लालबन्दीमा  दुई नम्बर स्तरीय बृहत् वाङ्मय सङ्गोठी सम्पन्न

लालबन्दीमा  दुई नम्बर स्तरीय बृहत् वाङ्मय सङ्गोठी सम्पन्न

लोकसंवाद संवाददाता  |  समाज  |  असार २४, २०७६

सर्लाही । प्रदेश नं.  २, सर्लाहीको लालबन्दी नगरमा प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी सम्पन्न गरिएको छ ।

लालबन्दी नगरपालिका र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आत्मनिर्भर युवा परिचालन समाज, लालबन्दीद्वारा शनिबार आयोजित वाङ्मय सङ्गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लालबन्दीमा यसप्रकारको सङ्गोष्ठी आयोजना हुनु उल्लेखनीय कार्य भएको बताउनुभयो ।

कुलपति उप्रेतीले यसभन्दा अगाडि पनि विभिन्न सङ्घसंस्थासँग प्रज्ञा–प्रतिष्ठानको सहकार्य भएको बताउनुभयो । उप्रेतीले भन्नुभयो, 'आगामी दिनमा पनि लालबन्दी नगरपालिका र प्रज्ञा–प्रतिष्ठानबिच यस्ता कार्यक्रमहरू आयोजना गरिनु पर्छ” उहाँले थप्नुभयो, 'नगरको भाषा, साहित्य, कला तथा संस्कतिको विकासका लागि नगरपालिकाले नगर साहित्य परिषद् गठन गर्नु आवश्यक छ ।'

त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले प्रदेश नं। २ मा साहित्यको समृृद्धि र विकासमा लालबन्दी अग्रस्थानमा रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रमका सभापतिा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नगर साहित्य परिषद् गठनका लागि नीतिगत तथा कानुनी कुराहरू बुझेर तत्कालै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्नुभयो ।  

त्यसैगरी नगरपालिकाकी उपप्रमुख शान्ति लामाले नगरपालिकाले साहित्यको प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गर्दै नगरभित्र साहित्यको विकासका लागि आवश्यक कार्य गर्न नगरपालिका तयार रहेको विश्वास दिलाउनुभयो । 

कार्यक्रममा उपप्राध्यापक नवराज रिजालले ‘प्रदेश नं. २ का १० मातृभाषा र तिनको साहित्यिक अवस्था’ विषयक र उप–प्राध्यापक सुमन घिमिरेले ‘प्रदेश नं. २ मा अनुवाद साहित्यः एक सिंहावलोकन’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकार गोपाल अश्क र कविराज सुवेदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं. २ का ८ वटा जिल्लाका स्रष्टाहरूको प्रतिनिधित्व रहेको थियो । 
सो अवसरमा सर्लाही साहित्य समाजले साहित्यकार गोपाल अश्कलाई विशेष सेवा सम्मान, साहित्यिक पत्रिका गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारीलाई साहित्यिक पत्रकारिता सम्मान, कवि तथा समालोचक सुमन घिमिरेलाई साहित्य सेवा सम्मान र पत्रकार रोहित पौडेललाई पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको थियो । 

कार्यक्रममा कथाकार देवराज पौडेलको ‘मोडहरू’ कथा सङ्ग्रह र सर्लाही साहित्य समाजद्वारा प्रकाशित ‘सर्लाहीका महिला हस्ताक्षर’ कविता सङ्ग्रहको विमोचनसमेत गरिएको थियो ।