इन्डोनेसियामा सरकारविरुद्ध मुद्दा

इन्डोनेसियामा सरकारविरुद्ध मुद्दा

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २३, २०७६

इण्डोनेसियाका पर्यावरणविद् र सामाजिक कार्यकर्ताले सरकारविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेका छन् । उनीहरूलाई सरकारी कर्मचारी, व्यापारी र कला क्षेत्रका अगुवाको समर्थन प्राप्त छ । 
काठमाडौं । इण्डोनेसियाको राजधानी जकार्तामा वायु प्रदूषण गम्भीर समस्या बनेको छ । यस वर्षको जुनमा यहाँको वायु प्रदूषण अर्थात् हावाको गुणस्तर नयाँ दिल्ली र बेइजिङ जस्ता सहरको तुलनामा अत्याधिक खस्किएको छ । 

वायु प्रदूषणलाई लिएर राजधानी जर्काताका पर्यावरणविद्ले विभिन्न सामाजिक कार्यकर्तासँग मिलेर सरकारविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेका छन् । 

राजधानी जर्काताका स्थानीय वासिन्दाले २०१८ र २०१९ को वायु प्रदूषणको तुलना गर्दै सामाजिक सञ्जालमा विभिन्न तस्बिर शेयर गरेका छन् । तथ्यांक अनुसार गएको २५ जुनमा जर्काताको वायु प्रदूषण एअर क्वालिटी इण्डेम्स (एक्यूआई) २४० भन्दा माथि पुगेको थियो । सोही दिनमा लन्डनको एक्युआइ १२ तथा सैन फ्रान्सिस्कोको एक्युआइ २६ मात्र रहेको थियो ।

सरकारविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेको संस्था लिगल इन्स्टिट्युटको वकील अयु एजा टियारा भने, ‘हामीले मुद्दा दायर गर्नुको आशय सरकारलाई चेतावनी हो, सरकारले यससम्बन्धी पुराना नीति नियमलाई परिमार्जन गरेर वायु प्रदूषणको समस्या समाधान गर्न ठोस पहल गरोस् ।’ 

सरकारविरुद्ध मुद्दा हाल्ने यस मुहिममा पर्यावरणविद्लाई विभिन्न सामाजिक कार्यकर्ता, सरकारी कर्मचारी, उद्योगी–व्यापारी, खेल तथा कला जगतका व्यक्तिको समर्थन प्राप्त भइरहेको छ । 
सरकार विरुद्धको यो मुद्दा सोझै राष्ट्रपतिविरुद्ध दायर हुनेछ । यसका अतिरिक्त स्वास्थ्य, गृह र पर्यावरण मन्त्रालय तथा जर्काता, बान्तेन एवम् पश्चिमी जावाका गर्भनरलाई पनि मुद्दामा समावेश गरिनेछ ।