रेनिन र रक्तचापको सम्बन्धः एक रोचक कहानी

रेनिन र रक्तचापको सम्बन्धः एक रोचक कहानी

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  असार २४, २०७६

रेनिन (RENIN)  मानिसको मृगौलामा पाइने एक प्रकारको प्रोटिन पदार्थ हो । रेनिनले रक्तचाप बढाउँछ । रेनिन कसरी पत्ता लगाइयो ? यसलाई कसले र कहिले पत्ता लगायो ? यसबारे जान्नु त्यत्तिकै आवश्यक छ । रेनिन पत्ता लगाएको प्रसंग पनि ज्यादै रोचक छ । रेनिन पत्ता लगाएपछि यस विषयमा यति धेरै अनुसन्धान भइसकेका छन् । यसलाई समेटेर एउटा ठूलो पुस्तक नै तयार गर्न सकिन्छ । यो लेख रेनिनका वैज्ञानिक अनुसन्धानका पक्षमा भन्दा पनि सर्वसाधारणलाई यसको बारेमा जानकारी दिने उद्देश्यले तयार गरिएको छ ।  

फ्रान्सका CHARLES BROWN-SEQUARD एक ENDCINOLOGIST का रूपमा मानिन्छन् । यिनले सन् १८८९ मा एउटा प्रसिद्ध अनुसन्धान पूरा गरेका थिए । उनले अनुसन्धानको क्रममा गिनिपिगको अण्डकोषलाई पिँधेर यसको रस बनाई इन्जेक्सनमार्फत् मानिसको शरीरमा पठाएका थिए । यसरी इन्जेक्सन लिएका मान्छेमा एकखालको पुरुषत्व जागृत भएर उनीहरू फुर्तिलोे भएको अनुसन्धानको निश्कर्ष थियो । त्यस समयमा चिकित्सकले गिनिपिगको अण्डकोषबाट तयार गरिएको रस इन्जेक्सनमार्फत् धेरै मानिसमा प्रयोग गरिएको इतिहास छ । 

गिनीपिगको अण्डकोषको इन्जेक्सनले मानिसलाई फुर्तिलोे बनाउने कुरा थाहा पाएर मृगौलामा पनि यस्तो कुनै पदार्थ हुन सक्छ भन्ने कुरा फिनल्याण्डका वासी अनुसन्धानदाता ROBERT  ADOLPH TIGERSTEDT को मनमा आयो र अनुसन्धान प्रारम्भ गरे । टिगर्सटेडलाई प्रख्यात फिजियोलोजिस्टका रूपमा परिचित छन् । उनले स्टकहोम गएर आफ्नो अनुसन्धानलाई पूरा गरेका थिए ।  टिगर्सटेड र उनका विद्यार्थी BERGMAN मिलेर सन् १८९८ मा मृगौलामा पाइने रेनिन नामक पदार्थलाई पत्ता लगाएका हुन् ।

अनुसन्धानको क्रममा नै मृगौलाबाट (JUXTA GLOMERULAR CELLS) उत्पन्न रेनिन नामक पदार्थले रक्तचाप बढाउँछ भन्ने कुरालाई टिलेगर्सटेडले प्रमाणित गरेर नै देखाएका थिए । त्यो समयमा रक्तचाप जाँच्न हिजोआजको जस्तो मेसिन थिएन । तर, जर्मनीका प्रसिद्ध फिजियोलोजिस्ट KARL LUDWIG ले सन् १८४७ मा रक्तचाप जाँच्ने प्रविधि विकसित गरेका थिए । 
POISEUILLE ले बनाएको मर्करी म्यानुमेटरमा तैरिने (FLOAT)  पार्ट जोडेर काइमोग्राफमा (KYMOGRAPH) रक्तचापको पहिलो पटक रेकर्ड गरेका थिए । रक्तचाप नाप्ने यो प्रविधि धेरै वर्षसम्म चलनचल्तीमा रह्यो । यसरी टिगर्सटेडले रक्तचाप बढाउने रेनिन नामक पदार्थ पत्ता लगाएका हुन् । रेनिनले रक्तचाप कसरी बढाउँछ ? त्यो थाहा पाउनु पनि त्यत्तिकै जरुरी छ ।  

एञ्जियोटेनसिनोजन (ANGIOTENSINOGEN) पनि एक प्रकारको प्रोटिन नै हो । शरीरमा यो कलेजोबाट उत्पन्न हुने गर्छ । एञ्जियोटेनसिनोजनलाई रेनिनले  एञ्जियोटेनसिन एक (ANGIOTENSIN-1) मा परिणत गरिदिन्छ । एञ्जियोटेनसिन एकलाई एञ्जियोटेनसिन रूपान्तरित इन्जायमले (ANGIOTENSIN CONVERTING ENZYME)  एञ्जियोटेनसिन दुई (ANGIOTENSIN2)  मा परिणत गर्छ । एञ्जियोटेनसिन २ ले रगतका नलीलाई खुम्च्याइदिन्छ र रक्तचाप बढाउँछ । यसले गर्दा मृगौलाको छेउमा भएको एड्रिनल ग्रन्थी (ADRENAL GLAND)  बाट अल्डोसटेरोन (ALDOSTERONE)  नामक हर्मोन पैदा गरिदिन्छ । अल्डोसटेरोनले मृगौलाद्वारा शरीरमा नुन र पानी पुर्याएर रक्तचापलाई बढाउँछ । यसरी यो हर्मोनले रक्तचापलाई घट्न नदिएर शरीरका सबै अंगमा रक्तसञ्चार गराउँछ । कहिलेकाहीँ यी हर्मोनको मात्रा बढी हुँदा पनि रक्तचाप बढ्ने गर्छ । यी हर्मोनलाई नियन्त्रणमा राख्न औषधीको सेवन गर्ने गरिन्छ । रक्तचाप के कारणले बढेको हो भन्ने जानकारी भयो भने उच्च रक्तचापबाट पीडित व्यक्तिलाई नियन्त्रणको बाटो पत्ता लगाउन सजिलो हुन्छ । 

म्याकुला डेन्सा (MACULA DENSA)  पनि मृगौलाको एक भाग हो । ग्लोमेरुलस (GLOMERULUS) बाट फिल्टर भएको रगत पुन रेनल टयुबुल -(RENAL TUBULE) बाट रगतमा पुग्छ । शरीरलाई आवश्यक नपर्ने पदार्थ अन्तमा पिसाबमार्फत् निष्कासित गरिन्छ । रगत फिल्टर हुँदै मृगौलाको  ASCENDING  LOOP मा पुग्छ । यसको मोटो भाग DISTAL  CONVULATED TUBULE मा पुग्छ । यिनीहरूलाई ग्लोमेरुलसले छोएको हुन्छ । यहि ठाउँ (DISTAL CONVULATED TUBULE)  मा विशेष प्रकारका कोष हुन्छन् । मृगौलाको यो भागलाई म्याकुलाडेन्सा भनिन्छ ।

मृगौलामा रक्तसंचार गराउने रेनल आर्टरी  (RENAL ARTERY)  साँघुरिँदा  मृगौलामा रक्तसंचार गर्न रक्तचाप कम हुन्छ । यसको फलस्वरूप रेनिन ज्यादा पैदा भएर रक्तचाप बढ्ने गर्छ । रक्तचाप बढाउने मृगौलाको यो रोगलाई ‘रेनन अर्टरी स्टेनोसिस’ भनिन्छ । मृगौला निर पाइने एड्रिनल ग्र्रन्थीको भित्री भाग (MEDULAL) बाहिरी भाग (CORTEXY)  बाट हाम्रो शरीरलाई चाहिने हर्मोनहरू उत्पन्न हुन्छन् । कहिलेकाहीँ यो ग्रन्थीको टयुमरबाट धेरै हर्मोन निस्केर रक्तचाप बढ्छ । यो रोगको निदान गर्न विशेष प्रकारको रक्तपरिक्षणको साथै अल्ट्रासाउण्ड र सिटिस्क्यान पनि गर्नुपर्ने हुन्छ । रक्तचाप बढेका धेरै कम मानिसमा पाइने अन्य रोग पनि हुन्छन । जसको जानकारी चिकित्सकले राख्नुपर्छ ।   

मृगौलामा रक्तसंचार गर्ने रक्त नलीहरू ग्लोमेरुलसभित्र पुग्छन । यी रक्त नलीका तल्लो भागमा रेनिन पैदा गराउने मसिना दाना पाइन्छन् । 

ग्लोमेरुलसबाट फिल्टर भएर रगतको तरल पदार्थ DISTAL CONVULATED TUBULE मा पुग्छ । यहाँका विशेष प्रकारका कोषले यसमा भएका नुनको मात्रा चाल पाउँछन् । म्याकुलामा कम नुन पुग्यो भने ग्लोमेरुलसका रक्त नली प्रभावित हुन्छन् । यसको फलस्वरूप ग्लोमेरुलसमा जाने एफरेन्ट रक्तनलीद्वारा रक्तसंचार ज्यादा हुन्छ र रगतको फिल्ट्रेसन बढ्छ । यसको साथसाथै रेनिनको मात्रामा बढ्छ । 

म्याकुला डेनसमा नुनको मात्रा ज्यादा हुँदा ग्लोमेरुलसमा जाने रक्तनली खुम्चिन्छ र रेनिन पैदा गर्ने JUXTA GLOMERULAR CELLS हरू कम प्रभावित हुन्छन् र रेनिन कम हुन्छ । ‘यसरी म्याकुला डेन्स’को कोषले  ग्लोमेरुलसलाई नियमित रूपले सन्देश पठाइरहेको हुन्छ । 

रक्तचाप कम हुँदा म्याकुलाडेन्समा नुनको मात्रा कम हुन्छ । यसको फलस्वरूप ग्लोमेरुलसभित्र जाने एफरेन्ट रक्तनली ठूलो हुन्छ । यो प्रोस्टाग्लाडिनको असर हो । रक्तचाप कम हुँदा रेनिन पैदा हुन्छ र ग्लोमेरुलसबाट निस्कने ‘इफरेण्ट’ रक्तनलीलाई खुम्च्याउँछ  जसको फलस्वरूप ग्लोमेरुलसमा धेरै फिल्ट्रेसन हुन्छ । यसरी रक्तचाप सामान्य हुन्छ ।

मानिसको रक्तचापलाई सामान्य बनाई राख्न शरीरले अनेकौं पदार्थ पैदा गरेको हुन्छ । वैज्ञानिकका अनुसन्धानबाट धेरै कुरा थाहा पाइएको छ तापनि धेरै तथ्य अझै हामीलाई थाहा छैन । एउटा सत्य कुरा के हो भने शरीरले आफ्नो शरीरलाई स्वस्थ बनाई राख्न सक्षम छ ।

झण्डै संसारमा रहेका प्रौढको आधा संख्या उच्च रक्तचापबाट पीडित छन् । अनियन्त्रित रक्तचापले जुनसुकै बेला पनि मृत्युको मुखमा पुर्‍याउन सक्छ । रक्तचाप नाप्ने प्र्रविधि सर्वसाधारणले सजिलै सिक्न सक्छन् । इलेक्ट्रोनिक मेसिनले नापेको रक्तचाप ठीक हुँदैन भन्ने जनभावना सत्य होइन । उच्च रक्तचापका बिरामीलाई कुनै लक्षण नदेखिन सक्छन् । यसर्थ समय–समयमा रक्तचाप जचाएर रेकर्ड गर्नु बुद्धिमानी हुन्छ । रक्तचाप बढेको पाइएमा डाक्टरको सल्लाह अनुसार औषधि प्रयोग गर्नुपर्छ । एकपल्ट औषधि खान थालेपछि यसलाई छाड्न हुँदैन भन्ने जनविश्वास पनि सत्य होइन । नियमित व्यायाम गर्ने, वाञ्छनीय तौल राख्ने नियमित रूपले फलफूल खाने र नुन कम गर्ने व्यक्तिको रक्तचाप औषधि नखाए पनि सामान्य अवस्थामा रहन सक्छ । डाक्टरको सल्लाह अनुसार औषधि बन्द पनि गर्न सकिन्छ तर, कहिलेकाहीँ रक्तचाप नाप्न भने बिर्सनु हुँदैन । 

उच्च रक्तचाप हुनेहरूले आजीवन औषधि प्रयोग गर्नुपर्छ भन्ने कुरा पनि सत्य हो । आजीवन औषधि खानु पर्ने रोगको विषयमा सर्वसाधारणले उच्च रक्तचापसम्बन्धी सबै कुरा चाल पाउनुपर्छ । यही सत्यलाई ध्यानमा राखेर सजिलो भाषामा यो लेख प्रस्तुत गरिएको हो । यो आलेख पढेर आफन्तलाई उच्च रक्तचापसम्बन्धी कुराको जानकारी दिनु र यसबारे प्रचार गर्नु हामी सबैको कर्तव्य हो ।