गोदावरीमा होजियारी तालिम

गोदावरीमा होजियारी तालिम

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २३, २०७६

धनगढी । कैलालीको गोदावरी नगरपालिका–११, गौडीमा सञ्चालित होजियारी तालिम सोमबार सम्पन्न भएको छ । 

महिला विकास कार्यक्रमको ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ अभियानअन्तर्गत ३९० घण्टे तालिम सम्पन्न भएको हो ।   

तालिम समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले सीप सिकेर समूहगतरूपमा अघि बढ्न आग्रह गर्नुभयो । समूहमा काम गर्दा व्यावसायिकरूपमा अघि बढ्न सकिने र महिलाको आर्थिक स्थिति मजबुत हुने उहाँकाे विश्वास छ ।  

कार्यक्रममा वडाध्यक्ष शिव बिकले तालिमपछि सहभागीहरू रोजगार बन्ने अपेक्षा लिएको बताउनुभयो । 

ओसिओआइएनका अध्यक्ष सुरत रावतले तालिमले महिला दिदीबहिनीको आयस्तर उकास्नुका साथै उहाँहरूलाई आत्मनिर्भर हुन प्रेरित गरेको बताउनुभयो । 

सामाजिक कल्याण सहायता संगठनको आयोजना तथा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । 

गत वैशाख २१ गते सुरु भएको तालिममा वडा नम्बर १०, ११ र १२ का २६ महिला सहभागी रहनुभएको थियो । तालिमको प्रशिक्षण सानु भण्डारीले दिनुभएको थियो ।