संरक्षण पर्खाइमा सुदूरपश्चिमका ताल

संरक्षण पर्खाइमा सुदूरपश्चिमका ताल
कञ्चनपुरको बेतकोट ताल ।

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ ६, २०७५

संरक्षण नहुँदा सुदूरपश्चिमका ताल लोप हुने अवस्थामा पुगेका छन् । सरकारी बेवास्ताका कारण अधिकांश ताल पुरिने अवस्थामा पुगेका हुन् । 
यसकै उदाहरण हो– डडेलधुराको भित्रि मधेसमा रहेको आलिताल । ताल संरक्षणका लागि स्थानीयस्तरमा समिति त गठन गरेका छन् । तर, स्थानीयसँग बजेट अभाव छ । 
आलिताल गाउँपालिका अगुवा अमर बुढामगर ताल संरक्षणमा सरकारी उदासिनताले नै समस्या भइरहेको बताउनुहुन्छ । अर्का अगुवा भरत खड्काको पनि उस्तै गुनासो छ । ‘आलिताल गाउँपालिकाले ताल संरक्षणमा रणनीतिक योजना मात्रै बनायो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार स्थानीयवासीको पहलमा श्रमदानबाट तालसम्म पुग्ने तीन किलोमिटर बाटो बनेको छ । ताल संरक्षणमा कसैले चासो नदेखाउँदा अहिले आलिताल चारैतिरबाट पुरिन थालेको उहाँले बताउनुभयो । 
आलिताल डडेलधुराको सबैभन्दा ठूलो ताल हो । स्थानीय अगुवा तुलाराम बोहराले आलितालको प्रचारप्रसारमा कमी भएकाले पर्यटक भित्रिन नसकेको गुनासो गर्नुभयो । 

यस्तै अवस्थामा गुज्रिरहेको छ– डडेलधुराकै नाइल ताल । संरक्षण नहुँदा तालको अस्तित्व नै मेटिने बढेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार ताललाई बर्सेनि आउने पहिरोले पुरिरहेको छ ।  
भित्री मधेश क्षेत्रमा पर्ने परशुराम–६ मा रहेको वन्डा तालसमेत हाल सुकिसकेको छ । परशुराम–१ मा पर्ने बोडा तालसमेत सुक्ने अवस्थामा छ । यस्तै बगराकोट गाविसमा पर्ने बगबरकोट ताल पनि पुरिँदै गएको छ । 

डडेलधुरामा–कञ्चनपुरको सीमा क्षेत्रमा रहेका बेतकोट ताल, झिलमिला ताल, डडेलधुरा–डोटी सीमामा पर्ने छतिवन ताल, अछाममा रहेको रामारोशन ताल र बझाङ र दार्चुलाको सिमानामा पर्ने सुर्मासरोवरको आकार घट्न थालेको भन्दै स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । 
सुदूरपश्चिमका चर्चित घोडाघोडी तालदेखि शुक्लाफाँटा आरक्षभित्र रहेको रानी ताल, खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको खप्तड दहलगायत अधिकांश तालतलैया पुरिन थालेको स्थानीयवासी बताउँछन् । डडेलधुरा उद्योग वाणिज्य संघका महासचिव भोजराज भट्टले सुदूरपश्चिममा रहेका मनोरम र रमणीय तालको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सके यहाँका युवा विदेश पलायन हुने अवस्था नआउने बताउनुहुन्छ । 
व्यवस्थितरूपमा स्थानीय तालको संरक्षण गरी पर्यटन विकासमा जोड दिए यहाँका युवाले रोजगारीको अवसर पाउने उहाँको भनाइ छ । 
यस क्षेत्रका ताल सडकबाट १५ मिनेटदेखि तीन घण्टासम्म पैँदल दूरीमा पर्छन् । 
ताल संरक्षणका लागि जिल्ला समन्वय समितिको कार्यालयले कुनै कार्यक्रम नल्याएको जिल्ला समन्वय अधिकारी ज्ञानराज पाण्डेयले बताउनुभएको खबर राससमा छ ।