देवीस्थान डाँडामा घोडचढी गर्नेको भीड

देवीस्थान डाँडामा घोडचढी गर्नेको भीड

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ ६, २०७५

धुलिखेलको देवीस्थान डाँडामा आउने पर्यटकको घोडचढीमा आकर्षण देखिएको छ । 
सो ठाउँमा घोडचढी व्यवसाय सञ्चालन गरिरहनुभएको नवराज तामाङ पछिल्लो समय घोडचढी गर्न आउनेको भीड लाग्ने बताउनुहुन्छ । ‘विशेष गरी शुक्रबार र शनिबार भीड लाग्ने गरेको छ,’ उहाँले भन्नुभयो । 
व्यवसाय पनि सन्तोषजनक नै रहेको उहाँको भनाइ छ । ‘कमाइ राम्रै छ । यसैबाट पाँच जनाको परिवार पालिरहेको छु,’ उहाँले भन्नुभयो । पिकनिक आउने सिजन (पुस–माघ)मा महिनाको ६०–७० हजार कमाइ हुने गरेको उहाँले बताउनुभयो । शुक्रबार र शनिबार भीड लाग्ने गरेको उहाँको भनाइ छ । 
उहाँले घोडचढी व्यवसायका लागि दुई घोडा पाल्नुभएको छ । उहाँका अनुसार घोडचढी गर्ने ठूलो मान्छेका लागि दुई सय र सानोका लागि एक सय ५० रूपैयाँ लिने गरिएको छ । घोडा चढेर फोटो मात्रै खिच्नेहरूबाट एक सय रूपैयाँ लिने गरेको उहाँले बताउनुभयो । व्यवसायका लागि जग्गा प्रयोग गरेबाफत जग्गाधनीलाई मासिक दुई हजार रूपैयाँ तिर्ने गरेको उहाँ बताउनुहुन्छ । 
पछिल्लो समय यस क्षेत्रमा घुम्न आउने बढेका छन् । काठमाडौँ चाबहिलबाट शनिबार धुलिखेल देवीस्थान डाँडामा घुम्न आउनुभएका सुरज सुवेदीले धुलिखेल रमणीय र वातावरण रमाइलो भएकाले घुम्न आएको बताउनुभयो । ‘काठमाडौँबाट नजिक पनि हुने र वरिपरिको ठाउँ हेरेर मनलाई शान्त पार्न पनि सकिने भएकाले पनि सपरिवार घुम्न आएको हँु,’ उहाँले भन्नुभयो । तर, बजारदेखि देवीस्थान डाँडासम्मको बाटो खाल्डाखुल्डी भएकाले समस्या भएको उहाँको भनाइ छ । ‘बाटो सुधार गरे धेरै राम्रो हुने थियो,’ उहाँले भन्नुभयो । 
सोही ठाउँमा घुम्न आउनुभएका विवेक थापाले धेरै मान्छे घुम्न आउने गरेको देवीस्थान डाँडालाई सरसफाइमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । ‘ठाउँ÷ठाउँमा फोहरको थुप्रो देखिएको छ । त्यसलाई व्यवस्थित गर्न सके अझ आकर्षक गन्तव्य हुनेछ,’ उहाँले भन्नुभयो । यस क्षेत्रबाट हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।  
यहाँ आउनेहरू चुच्चे ढुंगामा चढेर फोटो खिच्ने गर्छन् । घोडचढी गर्दा र घुम्दा रमाइलो हुने गरेको यहाँ आउनेहरू बताउँछन् । 
स्थानीयका अनुसार पछिल्लो समय यस क्षेत्रमा पिकनिक खान आउने बढेको खबर राससमा छ ।