२५५ जना कर्मचारीले एक वर्षादेखि सेवा सुविधा पाएनन्

२५५ जना कर्मचारीले  एक वर्षादेखि  सेवा सुविधा पाएनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७६

काठमाडौँ ।  वाग्मती सिँचाइ आयोजना करार तथा ज्यालादारी कर्मचारी समितिले आयोजनामा कार्यरत कर्मचारीलाई अवकाशपछि एक वर्ष बराबर दुई महिनाको तलब सुविधा दिने पूर्ववत् सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

२०७६ असार २४ गते पत्रकार सम्मेलनको आयोजना गरेर समितिका सदस्य शङ्कर साहले आफूहरुसँग २०७५ वैशाख ३१ गते गरेको सहमति अहिलेसम्म कार्यान्वयन नहुँदा आफूहरु मर्कामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले जीवनको ऊर्जावान समय यही आयोजनामा बिताएका छौँ । सरकारले हामीलाई कर्मचारीले पाउने सेवा सुविधा घोषणा गरेको छैन । सरकारसँगको सहमति पनि अहिलेसम्म कार्यान्वयन गरिएको छैन ।' सिँचाइ विभागअन्तर्गत विभिन्न योजना, आयोजना तथा कार्यालयअन्तर्गत वर्षौदेखि कार्यरत अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई सेवा सुविधा सुनिश्चितताको माग गर्दै वर्षौदेखि समितिले धर्ना, आन्दोलन गर्दै आएको छ ।

वर्षमा एक पटक एक महिना बराबरको रकम चाडपर्व खर्च उपलब्ध गराउने, पोशाक लगाउने भत्ता उपलब्ध गराउने र उचित दुर्घटना बीमाको व्यवस्था मिलाउने गरी लिखित रुपमा सम्झौता गरिएको समितिका सदस्य विजयकुमार यादवले बताउनुभयो । उहाँले कर्मचारीसँग सरकारद्वारा गठित वार्ता समितिले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । समितिका अध्यक्ष केशवप्रसाद रेग्मीका अनुसार सेवा सुविधा पाउने २५५ जना कर्मचारी रहेकाे राससमा समाचार छ ।