रक्सीको कुलतः सामाजिक धब्बा, पारिवारिक कलह

रक्सीको कुलतः सामाजिक धब्बा, पारिवारिक कलह

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  स्वास्थ्य  |  असार २३, २०७६

नेपाल चाडपर्व र रितिरिवाजले भरिपूर्ण भएको देश हो । चाडैपिच्छे खानपिन पनि फरक छन् । यसरी खानपिन तयार गर्दा मौसम र पर्व अनुसारको फरक खाना खाने चलन परम्परादेखि चलिआएको छ । विगतमा निश्चित जात र समुदायमा सबै किसिमको चाडपर्वमा जाँड रक्सी नभई नहुने वस्तुको रूपमा लिइन्थ्यो । तर, आजभोलि प्रायःजसो सबैले आयोजना गरेको पार्टीमा जाँड–रक्सी सेवन धेरै हुने गरेको देखिएको छ । कुनै पनि विवाह, ब्रतवन्ध जस्ता कार्यक्रममा त यो नभई नहुने पेय पदार्थका रूपमा विकास भइसकेको छ । सुरुसुरुमा रक्सीजन्य पदार्थ साथीभाइको करकाप अथवा देखासेखीबाट सुरु हुन्छ । बिस्तारै दिनदिनै सेवन गर्नुपर्ने अवस्था आउँछ । मानिसले दैनिक पिउन थालेपछि रक्सीको लत बस्छ । जब मानिसमा यसको लत बस्छ तब योबन्दै जान्छ । सामान्यतया लत बसेको थाहा पाउँदा नै यो समस्या जटिल बनिसकेको हुन्छ । 

रक्सीजन्य पदार्थको लतबारे थाहा पाउने तरिकाः

१‍. रक्सीको लत बसेका मानिस सधैं रक्सी मात्र खान मन पराउने हुन्छ । उनीहरूमा हरेक समय रक्सी कहाँबाट ल्याउने र कसरी पैसाको जोरजाम गर्ने भन्ने विचार मात्रै आइरहन्छ । 

२.  रक्सी सेवन गर्ने मानिसमा विस्तारै रक्सीको मात्रा पनि बढ्दै जान्छ । पहिला सानो परिमाणमा रक्सी खाँदा जति मज्जा आउँछ त्यही मात्राको परिमाणमा त्यति नशा नहुने हुनाले परिमाण बढाउनु पर्ने उसको बाध्यता हुन्छ । 

३. रक्सी सेवन गर्ने मानिसलाई एकदिन आफूले धेरै रक्सी सेवन गरेजस्तो भान हुन्छ । र, उसले रक्सी सेवन गर्न छोड्छ । यो अवस्थामा उसको शरीरमा विभिन्न किसिमका लक्षण देखिन्छन्, जस्तै: पसिना आउने, शरीर तथा हात थरथर काम्ने, राती निन्द्रा नलाग्ने । यस्ता लक्षण बिहानैदेखि देखिन थाल्छन् । र, रक्सी सेवन गरेपछि ती लक्षण आफै हराउँछन् । त्यसकारण  रक्सी सेवन गरेपछि यो समस्या ठिक हुने भएकाले यस्तो लत भएका मानिसले खल्तीमा सानो रक्सीको बोतल बोकेर हिँड्ने गर्छन् । 

रक्सीकै अत्यधिक सेवनले यौन क्रियाकलापमा कमी आउने हुन्छ । तसर्थ यस्ता पुरुष यौन क्रियाकलाप राम्रोसँग संलग्न हुन सक्दैनन् । र, यसको दोष श्रीमतीलाई नै दिन्छन् । यस्ता पुरुषले श्रीमतीलाई ‘अरुसँग सल्केको’ भनी कुटपिट गर्छन् । जसले गर्दा परिवारमा एक किसिमको तनाव सिर्जना हुन्छ र सधैं झगडा र किचलो मात्रै भइराख्ने हुन्छ ।

४.  रक्सी सेवन गर्ने मानिसलाई आफूले खाने परिणामबारे थाहा हुँदैन र आफूले खान नपाएको खण्डमा रिसाउने, झगडा गर्न खोज्ने, आफ्नो पारिवारिक सम्बन्धको मतलब नराख्ने भएर जान्छ ।  

५.  रक्सीको कुलत बसेका मानिसको पहिलो प्राथमिकता रक्सी नै हुने गर्छ । उसलाई आफ्नो काम, व्यवसाय, परिवार कसैको पनि मतलव हुँदैन । जसले गर्दा उसले गरिराखेको काममा पर्याप्त समय दिन सक्दैन । यो अवस्थामा जागिर र व्यवसाय विस्तारै चौपट हुन थाल्छ । उसले आफू असफल हुनुमा परिवारकै अथवा व्यवसायाका साथी–भाइलाई दोष दिन थाल्छ । रक्सी सेवन गरेर कार्यालयको हाकिमसँग पनि झगडा गर्छ । श्रीमती वा श्रीमानसँग पनि सधैं मनमुटाव भइरहने हुन्छ । साथसाथै मादक पदार्थको सेवनले गर्दा सवारी चलाएपछि ट्राफिक पुलिससँग झगडा गर्ने वा ट्राफिक दुुर्घटनामा पर्ने सम्भावना पनि प्रचुर मात्रमा हुन्छ । 

६. रक्सीको सेवन गर्ने मानिसमा विस्तारै पैसाको अभाव हुन थाल्छ । उसले त्यसको परिपूर्ति गर्न चोरी गर्न थाल्छ । यस्ता मानिसले श्रीमतीको गहना, घरको सामानलगायत चोरी गरी बेच्ने गर्छन् । र, आफूले चोरेको होइन भनी झुठ बोल्ने गर्छन् । 

७. रक्सीकै अत्यधिक सेवनले यौन क्रियाकलापमा कमी आउने हुन्छ । तसर्थ यस्ता पुरुष यौन क्रियाकलाप राम्रोसँग संलग्न हुन सक्दैनन् । र, यसको दोष श्रीमतीलाई नै दिन्छन् । यस्ता पुरुषले श्रीमतीलाई ‘अरुसँग सल्केको’ भनी कुटपिट गर्छन् । जसले गर्दा परिवारमा एक किसिमको तनाव सिर्जना हुन्छ र सधैं झगडा र किचलो मात्रै भइराख्ने हुन्छ । रक्सी अत्यधिक सेवनले गर्दा विस्तारै स्मरण शक्तिमा पनि ह्रास आउन थाल्छ । यस्ता मानिस एक दिनअगाडिे गरेको क्रियाकलाप भुल्न थाल्छन् । 

८. रक्सीको लत लागिसकेपछि एकैचोटी छोड्न खोज्दा धेरै मानसिक र शारीरिक लक्षण देखापर्छन् । कुनै–कुुनै मानिसमा भ्रम सिर्जना हुने हुन्छन्, जस्तै: कोही मान्छेको आवाज सुन्ने, सानो–सानो जनावर देख्ने, कसैले मार्न खोजेको छ भनेर विश्वास गर्ने इत्यादि । यी लक्षण बढ्दै गएर कसैमा बेहोस भएर छारे रोगजस्तो ढल्ने हुन्छ र टाउको, हात र खुुट्टामा चोट लाग्ने र जिब्रो टोकेर रगत आउने पनि हुन सक्छ । 

उपचारको विधि:

१.  प्रायःजसो रक्सीको कुलतमा फसेको व्यक्तिले आफूलाई उपचार चाहिएको महसुस नै गर्दैन र डाक्टरकहाँ आउन पनि खोज्दैन । किनभने रक्सीले निम्त्याएको शारीरिक र मानसिक समस्यालाई पहिचान गर्न सकिँदैन । त्यसैले सर्वप्रथम त उसलाई परामर्शको खाँचो हुन्छ । त्यसपछि मात्रै उसलाई उपचारका तयार गर्नुपर्ने हुन्छ ।

२.  उपचारको लागि तयार भइसकेपछि उसलाई अस्पतालमा भर्ना गराएर उपचार गराउनुुपर्छ । जसमा विभिन किसिमको औषधि तथा भिटामिन   ‘बी’ दिइन्छ । यस किसिमको उपचार प्रायःजसो ८/१० दिन लाग्न सक्छ । 

३.  सबैभन्दा जटिल उपचार यसबेला गर्नुपर्ने हुन्छ । एकपल्ट रक्सीको लतमा बसेको मान्छेलाई उपचार गरिसकेपछि केही समय रक्सी नखाई बसे  पनि फेरि रक्सी खान सक्ने सम्भावना हुन्छ । बारम्बार छोड्ने र रक्सी खाने प्रक्रिया दोहोरिरहन्छ । त्यसैले फेरि रक्सी खानुको कारणबारे खोजी गर्नुपर्ने हुन्छ । प्रायःजसो रक्सीको लत बसेको व्यक्तिमा फरक किसिमको व्यक्तित्व हुने गर्छ । यस्ता मानिस आफ्नो गल्तीबाट पाठ नसिक्ने, आफू जान्ने÷सुन्ने भनी घमण्ड गर्ने हुन्छन् । योबाहेक कसैमा डिप्रेसन, आत्तिने वा तनाव झेल्न नसक्ने समस्या पनि भइरहेको हुन्छ । कुलत साथसाथै यी माथिका समस्या पनि देखिएमा त्यसलाई पनि उपचारमा संलग्न गराउनुपर्छ । 

४. रक्सीको कुलतमा लागेको मान्छेको जब रक्सी सेवन गर्न छाड्छ, ऊसँग कुनै राम्रो काम हुँदैन न त कुनै राम्रो शिक्षाको प्रमाणपत्र हुन्छ । टोल छिमेकमा पनि जँड्याहाको बिल्लाले गर्दा राम्रो इज्जत पनि नहुने भएकाले उसलाई सहीरूपमा कुनै काममा (Skill Development Training) संलग्न गराउनुपर्ने हुन्छ, जसले गर्दा ऊ आफ्नो व्यवसायमा सक्षम हुन सकोस् ।