भारत सेमिफाइनल नखेली पुग्न सक्छ फाइनलमा !

भारत सेमिफाइनल नखेली पुग्न सक्छ फाइनलमा !
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २३, २०७६

काठमाडौं । सेमिफाइनलबाट फाइनल पुग्ने मार्गचित्र के हो ? उत्तर सहज छ– सेमिफाइनल जित्ने । तर, इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भने भारत सेमिफाइनल नै नखेली फाइनल पुग्न सक्ने सम्भावना छ । 

भारतले न्युजिल्याण्डविरुद्ध भोलि (जुलाई ९) म्यानचेस्टरमा प्रतियोगिताको पहिलो सेमिफाइनल खेल्ने तालिका छ । तर, उक्त दिन खेल रद्द हुने सम्भावना छ । मौसमविद्का अनुसार म्यानचेस्टरमा आज (सोमबार) राति र मंगलबार बिहान वर्षा हुने सम्भावना छ । यसो भएको खण्डमा भिजेको पिचका कारण खेल हुन रद्द हुन सक्छ । 

जुलाई ९ मा खेल रद्द भए यसको ‘रिजर्ब डे’ अर्थात् जुलाई १० मा खेल हुनेछ । तर, उक्त दिन पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

यदि जुलाई १० मा पनि वर्षाका कारण खेल रद्द भए भारत सिधै फाइनलमा पुग्नेछ । आइसिसीको नियम अनुसार सेमिफाइनलमा वर्षाका कारण खेल रद्द भए लिग खेलमा अंक बढी हुने टिम नै फाइनल पुग्नेछ । 

चालू प्रतियोगितामा वर्षाका कारण चार खेल रद्द भइसकेका छन् ।