‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह असार २७ मा

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह असार २७ मा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार २३, २०७६

काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ । दुई वर्षपछि हुन लागेको उक्त कार्यक्रम यसपटक राष्ट्रपति भवन शितल निवासमा गरिने भएको छ । 

    पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो । यसपटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट ३१ जना तथा ‘दीर्घसाधना सम्मान’बाट तीन जनालाई पुरस्कृत गरिने छ । राष्ट्रिय चलचित्र पुरस्कारतर्फ हरेक विधाको पुरस्कार राशि २५ हजार तथा दीर्घसाधना सम्मानको पुरस्कार राशि  तीन लाख ५१ हजार रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । आगामी वर्षदेखि सो पुरस्कारको राशि जनही  ५१ हजार पुर्‍याइने बोर्डद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

 उक्त कार्यक्रम विविध कारणले २०७४ र २०७५ सालमा हुन सकेको थिएन । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ को राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधनासम्मान प्रदान गरिने बताइएको छ । नृत्य निर्देशक वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले नृत्य प्रशिक्षण दिइरहनुभएको छ भने उक्त समारोहमा कलाकार सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेतीलगायतले नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । 

यस्तै केदार घिमिरे, पुष्प खड्का, नीता ढुङ्गाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायत कलाकारको समेत सो समारोहमा प्रस्तुति रहने बोर्डले जनाएको छ ।