डाबर इन्डिया औषधीमा अधिक आर्सनिक भएको प्रमाणित, सरकार आपूर्तिमा रोक लगाउन तयार  भएन

डाबर इन्डिया औषधीमा अधिक आर्सनिक भएको प्रमाणित, सरकार आपूर्तिमा रोक लगाउन तयार  भएन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २४, २०७६

वेदप्रसाद शर्मा ।

वर्ष ३७ ।

स्थायी बसोबास: झापास्थित शिवसतासी नगरपालिका । 

अस्थायी बसोबास: झापा, दमक। 

आयुुर्वेद औषधि विद्याको कविराज ।

कविराज निरीक्षक पदमा झापाकै गौरादह नगरपालिकाको कार्यालयमा कार्यरत । दमकमा आयुर्वेदिक औषधि पसलको सञ्चालक ।

२०७२ सालको कुरा हो, शर्मालाई एक्कासि ढाड दुख्ने समस्याले सतायो । त्यसपछि उहाँले आयुर्वेद औषधि र अन्य स्थानीय चिकित्सकले दिएको औषधी खानुभयो । तर, उहाँको ढाड दुख्ने समस्या ठीक भएन । त्यसपछि उहाँ ढाडको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पताल पुुग्नुभयो । त्यहाँ उहाँले विभिन्न परीक्षणसँगै एमआरआई गराउनुभयो । परीक्षणको प्रतिवेदनपछि उपचारमा संलग्न चिकित्सकले उहाँको देब्रेपट्टिको ढाडको नसा च्यापिएको र त्यसको तत्काल अप्रेसन गर्नुपर्ने निश्कर्ष दिनुभयो । अस्पतालले अप्रेसनको सिफारिस गरेपछि पनि वेदप्रसाद ‘पारिवारिक सल्लाह र स्रोत’ जुटाएर आउने भन्दै अस्पतालबाट हिँड्नुभयो ।  

तर, वेदप्रसाद न घर जानुभयो न त स्रोतको खेजीमा । उहाँ काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल पुग्नुभयो र डा. वसन्त पन्तसँग उपचार परामर्श लिनुभयो । अन्ततः अन्नपूर्ण अस्पतालले पनि उही निश्कर्ष निकाल्यो¬– ‘अप्रेसन’ । त्यसपछि उहाँ विलखबन्दमा पर्नुभयो । र, ‘पारिवारिक सल्लाह र स्रोत’ जुटाएर अप्रेसनको लागि आउँछु भनी फर्कनुभयो । 

सोही समयमा कार्यालयको कामको सिलसिलामा उहाँ स्वास्थ्य मन्त्रलयमा पुग्नुभयो । संयोगले स्वास्थ्य मन्त्रालयमा पूर्वपरिचित आयुर्वेद शिक्षक तथा डा. सिद्धार्थ ठाकुरसँग उहाँको भेट भयो । भेटघाटको क्रममा दुवै अस्पतालको रिपोर्ट अध्ययन र छलफल नहुने कुरै भएन । आयुुर्वेद औषधीका जानकार वेदप्रसादलाई डा. सिद्धार्थ ठाकुरले अप्रेसनको विकल्प भएको र आफ्नो सिफारिसमा धेरै जनाको बिनाअप्रेसन पनि समस्या समाधान भएको जानकारी दिनुभयो । डा. ठाकुरको सल्लाह वेदप्रसादलाई उपयुक्त लाग्यो । कुनै ‘साइड इफेक्ट’ नहुने भनी डा. ठाकुरले डाबर इन्डिया लिमिटेड इण्डियाबाट उत्पादित तथा डाबर नेपाल प्रालि तथा लुना ट्रेडिङद्वारा आयातित सिफारिस गरेका ‘महायोगराज गुग्गुल, वातगजांकुश रस, प्रवाल भष्म, एकांगविर र माहावाविध्वसन रस र बृहतबातचिन्तामणि रस’ लगायतका औषधि खाने निश्कर्षमा पुग्नुभयो । 

आयुर्वेदिक औषधि खाएको ७ दिनमा उहाँ पूरै सन्चो भई पूर्ववत् अवस्थामा पुगी नियमित काम गर्न थाल्नुभयो । तत्काल अप्रेसन गर्नु नपरेकामा उहाँ खुसी हुनुभयो । तर, १५ दिनपछि फेरि ढाड दुुख्ने समस्या बल्झियोे । फेरि उहाँले डा. ठाकुरलाई सम्पर्क गर्नुभयो । फेरि सोही औषधि खानेको लागि सिफारिस गर्नुभयो । त्यो क्रम ६ महिनासम्म चलिरह्यो । त्यसपछि उहाँको खट्टा घिस्रेर (पाइला नसर्ने) हिँड्नुपर्ने अवस्था आयो । यो अवस्थामा पुगेपछि उहाँ ढाडको अप्रेसनमा गर्ने निश्कर्षमा पुग्नुभयो । अन्ततः काठामाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा अप्रेसन गराउनुभयो । ११ दिनको अस्पताल बसाईपछि अस्पतालले तीन महिनामा ‘फलोअप’का आउने भन्दै बिदा ग¥यो । घरैमा बसेर आराम गरिरहेका वेदप्रसादको एक्कासि छालामा परिवर्तन देखा पर्न थाल्यो । दिनानुदिन छाला कालो हुने र छाला उक्कने समस्या देखा पर्यो । तीन महिने ‘फलोअप’ आउँदा ढाडको समस्या ठिक भएकोमा ढुक्क त हुनुभयो । तर, छालाको समस्याले उहाँलाई ग्रस्त बनाइसकेको थियो । 

वेदप्रसाद ढाड निको भएकोमा जति खुसी हुनुहुन्थ्यो, छाला कालो भएको र उक्किए त्यति नै चिन्तित । योे विषयमा डा. वसन्त पन्तलाई नै ‘फलोअप’को समयमा वेदप्रसादले आफ्नो समस्या राख्नुभयो । डा. पन्तले अप्रेसनका कारणले नभई अन्य कारण हुन सक्ने अनुमान लगाई वीर अस्पतालमा परीक्षणको लागि सिफारिस गर्नुभयो । र, वेदप्रसादले वीर अस्पतालमा परीक्षण गराउनुभयो । आर्युवेद शिक्षक तथा डा. सिद्धार्थ ठाकुरसँग पनि उहाँकोे सम्पर्क हुन्छ । त्यसपछि डा. ठाकुरको सिफारिसमा डिआई स्किन केयरमा डा. अनिल झासँग पनि परीक्षण गर्नुभयो । दुवै ठाउँको करिब–करिब एउटै निश्कर्ष थियो– ‘जेनेटिक’ समस्या । अघिल्लो पुस्तामा यो समस्या नभएका वेदप्रसाद गह्रुगो मन लिँदै औषधि लिएर घर फर्किनुभयो ।

घरमा बस्दा शरीर र पैतलाको छाला पकपकी उक्कन थालेपछि पुनः वेदप्रसाद धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नुभयो । त्यहाँ उहाँको परीक्षण डा. सुधा अग्रवालबाट हुन्छ । रिपोर्ट अध्ययनपश्चात् वेदप्रसादलाई डा. अग्रवालबाट पहिलो पटक ‘आर्सनिक’ भएको हुन अनुमान भयो । यसले वेदप्रसाद अचम्ममा पर्नुभयो । ‘आर्सनिक’ रोग सामान्यतया पानीबाट सर्छ । 
नगरपालिकामा कसैलाई त्यस्तो समस्या देखिएको थिएन । त्यसपछि उहाँले पिउने गरेको पानीको ल्याब परीक्षण गराउनुभयो । उपचारमा संलग्न चिकित्सकले आर्सेनिकको उपचारका लागि कलकत्तामा जान सुझाउनुभयो । 

एक दिन उहाँलाई रोगले अत्यधिक च्याप्यो । शौचालय गएका वेदप्रसादको एक्कासि पिसाबबाट रगत बग्न थालेपछि बेहोस भई ढल्नुभयो । उहाँलाई तत्काल विराटनगरस्थित नोबल अस्पताल पुर्याइयो । त्यहाँ परीक्षण गर्दा वेदप्रसादको प्लेटलेट घटेर ३० हजारमा पुगेको पाइयो । जवकी सामान्य मानिसको प्लेटलेट कम्तीमा १ लाख ५० हजार हुनुपर्छ । यस्तो अवस्था सृजना भएपछि सबैले ‘ब्लड क्यान्सर’ भएको अनुमान लगाए । तर, अस्पतालले भने पिसाबबाट ब्लड गएको कारण प्लेटलेट घटेको भन्ने अनुमान लगाइयो । 

अन्ततः भारतस्थित क्रिश्चियन मेडिकल कलेज (सीमसी) भ्यलोर उपचारको लागि लगियो । त्यहाँ भएका अनेकौं प्रयोगशाला परीक्षणपश्चात् सिएमसीले सन् २०१८ सेप्टेम्बर २१ वेदप्रसादको ब्लडमा आर्सेनिकको परीक्षण गरियो । यसरी परीक्षण  गर्दा  शरीरमा आर्सनिकको मात्रा ०.५ एमजी हुनुपर्नेमा १९९.७ देखायो, त्यसैगरी युटिना १५ एमजीसम्म हुनुपर्नेमा ११४२ एमजी देखियो । धेरै समयसम्म अस्पतालले रिपोर्ट नै दिएन । अन्त्यमा वेदप्रसादलाई ‘ब्लड क्यान्सर’ त भेटिएन । तर, शरीरमा ‘बोनम्यारो डिप्रेसन’ देखा परेको र आर्सेनिक पोइजनिङका कारण ‘बोनम्यारो डिप्रेसन’ भएको निश्कर्ष निकालियो । 

यसरी सिएएमसीले आर्सनिकको प्रमाणित गरेपछि वेदप्रसादको कसरी आर्सनिक सर्‍यो भनेर पत्ता लगाउने चुनौती थपियो । अस्पतालका डाक्टरले वेदप्रसाद इतिहासतर्फ अनुसन्धान थाले । पछि डाबर इन्डिया लिमिटेड इण्डियाबाट उत्पादित औषधि सेवन गरेको तथ्य डाक्टरले थाहा पाए । र, डाक्टरले आर्सेनिक त्यहीबाट सरेको सुनिश्चित गरे । त्यसअघि पनि यस्तो समस्या उक्त अस्पतालमा आइसकेको हुँदा अनुमान लगाउन डाक्टरलाई त्यति अप्ठेरो भएन ।  वेदप्रसादले प्रयोग गरेको औषधि मगाएर परीक्षण गर्दा उक्त औषधिमा आर्सेनिकको मात्रा अत्यधिक मात्रमा देखियो । इण्डियन आयुर्वेदिक फर्माकोपिया अनुसार आयुर्वेदिक औषधिमा बढीमा ३ पिपिएम हुनुपर्नेमा १५०५ पिपिएमसम्म भएको पाइएको थियो । इण्डियन आर्युर्वेदिक फर्माकोपियाको अनुसार आयुर्वेदिक औषधिमा बढीमा आर्सेनिक ३ पिपपएम, लिड १० पिपिएम र मर्करी १ पिपिएम, क्याडिमम ०.३ पिपिएम हुनुपर्छ । 

यसरी डाबर इन्डिया लिमिटेड इण्डियाको औषधीमार्फत् अफ्नो शरीरमा आर्सेनिक पसेको सुनिश्चित त भयो । तर, अव उपचार कसरी गर्ने भन्ने अर्को चुनौती थपियो वेदप्रसादलाई । सिएमसीका डाक्टरले औषधी उत्पादन कम्पनीमा अर्डर गरेर मात्र औषधी पाइने जनाउ दिए । त्यो पनि अति नै महँगो (१५ दिनको लागि २ लाख ५० हजार) । त्यो उपचार गर्नुभन्दा मर्नु बेस ठानेर नेपाल फर्किनुभयो वेदप्रसाद । त्यसपछि उहाँ यो औषधी अन्यत्र पनि पाइन्छ कि भनेर इन्टरनेटमा खोजी गर्न थाल्नुभयो । भारतमा भन्दा तीन भागको एक भाग अर्थात् ५० हजारमा २५ दिनको लागि औषधी पाएपछि त्यो मगाएर जेनतेन ज्यान बचाइरहनुभएको छ । 

उजुर–बाजुरको बाटो  

यसरी औषधी व्यवस्था विभागको अनुमति प्राप्त गरी विगत लामो समयदेखि विक्री वितरण भइरहेको डाबर इण्डिया लिमिटेड इन्डियाबाट उत्पादित तथा डाबर नेपाल प्रलिबाट तथा लुना ट्रेनिङबाट आयातित औषधीमा आर्सनिक र मर्करीको मात्रा अधिक रहेको भन्दै वेदप्रसादले  औषधी व्यवस्था विभाग गुहार्नुभयो । तत्कालीन विभागका महानिर्देशक नारायणप्रसाद ढकाल लगायतका पदाधिकारीसमक्ष स–प्रमाण प्रस्तुत भए । त्यस्तो औषधी तत्काल रोक लगाई बजारबाट फिर्ता गर्नुको सट्टा विभागका पदाधिकारी अदालत जान सुझाव दिएपछि वेदप्रसाद उपभोक्ता हित संरक्षण मञ्चको सम्पर्कमा पुग्नुभयो । त्यसपछि मञ्चको सक्रियतामा विभिन्न ल्याबमा भएको टेस्टबाट डाबरका केही औषधिमा आर्सेनिकको मात्रा भेटिएको पुष्टि हुन्छ । मञ्चका महासचिव बाबुराम हुमागाईको सुझावमा नेपालका प्रतिष्ठित प्रयोगशालामा पीडितले आफैले खर्च गरी परीक्षण गर्दा हालै ल्याब रिपोर्टले यस्तो देखाएको छ । विभिन्न ठाउँमा गरिएको रिपोर्ट यस्तो छ । 

यस खालको प्रतिवेदन आएपछि सिआइबीमा उजुरी गर्यो । सिआइबीले नास्टमा उक्त औषधी परीक्षण गर्न पनि पठायो । विभिन्न बहानामा नास्टले तीन महिनामा रिपोर्ट त दियो । तर, सिआइबीले भने अनुसन्धान गर्न नमिल्ने भन्दै  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाएको अवस्था छ । 

यस विषयमा औषधि विभागले सक्रियता देखाउनुपर्नेमा बेवास्ता गरेर उपभोक्तामाथि खेलबाड गरेको मञ्च तथा पीडितको निश्कर्ष छ । महासचिव हुमागाई भन्छन्, ‘तथ्य प्रमाणित भइसक्दा पनि विभागले केही गरेन, गुणस्तरहीन औषधि तत्कालै बन्द गर्ने तत्परता देखाएन ।’

वेदप्रसाद अहिले क्षतिपूर्तिका लागि कानुनी लडाइ लड्ने बाटोमा लागेका छन् । एक महिनाभन्दा लामो अनुसन्धान गरेको सिआइबीले थप कार्यबाहीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यबाहीको लागि २०७६ असार १७ गते ‘सककली जाहेरी दरखास्त कार्यबाहकिो लागि पठाएको’ अवस्थामा छ । विभिन्न ११ थान कागजसहित पत्राचार गरिएको छ ।

मञ्चको माग 

यसमा चासो राखिरहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालले ‘यस्तो हानिकारिक वस्तुको उत्पादन, आयात र बिक्री वितरण गर्न अनुमति प्रदान गर्ने÷गराउने उद्देश्यले बिरामीको स्वास्थ्यप्रति खेलबाड गरी, कानुनी दायित्व पूरा नगरी नागरिकविरुद्ध कसुरजन्य तथा अपराधिक कार्य गरेको’ गरेको निश्कर्ष निकालेको छ । मञ्चद्वारा २०७६ असार २२ मा एक विज्ञप्ति  जारी गरी ‘गुणस्तरहीन औषधिको तत्काल आयात अनुमति बन्द गर्न, आयात भइसकेका यस्ता औषधि जफत गरी नष्ट गर्न, उपभोक्तको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने गराउने आयातकर्ताको अनुसन्धान गरी सजाय दिन र पीडितलाई क्षतिपूर्ति दिलाउन माग गरेको छ ।