काठमाडौँ फन भ्यालीमा पनि  कर छली !

काठमाडौँ फन भ्यालीमा पनि  कर छली !

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २५, २०७६

भक्तपुर । सूर्यविनायक नगरपालिका–१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ ।

कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त कम्पनीले कर छली गर्न विद्यालयहरुलाई भने उक्त कम्पनीको बिल नदिई कर छली गर्दै ‘वाटर वल्र्ड ट्रेडर्स प्रालि’ को नाममा लाखौँ रुपैयाँको बिल काटेर कर छली गरेको बताइएको छ ।

दोहोरो बिल बनाएर व्यापक रुपमा कर छली गरेको पाइएपछि आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ । फन भ्यालीले सयौँ विद्यालयका हजारौँ विद्यार्थीलाई दर्ताबिनाको नक्कली बिल दिएर लाखौँ रुपैयाँ कर छली गरेको उजुरी परेपछि राजश्व कार्यालयले उक्त कम्पनीमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको हो ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले आज यसबारे जानकारी दिँदै कार्यालयमा उजुरी आएपछि काठमाडौँ फन भ्यालीका कागजपत्र नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको बताउनुभयो । फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएको स्वीकार्दै कर छली नगरेको दाबी गर्नुभयो ।

काठमाडौँ फन भ्यालीले प्रदूषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गासमेत मिचेर दुरुपयोग गरेपछि यसअघि सूर्यविनायक नपा–१०ले समेत कारवाहीका लागि पत्राचार गरेको थियो । वडा अध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयले हस्ताक्षर गर्दै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठूलाठूला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानवीय स्वास्थ्यसँग खेलबाड गरेको र रसायनयुक्त पानी पुनः सोही खोलमा फ्याक्ने गरेकाले पानीको स्रोतसमेत दूषित पारेको भन्दै कारबाहीको माग गरेकाे समाचार राससमा छ ।