नेपाल यु-१९ एसिया कप क्रिकेटमा छनोट

नेपाल यु-१९ एसिया कप क्रिकेटमा छनोट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २४, २०७६

काठमाडौं । नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ । एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिसँगै नेपाल श्रीलंकामा हुन लागेको एसिया कपका लागि छनोट भएको हो । एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

मंगलबार सम्पन्न एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो । नेपालले हङकङले दिएको ९६ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन जोडे । उनले आफ्नो पारीमा ५ चौका र १ छक्का हिर्काए । यस्तै, रित गौतमले १३ तथा कप्तान रोहितकुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

यसअघि मलेसियाको क्वालालाम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा ९५ रनमा समेटिएको थियो । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन र कलहान मार्क चालुले १९ रन बनाए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडनसहित १८ रन खर्चिए । त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १-१ विकेट लिए ।