्रयान-१’ अभियानअन्तर्गत चन्द्र धरातलभन्दा १०० किमिमाथि कक्षमा आफ्नो यान स्थापित गरेको थियो । तर, ‘चन्द्रयान-२’ अभियानअन्तर्गत भारतले ‘सफ्ट ल्याण्डिङ’मार्फत् चन्द्रमामा ओर्लिने योजना राखेको छ । 

भारतको अन्तरिक्ष एजेन्सी इसरोले ‘चन्द्रयान-२’ अभियानका तस्बिर सार्वजनिक गरकेो छ । झण्डै १००० करोड भारतीय मुद्रा लागत भएको यस मिसनलाई जिएसएलभी एम के-३ रकेटबाट लन्च गरिँदैछ । ३८०० किलोग्राम तौल भएको स्पेस क्राप्ट तीन भागमा बाँडिएको छ- मोड्युल आर्विटर, ल्याण्डर (विक्रम) र रोभर (प्रज्ञान) । रोभर प्रज्ञानले चन्द्र धरातलमा पानी र खनिज पदार्थको खोज गर्नुका साथै अन्य प्रयोग गर्नेछ । 

‘चन्द्रयान-२’ भारतको आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट १५ जुलाईको रात्रि ०२ः५१ मा प्रक्षेपित गरिने इसरोले जनाएको छ । यो यान ६ अथवा ७ सेप्टेम्बरमा चन्द्रमाको दक्षिणी धु्रवमा ल्याण्ड गरिनेछ । अभियान सफल रहेमा भारत चन्द्रमामा ओर्लिने चौथो राष्ट्र बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले मात्रै चन्द्र धरातलमा यान ओराल्ने सफलता पाएका छन् । इजरायलले चन्द्र धरातलमा ओर्लिने प्रयास गरे पनि सफल हुन सकेको छैन । 

इसराेले सार्वजिनक गरेका ‘चन्द्रयान-२’ अभियानका तस्बिर